प्रदेश १ को राजधानीमा सडक अतिक्रमणले पैदलयात्रीलाई सास्ती
प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने कोशी राजमार्गमा भएको अतिक्रमणका कारण पैदलयात्री सडकबाटै हिँड्न बाध्य छन्।
कोशी राजमार्ग विस्तार गरेर चार लेन बनाइएको छ। तर, साँघुरो सडकपेटीमा व्यापारीले अतिक्रमण गरेर सामान राखेका कारण पैदलयात्रीलाई समस्या भएको हो। महानगर प्रवेशद्वार दक्षिणतर्फको सडकका दुवै पेटी र किनारमा निर्माण सामग्री तथा ग्यारेजका टायर राख्ने गरिएको छ।
राजवंशी चोक उत्तर र ढाटदेखि दक्षिण सडकको एक किलोमिटर पेटी र किनारमा माटो, बालुवा, इंटा, ढुङ्गा, गिटीलगायत निर्माण सामग्री राखिएको छ। प्रदेश प्रमुखको कार्यालय अगाडि पाथिभरा ट्रेडर्सले पेटीमा फलामे डन्डी राखेर व्यापार गरिरहेको छ।
अजिज मोटरसाइकल ग्यारेजले पुराना मोटरसाइकल किनारमा राखेर पैदलमार्ग नै बन्द गरिदिएको छ। सगरमाथा ड्राइभिङ सेन्टरले राति किनारमा कार पार्किङ गर्ने गरेको छ। त्यसकारण ‘मर्निङ वाक’ गर्नेले सडकबाटै हिंड्नुपर्ने हुन्छ।
यस्तै पूर्वाञ्चल ग्राउन्ड वाटर ट्युवेल उद्योगछेउमा मुनाजिर मियाको टायर रिपेयरिङ सेन्टरले किनारमा ठूला गाडीका पुराना टायर थुपारेको छ। दिव्या मेटल उद्योगछेउको ग्यारेजले पेटीमा टायर राखेको लामो समय भएको स्थानीय बताउँछन्। सोफिया इन्जिनीयरिङ वर्कसपले ग्रिलका सामग्री र फलामे गेट सडक किनारमा राखेर पैदल हिंड्न नमिल्ने बनाएको छ। शिव रिपेयरिङ वर्कशपले सडक पेटीमा टायरका चाङ लगाएर राख्छ।
प्रदेशको राजधानी छिर्ने मुख्य सडकमा मुख्यमन्त्री र मन्त्रीहरु गाडीमा हिंड्दा उनीहरूले सडक किनारका समस्या देखेका छैनन्। बरगाछी दक्षिणको चार लेन सडक किनारमा ट्राफिक प्रहरीले मोटरसाइकल समेत रोक्न दिंदैन। तर, आयल निगम कार्यालय अगाडिको सडकमा ट्याङ्कर नियमित पार्किङ गरिन्छ।
त्यहाँ भेटिएका एक ट्राफिक प्रहरी ट्याङ्कर चालकले ‘कसै गरे पनि’ नटेरेको सुनाउँछन्। “ट्याङ्करमा फलामको साङ्लो लगाउँदा पनि मान्दैनन्, प्रहरीलाई नै हातपात गर्छन्,” ती ट्राफिक प्रहरीले भने। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्का आयल निगम डिपोका हाकिमलाई नै भनेर ट्याङ्कर पार्किङको व्यवस्थापन गर्न आग्रह गर्ने बताउँछन्। “अब तत्कालै म कडाइमा उत्रिन्छु, सडकमा पार्किङ गर्न दिइँदैन,” खड्का भन्छन्।
कतिपय ठाउँमा महानगर प्रहरीले सडक अतिक्रमण हटाउने गरेको छ। तर, राजवंशी चोक उत्तरको दुवै किनारमा राखिएको सामग्री हटाउन नगर प्रहरीको ध्यान पुग्न सकेको छैन। महानगर प्रहरीका निरीक्षक राजन पौडेल त्यस क्षेत्रबाट कुनै पनि गुनासो नआएकाले थाहा नभएको बताउँछन्। “साइकल, गाडी गस्ती नियमित छ, देखेको ठाउँमा हटाउँछौं। कुनै ठाउँबाट गुनासो आएको छ भने चाहिँ तत्कालै हटाउने गरेका छौं,” उनी भन्छन्।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सडक किनार र पेटीको अतिक्रण हटाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताए। प्रदेशको राजधानी भएकाले पनि सडक अतिक्रमण निगरानी गरेर कडाइका साथ हटाउन लगाउने उनको भनाइ छ।