स्रष्टाहरु रहेकै स्थानमा गएर मदन पुरस्कार र जगदम्बा-श्री सम्मान अर्पण
२०७६ सालको मदन पुरस्कार र जगदम्बा-श्री सम्मान शनिबार दुई छुट्टाछुट्टै कार्यक्रम गरी अर्पण गरिएको छ।
'महारानी' उपन्यासबाट मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँलाई पोखरामा र जगदम्बा-श्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटाललाई भारतको सिलिगुडीमा आयोजित समारोहमा सम्मान अर्पण गरिएको हो।
यसअघि कोभिड-१९ महामारीको प्रतिकूल अवस्थाका कारण गत २ कात्तिकमा अनलाइन माध्यमबाट पुरस्कार समारोह गरिएको थियो। जसमा इतिहासकार डा. शेखर पाठकले 'महाकाली किनाराको भूगोल, समुदाय र संस्कृति' विषयमा विद्वत् प्रवचन प्रस्तुत गरेका थिए।
सम्मानित व्यक्तिहरुलाई प्रत्यक्ष भेटेर सम्मान गर्न स्रष्टाहरु रहेकै स्थानमा शनिबार कार्यक्रम आयोजना गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।
वरिष्ठ सङ्गीतकार ठटाललाई सम्मान गर्न सिलिगुडीस्थित सिलिगुडी देवकोटा संघमा आयोजित समारोहमा साहित्यकार तथा सङ्गीतकार गणेश रसिकले विद्वत् प्रवचन दिएका थिए। समारोहमा मदन पुरस्कार गुठीका सदस्य कनकमणि दीक्षितले आगन्तुकहरूलाई स्वागत गरेका थिए भने देवकोटा संघका अध्यक्ष मिलन रूचाल, पत्रकार केदार शर्माले नेपाली गीत, सङ्गीत तथा सीमा वारपारको भाषिक तथा साहित्यिक सम्बन्धबारे बोलेका थिए। यस्तै, सम्मानित स्रष्टा ठटालले आफ्नो साङ्गीतिक यात्राबारे बताएकी थिइन्।
शनिबार नै पोखरामा आयोजित समारोहमा मदन पुरस्कार-२०७६ बाट सम्मानित बानियाँलाई मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान-पत्र अर्पण गरे। समारोहमा साहित्यकार तीर्थ श्रेष्ठको विद्वत् प्रवचन वाचन गरेर सुनाइएको थियो। अस्वस्थताका कारण समारोहमा उनी उपस्थित थिएनन्।