अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले बुझाए सर्वोच्चमा लिखित जवाफ (लिखित जवाफसहित)
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका छन्।
सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री ओली उपस्थित भएर जवाफ बुझाएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए।
‘‘प्रधानमन्त्रीले सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका निम्ति स्वयं उपस्थित भएर जवाफ प्रस्तुत गर्नुभएको हो।उहाँले लिखित जवाफ मात्र पठाउनुभएको भए पनि हुन्थ्यो, तर लिखित जवाफसहित स्वयं उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मान पनि प्रस्तुत गर्नुभएको छ,’’ थापाले भने।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले ११ माघमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा रिट निवेदन दायर गरेका थिए। त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्री ओलीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अवहेलनाको रिट निवेदन दिएका थिए।
प्रधानमन्त्री ओलीले ९ माघमा कार्की ब्यांकेटमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विरुद्ध बोलेका थिए। उनले ‘एक जना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेर टिप्पणी गरेका थिए।
अदालतको बहसलाई तमासा र कानून व्यवसायीलाई बोजे भनेर टिप्पणी गर्न नहुने भन्दै मुद्दा परेको हो। यसमा सर्वोच्च अदालतले आफैँ उपस्थित भएर लिखित जवाफ दिन गत १५ माघमा प्रधानमन्त्रीलाई आदेश दिएको थियो।
प्रधानमन्त्री ओलीले बुझाएको लिखित जवाफमा लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेको कल्पना गर्नु समेत दुराग्रहपूर्ण रहेको उल्लेख छ। "अदालतबाट भएका फैसला तथा आदेशको म तथा मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ। सर्वोच्च अदालले गरेका संविधान र कानूनको व्याख्या पूर्णत: पालना र कार्यान्वयन भएका छन्," जवाफमा लेखिएको छ।
यस्तो छ प्रधानमन्त्री ओलीको लिखित जवाफ: