भागरथी हत्या प्रकरण: अनुसन्धान साघुरिँदै गएको प्रहरीको भनाइ
बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ। गत २२ माघमा बीभत्स र निर्वस्त्र अवस्थामा भागरथीको शव स्थानीय लवलेक जंगलमा फेला परेको थियो।
दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले हिजोअस्तिको भन्दा अनुसन्धान साघुरिँदै गएको र दोषी छिटै पत्ता लाग्ने बताए।
“घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौँ”, सुवेदीले भने, “विभिन्न कोणबाट अध्ययन-अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ।”
घटनाको अनुसन्धान सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक छन्। घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
भागरथीले प्रयोग गरेको मोबाइल लगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। उनले भने, “अनुसन्धान साघुरिँदै गएको छ, अपराधीलाई छिटै सार्वजनिक गर्छौं।”
घटना भएको १० दिन भइसक्दा जिल्ला अस्पतालबाट अझैसम्म भागरथीको शव उठाइएको छैन। उनका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन्।
यसैबीच, अस्पतालले शव सुरक्षित राख्न समस्या भएको जनाएको छ। अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए।
बलात्कारी तथा हत्यारा पत्ता नलागेको भन्दै बैतडीसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ।