क्रिस मोरिसमाथि आईपीएलमा अहिलेसम्मकै महङ्गो बोली
दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरीद गरेको छ। उनी इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमै सबैभन्दा बढी रकममा बिक्री भएका छन्।
अहिले भारतको चेन्नाईमा आईपीएलको मिनी अक्सन भइरहेको छ। उक्त अक्सनमा मोरिसले युवराज सिंहको पाँच वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। सन् २०१५ को आईपीएल अक्सनमा युवराज सिंहमाथि १६ करोड भारुको बोली लागेको थियो। उनलाई दिल्ली डेयरडेभिल्सले खरीद गरेको थियो। अहिले नाम फेरेर दिल्ली क्यापिटल्स राखिएको छ।
आज मोरिसमाथि पहिला मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोरले बोली लगाएका थिए। बैङ्लोरले छाडेपछि राजस्थान रोयल्स मुम्बईसँगको बढाबढमा उत्रिएको थियो। उनको बेस प्राइस ७५ लाख भारु थियो। १३ करोड २५ लाखमा मुम्बईले राजस्थानलाई छाडेपछि पञ्जाब किङ्स फेरि राजस्थानसँग प्रतिस्पर्धामा उत्रिएको थियो । किङ्स इलाभेन पञ्जाब यो सिजनदेखि नाम फेरेर पञ्जाब किङ्स भएको हो।
क्रिस मोरिस अलराउन्डर हुन्। २१८ टी–२० खेलमा उनले १,७६४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५१.०२ छ। उनले २३ टी–२० अन्तरराष्ट्रियमा १३३ रन बनाएका छन्। स्ट्राइक रेट भने १३०.३९ छ।
उता, अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल पनि महङ्गोमा बिक्री भएका छन्। उनीमाथि रोयल च्यालेन्जर्स बैङ्लोरले १४ करोड २५ लाख भारु बोली लगाएको छ। उनीमाथि चेन्नाई सुपरकिङ्सले पनि रुचि देखाएको थियो। तर, चेन्नाई १४ करोडभन्दा माथि गएन।उनको बेस प्राइस दुई करोड भारु थियो।
टी–२० मा म्याक्सवेलको स्ट्राइक रेट १५२.०५ छ। उनले ३३१ छक्का र ५२९ चौका प्रहार गरेका छन्। आईपीएलमा उनले ८२ खेलमा १,५०५ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५४.६७ छ।
बाङ्लादेशका सकिब अल हसनलाई कलकत्ता नाइट राइडर्सले तीन करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ। अस्ट्रेलियाका ओपनर आरोन फिन्चमाथि भने पहिलो चरणमा कुनै पनि टीमले बोली लगाएनन्। उनको बेस प्राइस एक करोड भारु थियो।