व्यक्तिको नामबाट सिमसार नामकरण : स्थानीयता मास्ने बलमिच्याइँ
पर्यावरणीय सम्पदाको परम्परागत चिनारी र स्थानीयता नाशिने गरी विभिन्न व्यक्तिको नाममा राख्ने प्रवृत्ति संरक्षण क्षेत्रकै लागि घातक छ। यसको पछिल्लो उदाहरण हो, लुम्बिनी विकास कोषको क्षेत्रभित्र सारस संरक्षण गर्न बनाइएका सिमसार।
लुम्बिनी क्षेत्रमा सारस संरक्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सारस संरक्षण संस्थाले लुम्बिनी विकास कोषको जग्गा ५० वर्ष भाडामा लिने सम्झौता सन् १९९४ मा भएको थियो। सम्झौतामा सारस संरक्षणका लागि बासस्थान सुधार र सिमसारको व्यवस्थापन गर्ने विषय उल्लेख छन्। तर, सम्झौताको प्रावधान विपरीत कोषको हाताभित्र निर्मित सिमसारको नामकरण व्यक्तिको नामबाट गरिएको छ।
अन्तर्राष्ट्रिय सारस संरक्षण संस्थाको कार्यालय अमेरिकामा छ। यो संस्थाले विश्व सिमसार दिवसको अवसरमा गत २० माघमा लुम्बिनीमा आयोजित कार्यक्रममा सात वटा सिमसारको नाम व्यक्तिको नामबाट राखेको हो। यी सिमसार लुम्बिनीको शान्ति स्तूपा क्षेत्रमा छन्।
सिमसारहरूको नाम स्व. डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नोर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबर्ड र डा. घन गुरुङको नामबाट घोषणा गरिएको हो। यीमध्ये घन गुरुङ, हरिशरण नेपाली, डा. जर्ज अर्चिबर्ड जीवित छन्। गुरुङ विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका कन्ट्री डाइरेक्टर हुन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका सारस संरक्षण संस्थाका नेपाल प्रतिनिधि अवधेश त्रिपाठीले शक्तिशाली व्यक्तिहरूलाई खुशी पार्न व्यक्तिको नामबाट सिमसारको नामकरण गराएका हुन्। त्रिपाठीले संस्थाको कन्ट्री डाइरेक्टरको हिसाबले आफ्नो प्रस्तावमा सात वटा सिमसारको नाम राखिएको बताए।
“यसरी नाम राख्ने अन्तर्राष्ट्रिय प्रचलन नै हो। संरक्षणमा योगदान पुर्याएका व्यक्तिहरूको बारेमा जानकारी होस् र उहाँहरूको सम्मान पनि हुन्छ भनेर नाम राखिएको हो,” उनले भने, “यो निर्णय सारस संरक्षण संस्थाको हो। कोषसँग सम्झौता भएकाले त्यसको क्षेत्राधिकार सारस संरक्षण संस्थालाई छ।”
सिमसारहरूको नाम स्व. डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नोर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबर्ड र डा. घन गुरुङको नामबाट घोषणा गरिएको हो। यीमध्ये घन गुरुङ, हरिशरण नेपाली, डा. जर्ज अर्चिबर्ड जीवित छन्। गुरुङ विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका कन्ट्री डाइरेक्टर हुन्।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीको हाताभित्र सिमसार निर्माण गरेर व्यक्तिको नामबाट नामकरण गरिएपछि संरक्षण क्षेत्रका विज्ञहरूले आलोचना गरेका छन्। वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ स्थानीय परिवेश र परम्परागत कुराबाट नामकरण गर्नु स्वाभाविक मान्न सकिए पनि व्यक्तिको नाम प्रयोग गरिनु शोभनीय नहुने बताउँछन्।
