आईपीएलमा नयाँ सिजनका लागि बिकेनन् सन्दीप
लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सन् २०२१ को सिजनका लागि कुनै पनि टीमले लिएनन्।
यो सिजन उनलाई मुम्बई या पञ्जाब किङ्सले लिने आकलन थियो। उनको ‘बेस प्राइस’ ४० लाख भारु थियो। तर, उनीमाथि कुनै पनि टीमले बोली लगाएनन्।
सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए। यो सम्झौता अधिकतम तीन वर्षसम्मका लागि थियो।
त्यस वर्षको आईपीएलमा उनले तीन खेल खेल्न पाएका थिए। जसमा पाँच विकेट लिएका थिए। डेयरडेभिल्सले सन् २०१९ को सिजनदेखि दिल्ली क्यापिटल्सको नाममा आईपीएल खेल्न थालेको छ। उक्त वर्ष उनले ६ खेलमा आठ विकेट लिए। तर, सन् २०२० को संस्करणमा उनले कुनै पनि खेलमा मौका पाएनन्। पूरै सिजन बेन्चमा बिताएपछि उनलाई दिल्लीले रिलिज गर्ने अनुमान त्यति वेलै गरिएको थियो।
आईपीएलको एक टीमले अधिकतम २५ र न्यूनतम १८ खेलाडी राख्नुपर्छ। जसमध्ये अधिकतम आठ विदेशी खेलाडी राख्ने छुट छ।