नेपालसँग सडकले जोडियो भारतको सिक्किम
भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेपछि नेपाल र सिक्किम सडकमार्फत जोडिएका हुन्।
सिक्किमको सडक पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा जोडिएको छ। सिक्किमले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो। सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधि तथा निर्माण व्यवसायीले चिवाभञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए।
नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो। भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो। सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चले पनि निर्माणले गति लिन सकेको थिएन। भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तारमा ढिलाइ हुँदै आएको थियो।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले नेतृत्वको सरकारले सीमासम्म सडक विस्तार गरेर उत्तरे बजारलाई व्यापारिक रूपमा विकास गर्न प्राथमिकतामा राखेको थियो। सोहीअनुसार द्रुत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ।
विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो। सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ।
विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो। सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ।
उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो। पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको छ।
नेपालले चिवाभञ्ज्याङसम्म सडक पुर्याए पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए। तर, सीमासम्म भारतले सडक ल्याएपछि उनीहरू खुशी छन्। अब चिवाभञ्ज्याङमा व्यापारिक नाका खोलिनुपर्ने तथा व्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरूको माग छ।
“उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ”, याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भने, “एकापट्टि मात्रै काम गरेर पुग्दैन। दुवैतर्फ व्यवस्थित सडक निर्माण र व्यापारिक नाका स्थापना हुनुपर्छ।”
पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत–जावत र व्यापार सहज हुर्नेमा जोड दिन्छन्। “सीमित भए पनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरीद गर्छौं,” राईले भने, “नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै, सरकारलाई समेत फाइदा मिल्छ।”
अहिले भारतबाट खरीद गरिने सामग्री यहाँसम्म ल्याइपुर्याउन ढुवानीमा धेरै खर्च हुने गरेको छ। सिक्किमबाट खरीद गर्न सके छोटो दूरी हुने हुँदा सामग्री कम मूल्यमा नेपाली उपभोक्ताले प्राप्त गर्न सक्नेछन्।
यहाँ व्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कूटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ। नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटर कालोपत्रेका लागि ठेक्का लागिसकेको छ।
दुवै देशका सीमा क्षेत्रका स्थानीयवासीबीच बिहेवारी हुने गरेको छ। विगतमा गोठबाट गाँसिएको साइनो पारिवारिक सम्बन्ध हुँदै दुई देशबीचको मैत्री सम्बन्धमा परिणत हुने गरेको छ। यसकारण चिवाभञ्ज्याङ नाका हुँदै आवतजावत गर्नेको सङ्ख्यासमेत उल्लेख्य हुन्छ। सिक्किमको सीमा नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग जोडिएको छ।