नेपाली संगीतको स्वर्णकाल: कति भ्रम ? कति यथार्थ ?
सिर्जना, साधना र योगदानका आधारमा एउटा समय वा कालखण्डलाई स्वर्णकाल वा विशिष्ट काल भनेर त्यसमै अडिनुभन्दा हरेक युग, समय र पुस्ताको कालजयी सिर्जनालाई ‘स्वर्ण सिर्जना’ भनेर चिन्नु-चिनाउनु उचित हुन्छ।
यतिबेला ५० वर्ष पुरानो त्यो क्षण सम्झिरहेको छु, जहाँ पहिलो पटक दार्जीलिङे ठिहीमा हाम्रो ‘लेकाली समूह’ दार्जीलिङको कागझोडा रेल्वे स्टेशनको होटलमा बास बस्न पुगेको थियो। दार्जीलिङ पुग्नुको एउटै उद्देश्य त्यहाँको लोभलाग्दो नेपाली सङ्गीतका भलाद्मी श्रोतामाझ लेकाली गीतको स्वाद पस्किनु थियो। कार्यक्रम गर्ने निधो त भयो, तर हामीसँग हार्मोनियम थिएन।
नेपाली सङ्गीतका अग्रज दाजु अम्बर गुरूङ त्यस ताका त्यहीँ हुनुहुन्थ्यो भन्ने थाहा भयो। हामी लेकाली त्यहीँ पुग्यौँ। तर, उहाँले आफ्नो हार्मोनियम दिन नसक्ने बताउनुहुँदा हामी निकै मर्माहत भयौँ। किनभने केही दिन अगाडि काठमाडौँमा भएको 'अम्बर गुरूङ नाइट'मा लेकालीले आफ्नो स्तरबाट सक्दो सहयोग गरेको थियो।
राजनीतिक भूगोलका आधारमा भिन्न मुलुक र अलग कालखण्ड भए पनि सिर्जना तथा साधनाका आधारमा युगीन मानिने साधक पुस्तासँग जोडिएर हुर्किनुभएकी शान्ति ठटालले परम्पराको सनातनी मार्गभन्दा भिन्न लयमा जे-जसरी आफ्नै मार्ग उभ्याउनुभयो, त्यो स्तुत्य र अनुकरणीय छ।
निराश भइरहेको अवस्थामा हामीलाई दार्जीलिङकै युवा सङ्गीतकार मणिकमल क्षेत्रीले डोर्याउँदै दार्जीलिङकै म्युनिसिपल्टी बिल्डिङमा बस्ने गायिका दिदी शान्ति ठटालकहाँ पुर्याउनुभयो। नेपालबाट आएका लेकाली समूहका हामी भाइबहिनीलाई देखेर शान्ति दिदी अत्यन्तै खुशी हुनुभयो। उहाँले आफ्नो हार्मोनियम दिएर हामीलाई ठूलो गुन लगाउनुभयो। २०२७ सालको दशैँ-तिहार बीचको त्यो क्षण आज म झलझली सम्झिरहेको छु, जुन बेला ‘सम्हालेर राख सँगालेर राख’ गीतबाट शान्ति दिदी नेपाली श्रोतामाझ छाइसक्नुभएको थियो।
विद्वत् सभाको गरिमालाई सायद शोभा नदिने नितान्त मेरो व्यक्तिगत गन्थनबाट भनाइ शुरू गर्नुपर्दा कताकता असहज अनुभूति भएको छ। यसमा केही तलमाथि परे मेरो व्यक्तिगत अज्ञानता र कमजोरी सम्झी क्षमा गर्नुहुनेछ भन्ने विश्वास छ।
राजनीतिक भूगोलका आधारमा भिन्न मुलुक र अलग कालखण्ड भए पनि सिर्जना तथा साधनाका आधारमा युगीन मानिने साधक पुस्तासँग जोडिएर हुर्किनुभएकी शान्ति ठटालले परम्पराको सनातनी मार्गभन्दा भिन्न लयमा जे-जसरी आफ्नै मार्ग उभ्याउनुभयो, त्यो स्तुत्य र अनुकरणीय छ। सङ्गीतमा गहिराइको अध्ययनसँगै निरन्तरको साधनाका कारण नेपाली सुगम गीत-सङ्गीत विधामा अग्रणी नाम बनाउन सफल ठटालले २०७६ सालको जगदम्बा-श्री सम्मान पाएको यो क्षण नेपाली गीत-सङ्गीत जगत्को सूचना राख्ने सबैका लागि सहस्र खुशीको क्षण बनेको छ।
यही खुशी बाँड्ने क्रममा आज म थप केही निवेदन गर्न गइरहेको छु। नेपाली भाषा-साहित्यमा प्रत्येक वर्ष प्रकाशित भएका उत्कृष्ट एक कृतिलाई प्रदान गरिने मदन पुरस्कार, जसलाई नेपाली नोबेल पुरस्कारको रूपमा लिने गरिन्छ। यही पुरस्कारसँगै जगदम्बा-श्री सम्मान गाँसिएको छ। यसो हुनुमा मदन शमशेरकी धर्मपत्नी हुनुहुन्थ्यो रानी जगदम्बा। जो जन्मको आधारमा नेपाली नभई कर्मको आधारमा नेपाली हुनुहुन्थ्यो, उहाँले आफ्नो जीवनकालमा नेपाली भाषा, साहित्य, स्वास्थ्य, यातायातको विकास र प्रगतिका लागि आफ्नो जायजेथा सुम्पनुभएको इतिहास आज पनि हामी टड्कारो रूपमा देख्न सक्छौँ।
