सार्वजनिक बसमा स्मार्ट कार्डबाट भाडा भुक्तानी शुरु
स्मार्ट कार्डको प्रयोग गरी सार्वजनिक बसमा भाडा भुक्तानी गर्न सकिने भएकाे छ। यसकाे शुरुआत गाम्चा, नौलिङ्गस्थानदेखि गोपिकृष्ण, शहीदगेट, टेकु, कलंकी हुँदै नयाँ बसपार्क रुटमा चल्ने संयुक्त यातायातबाट गरिएकाे छ।
फिनटेक इन्टरनेसनलले विकास गरेको यात्रा कार्डमार्फत नगदरहीत भाडा भुक्तानी गर्ने प्रविधिलाई संयुक्त यातायासँगको सहकार्यमा शुरु गरिएकाे हाे। आधुनिक तथा विश्वब्यापी रूपमा प्रचलनमा रहेको स्पर्षरहीत, आधुनिक, स्मार्ट कार्डमार्फत बसभाडा भुक्तानी गर्ने 'अटोमेटेड फेयर कलेक्सन सिस्टम (एफएसी)'को शुरुआत भएको फिनटेकले जानकारी दिएको छ।
आइतबार एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिका मेयर उद्धव खरेलले स्मार्ट कार्डबाट भाडा भुक्तानी गरि यसकाे शुरुआत गरेका छन्। कार्यक्रममा बाेल्दै मेयर खरेलले याे प्रविधि सार्वजनिक यातायातलाई ब्यवस्थित, प्रविधियुक्त, सर्वसुलभ तथा यात्रुमैत्री बनाउन सहयोगी हुने बताए।
कार्यक्रममा संयुक्त यातायातका अध्यक्ष भरत तिमिल्सिनाले कार्डमार्फत भाडा भुक्तानी गर्दा यात्रुलाई तोकिएको भाडा भुक्तानी गर्ने सुविधा उपलब्ध हुने र छिटो छरितो रुपमा सेवा पुग्ने बताए।
भाडा भुक्तानी गर्दा खुद्रा पैसाको अभावमा तोकिएको भाडा भुक्तानी गर्न असजिलो, फिर्ता पैसा नपाउँदा बढी तिर्नु परेकाे, पैसा फिर्ता लिन कुर्नुपर्ने, पैसा झिक्दा र राख्दा हराउने डरलगायतका समस्या अब समाधान हुने फिनटेकको भनाइ छ। यात्रा कार्डमा रेडियो फ्रिक्वेन्सी प्रविधी जडान भएकाले स्पर्श रहित तरिकाले भाडा भुक्तानी गर्न सकिने र कार्डले सरकारको डिजिटल नेपालको अवधारणलाई सहयोग पुर्याउने फिनटेकका कन्सल्ट्यान्ट गोकर्ण सिटौलाले बताए।
यो कार्ड काठमाडौं उपत्यकाका मुख्यमुख्य बस विसौनीमा रहेको फिनटेक बुथ वा बसभित्रै पनि लिन सकिन्छ। कार्ड लिन रु.५० डिपोजिट गर्नुपर्छ। कार्ड लिएपछि पहिलो पटक एक्टिभ गर्न न्यूनतम रु.१०० राख्नुपर्छ। यात्रुले आफ्नो इच्छाअनुसार याेभन्दा बढी रकम राख्न पनि सक्छन्। यस्तो कार्डको रिचार्ज बुथबाट, बसमा, ब्यांक खाता वा यात्रा एपमार्फत गर्न सकिन्छ।
यात्रुले बस चढेपछि ट्याप इन (मेसिनमा कार्ड देखाउने) र ओर्लने बेला ट्याप आउट गर्नुपर्नेछ। कार्डमा रहेको ब्यालेन्स थाहा पाउन फिनटेक बुथ वा बसभित्र टिकेटिङ मेसिनमा चेक गर्न सकिनेछ। साथै यात्रा गरिसकेपछि उपलब्ध हुने टिकटबाट समेत मौज्दात रकमको जानकारी पाइनेछ।
त्यस्तै कार्ड प्रयोगकर्ता विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरूको लागि सरकारद्वारा तोकिएको छुट भाडा उपलब्ध हुने गरी ब्यक्तिगत कार्ड उपलब्ध गराइने फिनटेकले जनाएकाे छ। याे कार्ड फारम भरी बुझाएको केही दिनभित्रै उपलब्ध हुनेछ।