मुगुमा फोटो कथा प्रदर्शनी
मुगु जिल्लामै पहिलो पटक फोटो कथा प्रदर्शनी गरिएको छ ।
स्थानीय कर्णाली आर्ट सेन्टरले सोमबार मुगु सदरमुकाम गमगढीको कालिका मलिका मन्दिर परिसरमा प्रदर्शनीको आयोजना गरेको हो ।
सेन्टरले ३–८ वैशाखसम्म स्थानीय १९ जना युवालाई ६ दिने फोटोग्राफी कार्यशाला दिएको थियो । काठमाडौंको ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका शिक्षक रोबिन शर्मा दाहालले फोटोग्राफी तालिम दिएका थिए ।
कार्यशालामा १२ जना महिला थिए । सहभागी सबैले मोबाइल फोनमार्फत तस्वीर खिचेका थिए ।
सेन्टरका अध्यक्ष हिरा बिजुली नेपालीले नयाँ पुस्ताले मोबाइलले खिचेंका तस्वीर सामाजिक सञ्जालमा राख्ने गरेको तर यसले उनीहरुको अधिकार र जनजीवन नझल्काउने हुँनाले यस्तो कार्यशाला आयोजना गरिएको बताए ।
“फोटोबाट कथा बनाई सामाजिक सञ्जालसम्म पुर्याउन सके स्थानीय महिलाका आवाज सञ्चारको मूल प्रवाहमा ल्याउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो”, नेपालीले भने ।
नेपाली मुगुमा यसरी फोटो प्रदर्शनी गरिएको यो पहिलो भएको बताउँछन् । “फोटो प्रदर्शनी नै पहिलो हो, फोटो कथा त झन् कर्णाली अञ्चलमै पहिलो हुनुपर्छ”, उनी भन्छन् ।
नेपाली निर्देशित नाटक ‘गर्भछिटा’ गत महिना काठमाडौंमा प्रदर्शन गरिएको थियो ।
कार्यशालाका सहभागीहरूले तीन दिनसम्म मुगुका विभिन्न गाउँ पुगी निश्चित विषयहरुमा तस्वीर खिचेका थिए र तिनैका आधारमा फोटो कथा बनाइएको थियो ।
प्रदर्शनीमा नौ वटा विषयमा ८० वटा तस्वीर समावेश थियो ।
प्रर्दशनीमा उपल्लो मुगुकी छोर्देन लामाले ‘छोरी’ शीर्षकको फोटो कथामा छोरी जन्मिदा पनि सुत्केरीलाई छोरा जन्माए जत्ति नै स्याहार चाहिने विषय उठाएकी थिइन् भने चैन गाउँकी जन्मलक्ष्मी हमालले एकल महिलाको जीवनको एक्लोपनलाई दर्शाएकी थिइन् ।
रारा नजिकैको मुर्माकी खामु विकले रारामा दैनिक पर्यटकलाई घोडसवार गराउने एक महिलाको कथालाई आफ्नो तस्वीरको विषय बनाएकी थिइन्।
जिल्लामा पहिलो पटक आफ्नो तस्वीर सार्वजनिक ठाउँमा अरुले पनि हेर्न पाएकोमा मुगालीहरू दंग देखिएका आर्ट सेन्टरका अध्यक्ष नेपाली बताउँछन्।
प्रर्दर्शित तस्वीरहरुलाई जिल्लाका विद्यालयहरुमा पुनःप्रस्तुत गरिने उनको भनाइ छ ।