कोरोना महामारी प्रभावित ऋणीलाई राष्ट्र ब्यांकको सहुलियत
नेपाल राष्ट्र ब्यांकले ऋणको पुनर्तालिकीकरण गर्दै ऋणीहरुलाई साँवा र ब्याज तिर्नुपर्ने समयसीमा बढाइदिएको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय ब्यांकले कोरोनाभाइरस महामारीले थलिएको अर्थतन्त्र अझै लयमा आउन नसकेको र उद्योग-व्यवसाय समस्यामा रहेको भन्दै अन्तिम पटकका लागि ऋणीहरूलाई किस्ता बुझाउन सहुलियत दिएको हो।
राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशत मात्रै ब्याज असुल गरी ऋणको साँवा र ब्याज तिर्ने समय २०७८ असार मसान्तसम्म बढाएको बताए। उनले विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने पनि बताए।
यस्तै, अर्धवार्षिक समीक्षा मार्फत तोकिएको क्षेत्रमा लगानी नगर्ने ब्यांकहरूलाई कारबाही गर्ने, विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने, १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई दिइने सहुलियत कर्जामा प्राथमिकता दिनेसहितको नीति अगाडि सारिएको छ।
गभर्नर अधिकारीले मौद्रिक नीतिले उद्योग-व्यवसायसहितको आर्थिक क्षेत्रमा एक किसिमको उत्साह ल्याएको बताए। महामारीका कारण आर्थिक क्षेत्रमा निकै ठूलो असर परे पनि अहिले तथ्यांकले त्यति धेरै नराम्रो अवस्था नदेखाएको उनको भनाइ छ। "अर्थतन्त्रको समग्र परिसूचक सकारात्मक रहेकाले उत्साहपूर्ण अवस्था छ," उनले भने।
मुद्रास्फिति सन्तुलित अवस्थामा रहेको, वैदेशिक व्यापार घाटामा सुधार आएको र रेमिटेन्स आप्रवाह ११ प्रतिशतले बढेको, चालु खाता घाटामा आए पनि शोधनान्तर बचत रहेको र विदेशी मुद्रा सञ्चिति राम्रो रहेको पनि गभर्नर अधिकारीले बताए। ब्यांकको ब्याजदर क्रमशः घट्दै गएको र वित्तीय पहुँचमा सुधार भएको पनि उनले तर्क गरे।
देशभरका ब्यांकको पहुँच पुगे पनि अझै चार वटा स्थानीय तहमा वाणिज्य ब्यांक पुग्न नसकेको उल्लेख गर्दै गभर्नर अधिकारीले छिटै सबै स्थानीय तहमा ब्यांक पुग्ने राष्ट्र ब्यांकको भनाइ छ।
कोभिड-१९ बाट प्रभावित पेशा, उद्योग, व्यवसायलाई संरक्षण गर्न राष्ट्र ब्यांकले कृषि, साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने गरी मौद्रिक नीति मार्फत पुनर्कर्जाको व्यवस्था गरेको थियो। जसबाट २०७७ माघसम्ममा रु.८७ अर्ब ८७ करोडको पुनर्कर्जा स्वीकृत गरेको राष्ट्र ब्यांकले जनाएको छ।