मिङमा शेर्पाः चकलेट मोहले बनाएको कीर्तिमानी केटु आरोही
हिउँदमा केटु हिमालको आरोहण गरेर कीर्तिमान कायम गर्ने नेपाली टोलीका सदस्य मिङमा जी शेर्पा भन्छन्, ‘‘को पहिले पुग्यो भन्ने विवाद होला भन्ने सोचेर राष्ट्रिय गीत गाउँदै सबै सँगसँगै चुचुरोमा चढ्यौँ।’’
केही असफलताले नै सफलताका लागि प्रेरित गरिराख्छन्। ३ माघमा केटु आराेहण गरेका मिङमा जी शेर्पा (३४)काे सफलतापछि पनि त्यस्तै एउटा असफलताकाे कथा छ।
उनले सन् २०२० को हिउँदमै संसारको दोस्रो ठूलो शिखर केटु हिमालको आरोहण गर्ने लक्ष्य राखेका थिए। त्यसका लागि उनी केटुको आधार शिविर पनि पुगेका थिए। मिङमा भन्छन्, ‘‘बिरामी परेर फर्किएँ।’’
८००० मिटर अग्ला धेरै हिमालको हिउँदे याममा आरोहण गरिएको भए पनि केटुको कसैले गर्न सकेका थिएनन्। त्यसैले, मिङमाको लक्ष्य हिउँदमा आरोहण गरेर कीर्तिमान बनाउने थियो। त्यसका लागि उनको ८ जनाको टोली केटुको आधार शिविर पुगेको थियो, सन् २००० जनवरीमै। उनीसँगै चार जना नेपाली तथा आइसल्यान्ड, चीन र सोल्भानियाका एक-एक जना थिए।
तर, सोचेजस्तो भएन। ६००० मिटर उचाइको आधारशिविरबाट उनको टोली अगाडि बढ्न सकेन। “म बिरामी परेँ। बिरामी भएर फर्केकाे भए पनि विदेशीले मेरो धेरै कुरा काटे,’’ त्यो यात्रा स्मरण गर्दै मिङमा भन्छन्.
उनलाई त्यसले पिरोलिरहेको थियो। देशको नाम राख्ने लक्ष्य त थियो नै। ‘‘यस वर्ष जसरी पनि हिउँदमा आरोहण गर्नुपर्छ भन्ने लागेको थियो,” उनी आफ्नो अठोट सुनाउँछन्।
हिउँदमा केटु हिमाल आरोहण गर्न त्यति सजिलो पनि थिएन। यसअघि ४५ वटा टोलीले प्रयास गरिसकेका थिए। “हिउँदमा केटु आरोहण गर्न एकदमै गाह्रो हुन्छ। धेरै चिसो हुन्छ, तापक्रम माइनस ५० डिग्री सेल्सियस हुन्छ,” मिङमा भन्छन् “हरियाली देख्न पनि पाइँदैन। आधार शिविरबाट रुखविरुवा भएको ठाउँसम्म पुग्न नै चार दिन हिंँड्नुपर्छ।”
कतार हुँदै पाकिस्तानको यात्रा
२१ मंसिर दिउसो किलुपेम्बा शेर्पा र दाबा तेन्जिङ शेर्पासहित मिङमा काठमाडौंबाट पाकिस्तानका लागि उडे। कतार एयरवेजबाट कतार हुँदै २२ मंसीर राति इस्लामाबाद अवतरण गरे। त्यहाँ प्रक्रिया पूरा गर्न दुई दिन लाग्यो।
त्यसपछि इस्लमाबादबाट स्कार्दु उडे। स्कार्दुमा पाकिस्तानी सेनासँग अनुमित लिनुपर्थ्याे। अनुमति पाउन फेरि दुई दिन लाग्यो। अनि अस्कली हुँदै आधार शिविरतिर लागे। ‘‘६ दिन हिँडेपछि बेसक्याम्प पुग्यौँ,’’ उनी सुनाउँछन्।
उनको टोलीले दुई दिन आधार शिविरमा आराम गर्यो। त्यसपछि दोस्रो र तेस्रो क्याम्प बनाउनतिर लागे। पाँच दिनमै केटुकाे ७३६५ मिटरमा तेस्रो क्याम्प बनाउन सफल भएको उनी बताउँछन्।
