आविष्कारमा निराशा, एक दशकमा आठ वटा पेटेन्ट दर्ता
डेढ वर्षदेखि उद्योग विभागमा एउटै 'पेटेन्ट' दर्ता भएको छैन। नवीनतम आविष्कारको अधिकारलाई सुरक्षित राख्ने पेटेन्ट दर्ताको स्थितिले देशको सिर्जनशील क्षमता मापन गर्छ। पेटेन्ट दर्ता निराशाजनक हुनुले देशमा नवीनतम आविष्कार र सिर्जनशीलताको गति असाध्यै सुस्त भएको देखाउँछ।
गत आर्थिक वर्ष २०७६/०७७ र चालू आर्थिक वर्षको अहिलेसम्म एउटै पेटेन्टको दर्ता नभएको विभागको तथ्यांकले देखाएको हाे।विभागका अनुसार, पछिल्लो एक दशकमा जम्मा आठ वटा मात्रै पेटेन्ट दर्ता भएका छन्। यो अवधिमा कुनै पनि विदेशी पेटेन्टको दाबीलाई दर्ता गरिएको छैन।
कुनै व्यक्तिले आविष्कार गरेको वस्तु वा पदार्थको बनावट वा कुनै नयाँ सिद्धान्त अथवा सूत्रद्वारा पत्ता लगाइएको उपयोगी आविष्कारलाई पेटेन्ट मानिन्छ। अरू कसैले त्यस्तो आविष्कार नक्कल नगरोस् भनी दर्तामार्फत पेटेन्ट अधिकार सुरक्षित गरिएको हुन्छ।
संसारमा सबैभन्दा धेरै अमेरिकामा ३१ लाख र चीनमा २७ लाखभन्दा धेरै पेटेन्ट दर्ता गरिएका छन्। विभागको तथ्यांकअनुसार, अहिलेसम्म देशमा जम्मा ४० स्वदेशी र ३६ विदेशी गरी ७६ वटा पेटेन्ट दर्ता भएका छन्। आश्चर्यलाग्दो के छ भने, पछिल्ला ११ वर्षमा एउटा पनि विदेशी पेटेन्टलाई दर्ता गरिएको छैन।
संसारमा सबैभन्दा धेरै अमेरिकामा ३१ लाख र चीनमा २७ लाखभन्दा धेरै पेटेन्ट दर्ता गरिएका छन्। विभागको तथ्यांकअनुसार, अहिलेसम्म देशमा जम्मा ४० स्वदेशी र ३६ विदेशी गरी ७६ वटा पेटेन्ट दर्ता भएका छन्। आश्चर्यलाग्दो के छ भने, पछिल्ला ११ वर्षमा एउटा पनि विदेशी पेटेन्टलाई दर्ता गरिएको छैन।
एसियन पेटेन्ट एटर्निज एसाेसिएसनको नेपाल शाखा अध्यक्ष तथा बाैद्धिक सम्पत्तिसम्बन्धी कानुनका जानकार अधिवक्ता रामचन्द्र सुवेदी उद्योग विभागसँग पेटेन्ट अधिकार दिन आवश्यक हो वा होइन भन्ने निर्क्योल गर्ने क्षमता नै नभएकाले पेटेन्ट दर्ता नभइरहेको बताउँछन्। “पेटेन्ट पहिचान गर्ने जनशक्ति नै विभागसँग छैन, त्यसैले दर्ता पनि भइरहेको छैन,” उनी भन्छन्।
विभागमा ७६३ वटा पेटेन्ट दर्ताको दाबी गरिएका आवेदन परेका छन्। दर्जनौं यस्ता दाबीको फर्स्यौट हुनै सकेको छैन। यी आवेदनलाई पेटेन्ट अधिकार दिने वा नदिने भनी पर्गेल्न विभागसँग विज्ञ नै छैनन्। त्यसैले, विभागले यस्ता आवेदनलाई कारबाही नगरी थन्क्याउँदै आएको छ। विभागको औद्योगिक सम्पत्ति शाखा प्रमुख विन्दा आचार्य नेपालमा आविष्कार पनि कम हुने र त्यस्तो आविष्कार नवीनतम हो वा होइन भनी ठम्याउने विभागको क्षमता कमजोर भएकाले पेटेन्ट दर्ता कम भएको बताउँछिन्।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार, पेटेन्ट अधिकार सुरक्षित राख्न बिल्कुल नयाँ आविष्कारलाई मात्र दर्ता गरिने व्यवस्था छ। अरूको आविष्कारमा आधारित भएर गरिएका सुधारलाई पेटेन्ट अधिकार दिने विषयमा विद्यमान कानून मौन छ, त्यसैकारण पनि पेटेन्ट दर्ताको संख्या कम छ।
पेटेन्ट मात्रै होइन, डिजाइन, ट्रेडमार्क जस्ता बौद्धिक सम्पत्तिको संरक्षणमा पनि उदासीनता छ। ज्ञानमा आधारित अर्थव्यवस्थामा बौद्धिक सम्पत्तिकै आधारमा व्यावसायिक साम्राज्य खडा गरिएको हुन्छ। नेपालमा भने व्यावसायिक क्षेत्रमा कर्पोरेट संस्कार बलियो नभइसकेका कारण बौद्धिक सम्पत्ति संरक्षणमा चासो छैन। त्यसैकारण, डिजाइनको दर्ता संख्या पनि स्वदेशी र विदेशी गरी १९५ मात्रै छ।
विभागमा अहिलेसम्म ५१ हजार २२२ वटा ट्रेडमार्क दर्ता भएका छन्। यसमध्ये २३ हजार १३७ विदेशी ट्रेडमार्क हुन्। संख्या धेरै भए पनि कतिपय ख्यातिप्राप्त नेपाली उत्पादनहरूले आफ्नो ट्रेडमार्क जोगाउन दर्ताको पहल नगरेको विभागको औद्योगिक सम्पत्ति शाखाकी प्रमुख आचार्य बताउँछिन्।
आफ्नो ब्रान्ड सुरक्षित गर्न ट्रेडमार्क दर्ता गरिन्छ। उत्पादकहरूले आफ्नो उत्पादनलाई अरूको भन्दा फरक देखाउन प्रयोग गर्ने मौलिक चिह्न ट्रेडमार्कको ठूलो अर्थ हुन्छ।