सीआईबीका दुई प्रहरी अधिकृतलाई ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना अधिृकतले राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड' प्राप्त गरेका छन्।
बुधबार थाइल्यान्डको बैंककमा विशेष कार्यक्रम गरी यूएनईपीले भारतसहित, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र नेपालका आठ जनालाई अवार्ड दिएकाे हाे। नेपालबाट सीआईबीका दुई अधिकृत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीले उक्त अवार्ड पाएको यूएनईपीले विज्ञप्तिमार्फत जनाएको छ। जोहारीले यसअघि अब्राहम कन्जर्भेसन अवार्ड-२०१५ पाएका थिए भने सीआईबीको पिल्लर ४ ले क्लार्क भविन अवार्ड २०१७ र एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ पाएको थियो।
वर्षौं लामो अनुसन्धानबाट कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गरेकोमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको यूएनईपीले जनाएको छ। २०६२ सालमा रसुवामा बाघ र चितुवा तथा अन्य संरक्षित वन्यजन्तुका छाला र हड्डीसहित पाँच जना पक्राउ परेको घटनाका नाइके तामाङ त्यसबखत भाग्न सफल भएका थिए। उनलाई गत असारमा सीआईबीले काठमाडौंबाट पक्राउ गरेको थियो।
सीआईबीका निर्देशक सहकूल थापाले अवार्डलाई आफूले सीआईबीको वाइल्डलाइफ पिल्लरले वन्यजन्तु अपराध नियन्त्रणमा खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा ‘रिकग्नाइज’ गरिएको रूपमा लिएको बताए।
यूएनईपीले आफ्नो क्षेत्रमा वातावरणीय अपराधसँग जुध्न उत्कृष्ट काम गर्ने सरकारी कर्मचारी तथा संस्थाहरूलाई यो अवार्ड प्रदान गर्छ। खासगरी वन्यजन्तु अपराध र त्यसको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न काम गरेको भन्दै यूएनईपीले एसियाका अन्य चार देशका थप ६ जनालाई पनि यो अवार्ड प्रदान गरेको छ।
सीआईबीले पक्राउ गरेपछि तामाङ अहिले कारागार कार्यालय रसुवामा थुनामा छन्। जिल्ला अदालतले थुनामा पठाउने गरी गरेको आदेशलाई उच्च अदालत पाटनमा चुनौती दिएर र सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत थुनामुक्त हुन तामाङले गरेको प्रयास भने असफल भएको छ।