कविवरले तस्वीर हेर्दै भने- ‘अलि मुस्कुराइएनछ’
कविवरको घरबाट ल्याएको पीपलको बिरुवा भावी पुस्ताका लागि माधव घिमिरे र उनको कार्यबारे जिज्ञासा जगाउने विम्ब बन्न सक्छ।
असल कर्मका कारण इज्जत र ख्याति कमाएर सर्वसाधारणको मनमा बसेका मानिसलाई सम्झन जन्म/मृत्यु तिथि चाहिँदैन। श्रद्धासहित जुन बेला सम्झिइन्छ, त्यो दिन विशेष हुनसक्छ। तिनैमध्येका हुन्, कविवर माधव घिमिरे (७ असोज १९७६ – २ भदौ २०७७)।
कवि घिमिरेसँगको मेरो पहिलो भेट उ: बेलाको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको हलमा भएको थियो, उनले लेखेको ‘मालती मंगले’ गीति नाटक मञ्चनका क्रममा। हाम्रै गाउँघरको कथा थियो त्यो। नाटकमा प्रयुक्त गीतका दुई पंक्ति कण्ठै पारेर फर्किएँ–
आजभोलि दुख्दैन गोडा मैन काँडा टेके पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि।
...
कवि घिमिरेसँग अन्तिम भेट १८ वैशाख २०७६ मा भयो। काठमाडौँको लैनचौरस्थित उनको निवासको फलामे ढोका ढकढक्याएँ, कोही आयो। सीधै भनेँ, “कविवर घरमा हुनुहुन्छ भने पाँच मिनेट भेट्न चाहन्छु। समय लिएको छैन, क्यारम्?”
‘आउनुस् न त’ भनेपछि म कविवरको कोठामा पुगेँ। उनी खाटमा ढल्केर आराम गरिरहेका रहेछन्। सामान्य गफगाफपछि भनेँ, “मसँग तपाईँका टाइप गरिएका कविता छन्, तिनमा तपाईँको हस्ताक्षर चाहन्छु। मिल्छ भने कविताका केही अंश समेत भिडिओ रेकर्ड गर्न चाहन्छु।”
सम्झे अनुसार हामीबीचको मोटामोटी संवाद यस्तो थियोः
घिमिरेः भनेपछि तपाईँको पुस्ताले मेरो कविता बिर्सेको रहेनछ हगि?
- हजुर हो। तपाईंका कविता अत्यन्तै सरल भईकन पनि तिनले ठूलो दर्शन बोकेका छन्। धेरैको मनमा ती च्याप्पै बसेका छन्। कविता यति शक्तिशाली छन्, तिनले गजधम्म परेको पहाडलाई नचाउन र नाचिरहेको पहाडलाई थपक्क बसाउन सक्छन्।
घिमिरेः तपाईँले अहिले विदेश बस्छु भन्नुभयो । मेरा कविता र तपाईँले खिच्ने भिडिओले त्यहाँ के अर्थ राख्छन्?
- साहित्य मात्र होइन, कुनै पनि राम्रो कुराका लागि सीमा छैन आजकाल। दोस्रो, म सधैँ विदेश नबसुँला। केही वर्षदेखि म नेपालका गाउँघर चहार्ने र सामग्री संकलन गर्ने गरिरहेको छु। नेपालमा एउटा संग्रहालयको परिकल्पना गरेको छु, जहाँ बालबालिकाले किताब बाहिरका कुरा प्रत्यक्ष हेर्न र व्यावहारिक रूपमा सिक्न पाऊन्। त्यस्तो सिर्जनशील केन्द्रमा बालबालिकालाई धेरै कुरा सिकाउन सकिन्छ भन्ने लाग्छ। तपाईँका हस्ताक्षरयुक्त कविता र थोरै भए पनि भिडिओ क्लिप आफ्नो संग्रहमा राख्न चाहन्छु। तिनले मान्छेलाई उत्प्रेरणा दिन र ज्ञानको चाख जगाइदिन सक्छन्।
घिमिरेः तपाईँको कुरा मन परे। तिनले मलाई छोए। त्यही भएर त मैले बालबालिकाका लागि ‘घामपानी’, ‘बाललहरी’ लगायत अनेक कृति लेखे। बाबुनानीले ‘भँगेरा र भँगेरी’ कविता गाएको सुन्दा मनै फुरुङ्ग हुन्छ। आफैँ केटाकेटी भएर तिनीहरूसँग खेलूँ जस्तो हुन्छ। एउटा कुरा के भन्देखिन, बालबालिकालाई बेवास्ता गर्न मिल्दैन। उनीहरूलाई भविष्यका कर्णधार भन्ने हो भने त्यसरी नै स्तरीय ज्ञानको खुराक दिनुपर्छ। बालबालिका हाम्रा असल मित्र हुन्।
मेरा कविताले कसैको हृदय छोयो भने राम्रै हो। कृति असल भए कवि बित्दैन भन्छु म त। समजी र देवकोटालाई म जीवितै देख्छु। अम्बर गुरुङ पनि मेरा लागि जीवितै छन्। राम्रो काम गर्ने अजम्बरी हुन्छ।
इलामका एक जना कवि हुनुहुन्छ केदार शर्मा, उहाँले ‘तपाईँका कविता सिंहदरबारका हरेक कार्यकक्षमा टाँसिनुपर्छ’ भन्नुहुन्छ। अब कसले टाँस्ने? फेरि किन टाँस्ने पनि भन्लान् मान्छेले। धेरै भो, शर्माजीसँग भेटघाट पनि भा’छैन।
(घिमिरेसँगको भेटबारे पछि कवि केदार शर्मालाई सुनाएँ। शर्मा र म सहकर्मी पनि हौँ। घिमिरेले कुनै पुस्तक उपहार दिँदै त्यसमा ‘कविताका मर्मज्ञ’ लेखिदिएको स्मरण पनि शर्माले गरे।)
...
कवि घिमिरेले बिस्तारै तीन पटक ताली पड्काए। ताली घरपरिवारलाई बोलाउने संकेत रहेछ। केहीबेरमै कविवरका छोरा इन्दिवर देखापरे। कवि घिमिरेका बाबु–छोराले मलाई ‘धर्ती माता’ पढ्न सुझाउँदै भनेको सम्झन्छु, “त्यो अलि भिन्नै छ, तपाईँको पुस्ताले पढ्नुपर्ने।”
धर्ती माता खण्डकाव्य वैदिक सूक्तहरूमध्येको एक ‘पृथ्वीसूक्त’ को भावानुवाद भए पनि निकै मौलिक छ। माटो, मान्छे र प्रकृतिबारे यसले सरल रूपमा सागरसरि अर्थ दिन्छ। जस्तो–
म पुत्र तिम्रो तिमी धर्ती माता
अटुट माटो मुटुको छ नाता ।
...
बिदा हुने बेला कवि घिमिरेले प्रयोग गरेको खादा, डटपेन र हस्ताक्षरयुक्त कविता उपहार पाएँ। फोटो खिच्दै यसमा हस्ताक्षर गराउन भोलि आउने बताएँ।
भोलिपल्ट प्रिन्ट गरिएको फोटो कविजीलाई देखाएँ। सधैँ सफाचट भएर बस्ने घिमिरेले फोटो हेरेपछि त्यसमा हस्ताक्षर गर्दै भने, “अलि मुस्कुराइएनछ।”
मैले भनेँ, “कविज्यू, तपाईँ आफ्ना कर्ममार्फत सधैँ हामीबीच मुस्कुराइरहनुभएको छ। तपाईँ र तपाईँका सिर्जना ओरिजिनल हुन्, फोटो छाया प्रति हो।” त्यसपछि घिमिरे मुस्कुराए।
...
छुट्टै प्रसङ्गमा, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षितसँग भेट भयो। दाहालले कवि घिमिरेमाथि लेखिएको शिक्षकको पुरानो अंक दिए। त्यो पनि मेरो संग्रहमा थपियो। दीक्षितले कुनै कुरा संग्रह गर्दा पुरातात्त्विक सम्पदा जोगाउँदा ‘उस्तै–उस्तै’ नभई ‘उही’ नै हुनुपर्ने सुझाए, जुन मेरा लागि राम्रो सुझाव थियो।
...
कहिलेकाहीँ संयोग सुखद र अकल्पनीय हुँदोरहेछ। कविवर घिमिरेको घरमा काठको मूलढोका नजिकै केही गमला थिए। माटोका गमलामा हात्तीका आकृति पनि। त्यसको अलि अघिल्तिर दुइटा इँटा देखिए। तिनै दुई इँटको बीचमा सार्न मिल्ने खालको ठिक्कको पीपलको बिरुवा रहेछ। उखेल्दा सजिलै आयो।
बारीमा पानी खन्याएर गिलो माटोले पीपलको जरा छोपेँ। बिरुवालाई चाउचाउको खोलमा सुरक्षित राखेर ल्याएँ। अक्सर अक्कर र अप्ठेरा ठाउँ जहाँ छन्, पीपल त्यहीँ उम्रिन्छ, मूल जरा चुँडिएन भने यो सरिहाल्छ। अहिले त्यो पीपलको बिरुवा गमलामा हुर्किरहेको छ।
कविवरको घरबाट ल्याएको त्यो बिरुवा भावी पुस्ताका लागि माधव घिमिरे र उनको कार्यबारे जिज्ञासा जगाउने विम्ब बन्न सक्छ। जसले भनिरहनेछ–
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल !
(लेखमा प्रयोग गरिएको फोटो र भिडिओ हिमालखबर र मदन पुरस्कार पुस्तकालय बाहेक अरूले लेखकको अनुमतिविना प्रयोग गर्न पाउने छैनन्।)