“व्यक्तिको नामबाट सिमसारको नामकरण गर्ने विषय त शोभनीय भएन। व्यक्तिको सालिक राखे जस्तो हुन्छ, एउटाले राख्ने र अर्को विरोध गर्ने अनि भत्काउने,” डा. श्रेष्ठ भन्छन्, “यस्तो प्रवृत्तिले सिमसारको भविष्य नै राम्रो हुँदैन। हाम्रो उद्देश्य संरक्षण हो। नामले नभई कामले पो संरक्षण हुन्छ।”
कोषका उपाध्यक्ष एवम् सारस संरक्षण संस्थाका नेपाल प्रतिनिधि त्रिपाठी भने अझै थप पाँच वटा पोखरीको नामकरण विभिन्न व्यक्तिको नामबाट गरिने बताउँछन्। उनका अनुसार, रेचुलकार्सन, डा. सलिम अली, रोबर्ट बेटमेन, पिटर म्याथिसन र आल्डो लियो पोल्डको नामबाट नामकरण गर्ने तयारी छ। यीमध्ये क्यानाडाका रोबर्ट बेटमेन मात्र जीवित छन्। रेचुलकार्सन, पिटर म्याथिसन, आल्डो लियो पोल्ड अमेरिकी हुन् भने सलिम अली भारतीय हुन्।
“व्यक्तिको नामबाट सिमसारको नामकरण गर्ने विषय त शोभनीय भएन। व्यक्तिको सालिक राखे जस्तो हुन्छ, एउटाले राख्ने र अर्को विरोध गर्ने अनि भत्काउने। यस्तो प्रवृत्तिले सिमसारको भविष्य नै राम्रो हुँदैन। हाम्रो उद्देश्य संरक्षण हो। नामले नभई कामले पो संरक्षण हुन्छ।” - डा. तीर्थबहादुर श्रेष्ठ, वातावरणविद्
त्रिपाठी लुम्बिनी घुम्न आउने स्कूले विद्यार्थीलाई संरक्षण कर्ममा जोडिएका व्यक्तिहरूको बारेमा जानकारी दिने उद्देश्यले सिमसारको नामकरण गरेको तर्क गर्छन्। “लुम्बिनीमा वार्षिक पाँच लाख विद्यार्थी घुम्न आउँछन्। उनीहरूलाई संरक्षणमा काम गरेका व्यक्तिहरूबारे जानकारी होस् भन्ने पनि उद्देश्य हो,” उनी भन्छन्।
व्यक्तिको नामबाट सिमसारको नामकरण गरिएपछि आलोचना खेपेका डब्लूडब्लूएफ नेपालका कन्ट्री डाइरेक्टर घन गुरुङ भने सारस संरक्षण संस्थाको निर्णय अनुसार नाम राखिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउँछन्। “सिमसार दिवसमा मलाई निम्ता गर्नुभएकाले गएको हुँ । मेरो नामबाट नामकरण गरिएको विषय त्यहीँ गएर मात्र जानकारी भएको हो,” उनले भने, “भन्ते (लुम्बिनी विकास कोषका उपाध्यक्ष) आफैँले प्रस्ताव गर्नुभएको रहेछ। मुस्ताङको एउटा गाउँबाट उठेको व्यक्तिले संरक्षणमा योगदान गरेको, संरक्षणकै क्षेत्रमा ३० वर्ष काम गरेको भनेर मूल्यांकन गर्नुभएको रहेछ। यसमा मेरो के दोष भयो र?”
सरकारी निर्णय अनुसार मात्र सिमसारको नामकरण हुनसक्ने भए पनि लुम्बिनी क्षेत्रका सिमसारको नाम राख्दा यसको धज्जी उडाइएको छ। देशमा भएका सिमसारको अध्ययन, संरक्षण तथा तिनको व्यवस्थापनको तालुकदार वन तथा वातावरण मन्त्रालय हो। जसले समय–समयमा सिमसारको अध्ययन–अनुसन्धान गर्छ। मन्त्रालयको जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्ले भन्छन्, “सरकारले निर्णय गरेपछि मात्र सिमसारको नामकरण हुनसक्छ।”
सरकारले तालहरू रामसार सूचीमा सूचीकृत गर्दा निर्णय गरेर प्रस्ताव पठाउँछ। लुम्बिनीमा तालहरूको नामकरण गर्दा लुम्बिनी विकास कोष र नेपाल सरकारका कुनै पनि निकायको निर्णय भएको छैन।