७००० मिटर उचाइ टेकेपछि उनीहरुले अर्को नेपाली आरोही टोली भेटे। जसको नेतृत्व निर्मल पूर्जाले गरिरहेका थिए। “हामी नेपालबाट सल्लाह गरेर गएका थिएनौँ। त्यहीँ पुगेपछि भेटेका हौँ,” मिङमा भन्छन्, “एक-आपसमा सल्लाह गर्यौँ। सबैको उद्देश्य देशको नाम राख्ने नै थियो। अनि दुवै टोलीले सँगसँगै आरोहण गर्ने सहमति गर्यौँ।”
३ माघ, २०७७ राति मिङमासहित १० जना नेपाली आरोही केटुकाे तेस्रो क्याम्पमा थिए। जुन ७३६५ मिटर उचाइ हो। त्यहाँबाट केटुको चुचुरोमा पुग्न १२४६ मिटर बाँकी थियो। “एक पाइला सार्न नै तीन-चार मिनेट लाग्थ्यो,” मिङमा त्यो रात सम्झिन्छन्, “सगरमाथा आरोहण गर्नुभन्दा गाह्रो। सगरमाथा चढ्दा त नजिकै हरियाली देख्न पाइन्छ। सकिएन भने पनि डेढ-दुई घण्टा तल झर्न सकिन्छ। केटुमा त त्यो सम्भावना नै छैन। त्यस्ता कुराले पनि आरोहणमा धेरै फरक पार्दोरहेछ।”
एउटै देशबाट गएका भएपनि कसले पहिले केटुकाे टुप्पोमा पाइला राख्यो भन्ने विवाद हुनसक्थ्यो। त्यसैले सबैले सँगसँगै केटु चढ्ने सहमित गरेको उनी बताउँछन्। ‘‘सबैले एकैपटक पाइला राख्ने सहमति अनुसार, नेपालको राष्ट्रिय गीत गाउँदै केटुको चुचुरोमा चढ्यौँ,’’ मिङमा भन्छन्।
तेस्रो प्रयासमा सफलता
मिङमाको जन्म दोलखाको गौरीशंकरस्थित रोल्वालिङ गाउँमा भएको हो। उनी जन्मेको ठाउँ ४२०० मिटरको उचाइमा पर्छ। गाईगोरु चराउन ५३०० मिटरको उचाइसम्म पुग्थे।
उनका गाउँले भरियाका रुपमा हिमाल आरोहणमा जान्थे। उनीहरुले आरोहणका कथा सुनाउदा मिङमा लोभिन्थे । “बाबु-काकाहरुले चक्लेट ल्याएर दिनुहुन्थ्यो। केटाकेटी बुद्धि राम्रा–राम्रा चक्लेट खान पाएपछि म पनि भोलि भरिया नै बन्नुपर्छ भन्ने सोच्थेँ,” बाल्यकाल सम्झदै उनी भन्छन्।
“आराेहण गर्दा धेरै त ड्राई फुड नै खान्छौँ। सकेसम्म पकाउन सजिलो होस भनेर ,’’ मिङमा हाँस्दै भन्छन्, “केटु आरोहण गर्दा भने ढिँडो पकाएर खायौँ।”
२०६२ मा एसएलसी दिएपछि फुर्सदमा थिए उनी। मामासँग ‘म पनि तपाईंसँगै हिमाल चढ्न चान्छु’ भने। मामाले पनि ‘लौ हिड’ भनिहाले। त्यो मनास्लुको यात्रा थियो, जापानी टोलीको। “आधारशिविरसम्म त बहुतै आनन्द भयो। मज्जाले खान पाइने, रमाउन पाइने,” पहिलो हिमाल आरोहणको अनुभव सुनाउँदै उनी भन्छन्।
६४०० मिटरको उचाइँमा पुगेपछि माथि नजाने निधो गरेर आरोहण टोली फर्कियो। र उनले पनि मनास्लु चढ्न पाएनन्।
त्यसपछि उनी ल्होत्सेको आरोहणमा गए। ल्होत्सेको उचाइ ८५१६ मिटर हो। तर, त्यतिवेला माैसम बिग्रियाे र ८३०० मिटरबाटै आराेहण दल फर्कियाे। यसपटक पनि उनकाे चुचुराेमा पुग्ने चाहना पूरा हुन सकेन।
