एमजे अकबरको गाली बेइज्जती मुद्दामा अदालतले दियो प्रिया रमानीलाई सफाइ
भारतको नयाँदिल्लीस्थित एक अदालतले पत्रकार प्रिया रमानीलाई गाली बेइज्जती मुद्दामा सफाइ दिएको छ। पूर्व केन्द्रीय मन्त्री एमजे अकबरले दायर गरेको मुद्दामा अदालतले ‘कसैको प्रतिष्ठाको सुरक्षा अन्य व्यक्तिको आत्मसम्मानको मूल्यमा हुन नसक्ने’ भन्दै रमानीलाई सफाइ दिएको हो।
पूर्वपत्रकार समेत रहेका अकबर विरुद्ध रमानीसहित धेरै महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। आफूहरूमाथि भएको दुर्व्यवहारलाई ट्वीटरमा ह्यासट्याग मीटू राखेर संसारभरका महिलाहरूले सार्वजनिक गर्ने क्रममा अकबरमाथि पनि आरोपहरू लगाइएको थियो। यो घटना भारतमै चर्चितमध्येको मीटू घटनाका रूपमा थियो।
अदालतले सामाजिक रूपमा प्रतिष्ठित पुरुषले पनि यौन दुर्व्यवहार गर्नसक्ने भन्दै रमानीले आफू विरुद्धको दुर्व्यवहारबारे बोल्दा बेइज्जती गरेको नमानिने ठहर गरेको हो।
फैसला सुन्न प्रिया रमानी र एमजे अकबर दुवै जना अदालतमा उपस्थित थिए। अदालतको फैसलापछि संवाददाताहरूसँग कुरा गर्दै रमानीले महिलालाई आफूमाथि भएको दुर्व्यवहारबारे दशकौँपछि पनि बोल्ने अधिकार भएको बताइन्।
आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि अकबरले केन्द्रीय मन्त्रीको पदबाट राजीनामा गरेका थिए। सन् २०१७ को अक्टोबर १७ मा रमानीले एक पत्रिकामा ‘मेल बोस’ शीर्षकमा लेख प्रकाशन गर्दै आफूमाथि एक व्यक्तिले दुर्व्यवहार गरेकोबारे सार्वजनिक गरेकी थिइन्। त्यसको एक वर्षपछि मात्रै उनले ट्वीटमार्फत उक्त व्यक्ति अकबर रहेको सार्वजनिक गरेकी थिइन्। त्यसपछि अकबरलाई केन्द्रीय मन्त्रीको पदबाट राजीनामा गर्न दबाब परेको थियो। लगत्तै उनले रमानी विरुद्ध अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए।