विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यकाे पदवहाली
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। शाक्यले प्राधिकरणको १७औं कार्यकारी निर्देशकका रूपमा आइतबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदवहाली गरेका हुन्।
गत २६ कात्तिकमा कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यलाई सरकारले २६ माघमा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौमा पदावधि सकिएपछि रिक्त रहेको प्राधिकरणको नेतृत्वमा शाक्य नियुक्त भएका हुन्।
पदवहालीपछि शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार गर्ने बताए। उनले देशभित्र बिजुलीको खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने कामलाई प्राथमिकता दिने पनि बताए।
शाक्यले आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने कामलाई प्राथमिकता दिने बताए। साथै, विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि सुदृढीकरण तथा विस्तारका काम अगाडि बढाउने जिम्मेवारी पनि आफ्नो काँधमा आएको उनले बताए।
'टेक अर पे' को शर्त अनुसार विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरिएका जलविद्युत् आयोजनाबाट वर्षायाममा उत्पादित विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै शाक्यले यो समस्या निराकरण गर्न आन्तरिक खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापारमा प्राथमिकता दिने बताए।