२०६५ मा फ्रान्सको टोलीसँगै सगरमाथाको आरोहणमा जाने अवसर मिल्यो। र, त्यहि अवसर पछ्याउँदै पहिलो पटकमै सगरमाथाको चुचुरोमा पुगे। त्यसयता पाँच पटक सगरमाथाको आरोहण गरिसकेका उनलाई केटु आरोहण गर्न भने सजिलो भएन।
हिउँदमा केटु आरोहणका लागि उनले तीन पटक प्रयास गरे। २०७५ को हिउँदमा केटु आरोहणका लागि गएका थिए। त्यतिवेला तीन महीना बसेर ६४०० मिटरको दोस्रो क्याम्पबाट फर्किएको उनले बताए। दोस्रो पटक गत वर्षको हिउँदमा त बिरामी हुँदा आधार शिविरबाटै फर्किनुपर्याे।
यसपटक तेस्रो क्याम्पबाट १५ घन्टा हिँडेपछि ३ माघको साँझ ५ बजे केटुको चुचुरोमा पुगे उनी। केटुकाे चुचुराेमा टेकेपछि क्षण सम्झिँदै मिङमा भन्छन्, “फोटो खिच्यौं, सबै साथीहरुले खुशी साटासाट गर्यौं। ८–१० मिनेटपछि नै साथीहरु फर्कन थाले। अन्त्यमा त म एक्लै परेछु।”
भविष्यको चिन्ता
हिमाल आरोहण जोखिम सँगैसँगै रमाइलो पनि हुन्छ। अप्ठ्यारोमा पनि आरोहीहरु रमाउने गर्छन्। केटु आरोहणका क्रममा त नेपाली आरोहीले राष्ट्रय गीत गाउँदै रमाउँदै चुचुरोमा पाइला टेके।
‘‘अहिले त उमेर छ, बलियो छु, आरोहणका लागि सबैले बोलाइरहेका छन्। ५० वर्षको उमेरपछि त मलाई कसैले लिँदैन। त्यसपछि मैले के गर्ने?”
अर्को, आरोहणका क्रममा खानाको समस्या हुन्छ। खाने, पिउने, पकाउने ग्यास सिलिन्डर सबै बोकेर लैजानुपर्छ। “धेरै त ड्राई फुड नै खान्छौँ। सकेसम्म पकाउन सजिलो होस भन्ने कुरा हेर्छौँ,’’ उनी भन्छन्। चिसोमा खाना पकाउन समस्या हुन्छ, पानी तात्नै समय लाग्छ। त्यसमा पनि आरोहीहरु आनन्द लिन खोज्छन्। “केटु आरोहण गर्दा ढिँडो पकाएर खायौं,” मिङमा हाँस्दै भन्छन्।
खानाको प्रसंग आउँदा उनले अर्को विषय सम्झिए, भविष्य। ‘‘पर्वतारोहण अहिले त रमाइलो छ, तर सामाजिक सुरक्षा छैन,’’ उनी निराश हुँदै भन्छन्।
मिङमा अहिलेकाे व्यस्ततासँग जोडेर भविष्यको आकलन गर्छन्। उनलाई नेपालका मात्रै होइन, संसारकै हिमाल चढ्ने अनुमति छ। हिमाल चढेकैले ४० भन्दा बढी देश घुमिसकेका छन्। आजै पनि उनीसँग एक वर्षसम्मको व्यस्त तालिका छ।
मार्चमा अन्नपूर्ण, अप्रिल-मेमा सगरमाथा र लोत्से आरोहणको कार्यक्रम छ। जुनमा पाकिस्तानको केटु र अन्य हिमालको आरोहण गर्न जाँदै छन्। सेप्टेम्बरमा पाकिस्तानबाट फर्केपछि दुई दिन मात्रै काठमाडौँ बसेर मनास्लु जाने कार्यक्रम तय भइसकेको छ।
यही व्यस्तताबीच पनि कहिलेकाहीँ भविष्यको चिन्ताले सताउने गरेकाे उनी बताउँछन्। राज्यले आरोहीका लागि केही नसोच्दा भविष्य धुमिल रहेको उनकाे भनाइ छ। यति व्यस्त र हाइहाइ पाइरहेका आराेही मिङ्मा आफैँलाई प्रश्न गर्छन्, ‘‘अहिले त उमेर छ, बलियो छु, आरोहणका लागि सबैले बोलाइरहेका छन्। ५० वर्षको उमेरपछि त मलाई कसैले लिँदैन। त्यसपछि मैले के गर्ने?”