बृहत् नागरिक आन्दोलनले जारी गर्याे घोषणापत्र
लामो समयदेखि हुर्किरहेको प्रतिगमनको समूल अन्त्यका लागि संघर्ष गर्नुपर्ने समय आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ ले घोषणापत्र जारी गरेको छ । शुक्रबारको ‘टुँडिखेल मार्च पास’ का क्रममा भएको नागरिक सभामा घोषणापत्र जारी गरिएको हो।
घोषणापत्रमा नागरिकका कर्तव्यको व्याख्या गर्दै आफ्ना मौलिक हकको प्रत्याभूतिका लागि आवाज उठाउन, लोकतन्त्रलाई व्यवहारमा अनुभूत गर्नका लागि गोलबद्ध हुन, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध हुन आह्वान गरिएको छ ।

“महिला र लैङ्गिक अल्पसंख्यकहरू समान नागरिक हुने, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध होऔं,” घोषणापत्रमा भनिएको छ, “आफ्ना भू–क्षेत्रमा आदिवासी जनजातिहरूको पहिचानसहितको स्वशासनको आकांक्षा पूरा गर्न र सम्पूर्ण विभेदको अन्त्यका लागि संकल्प गरौं ।”

जात व्यवस्थाको समूल अन्त्य गर्ने प्रतिबद्धतासहितको अभियानमा सामेल हुन, आप्रवासी श्रमिकहरूको हकअधिकार र मताधिकार सुनिश्चित गर्नका लागि नागरिक संघर्षलाई श्रम जीवनसँग जोड्न, सीप, शिल्प र स्थानीय ज्ञानको सम्मानसहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न, ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल हुन अनुरोध गरिएको छ ।

घोषणापत्रमा राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी आजको ऐतिहासिक कार्यभार पूरा नहुने उल्लेख छ । संघीयताको नाममा हाबी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न सबै नेपाली एकसाथ लडौं भनी आग्रह गरिएको छ ।

अधिकारकर्मी जेबी विश्वकर्माले टुँडिखेल सभामा घोषणापत्र वाचन गरेका थिए । घोषणापत्रमा लोकतान्त्रिक राज्यमा कुनै पनि राजनीतिक दल वा नागरिक समूहले गर्ने शान्तिपूर्ण गतिविधिहरूमा निषेध र प्रतिबन्ध लगाउन नपाइने र राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनपर्ने उल्लेख छ ।