यसै मेसोमा आफ्नो अनुभव पनि यस विद्वत् सभामा पस्कने धृष्टता गर्दछु। सम्वत् ५२/५३ मा साझा प्रकाशनमा सेवा गर्ने अवसर मलाई जुरेको थियो। साझा प्रकाशनको जग र जेजति पनि भौतिक संरचना बनेका थिए, त्यसका जग्गादाता रानी जगदम्बा हुनुहुन्थ्यो भन्ने थाहा पाउँदा उहाँप्रति श्रद्धाले मेरो शिर निहुरिएको थियो। मैले तत्कालै रानी जगदम्बाको कलात्मक मुहारचित्र प्रसिद्ध चित्रकार टेकवीर मुखियाको अमर कृतिका रूपमा प्रकाशनको कार्यालयमा ससम्मान सजाएको थिएँ।
मलाई लाग्छ, इतिहास र योगदानलाई जाति, समुदाय, वर्ग, लिङ्ग वा संस्कृतिको सङ्कुचित घेरामा बाँध्नु हुँदैन। यस्ता सुकर्म र परोपकारकारीको सम्मान स्वरूप मदन पुरस्कार गुठीका संस्थापक एवं अध्यक्ष कमलमणि दीक्षितकै सोच र परिकल्पनामा आ-आफ्नै क्षेत्रमा विशिष्टता हासिल गर्ने साधकहरूको योगदानको सम्मान गर्न मदन पुरस्कारकै हाराहारीमा यो जगदम्बा-श्री उत्कृष्ट दीर्घ सेवा सम्मान स्थापना गरिएको हो। जुन सम्मान समारोहमा आज हामी फड्के किनाराका साक्षी भएर बसेका छौँ। जगदम्बा-श्रीबाट सम्मानित हुनुहुने अग्रज शान्ति ठटालकै वरिपरिको परिधिभित्र रहेर नेपाली सङ्गीतबारे आफ्ना विचारहरू निवेदन गर्न लागिरहेको छु।
'स्वर्णकाल' होइन, सिर्जनशील युग
कतिपयले सङ्गीतको स्वर्णकाल, भाषा-साहित्यको स्वर्णकाल भनेर अलग कित्तामा राखेर सिर्जनाको वर्गीकरण गर्ने गरेको मैले पाएको छु। मलाई पनि विगतमा केही समय यही भ्रम थियो। तर, समय, अनुभव र अध्ययनसँगै यो भ्रम हटेको छ। आज यसलाई वर्गीकरण भन्नुको साटो म विभेदीकरण भन्न रूचाउँछु।
पक्कै पनि नेपाली गीत-सङ्गीतको सिर्जनापथमा सन् ६० को दशकमा उदाएका सेतुराम वा त्यसपछिका मित्रसेन र मेलवादेवीहरूले खनेको त्यो गोरेटोको इतिहास स्मरण नगरी आजको यो विन्दुमा आइपुग्ने काम दुरूह हुन जान्छ। भाषा, साहित्य, सङ्गीत र सभ्यता जस्ता कुरा आफ्नो जातीय अस्तित्व र पहिचानसँग जोडिएका कुरा हुन्। साथै, यो भूगोलसँग गाँसिएका जडवत् विषय पनि हुन्।
कतिपयले सङ्गीतको स्वर्णकाल, भाषा-साहित्यको स्वर्णकाल भनेर अलग कित्तामा राखेर सिर्जनाको वर्गीकरण गर्ने गरेको मैले पाएको छु। मलाई पनि विगतमा केही समय यही भ्रम थियो। तर, समय, अनुभव र अध्ययनसँगै यो भ्रम हटेको छ। आज यसलाई वर्गीकरण भन्नुको साटो म विभेदीकरण भन्न रूचाउँछु।
उदाहरणमा भन्नुपर्दा भारत, दार्जीलिङमा गीत-सङ्गीतका माध्यमबाट अगमसिंह गिरी र अम्बर गुरूङले जुन माटोमा उभिएर जस्तो जागरण/चेतनाका कुरा गरेका छन्, नेपालमा पनि त्यस्तै फरक चेतनाका धुनहरू नगुञ्जिएका होइनन्। तर, सिर्जना, साधना र योगदानका आधारमा एउटा समय वा कालखण्डलाई स्वर्णकाल वा विशिष्ट काल भनेर त्यसमै तर्कशील बनिरहनुभन्दा हरेक युग, समय र पुस्ताको कालजयी सिर्जनालाई ‘स्वर्ण सिर्जना’ भनेर चिन्ने-चिनाउने पक्षमा म उभिएको छु।
नेपालको हकमा २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि देश-विदेशका श्रोतागणले नेपाली गीत-सङ्गीत र गायनको जुन अपनत्वले भरिएको सिर्जना सुन्न र मनन गर्न पाए। त्यो हरेक क्षण तत्-तत् कालखण्ड तथा पुस्ताका लागि आफ्नै स्वर्णकाल थियो भन्ने मेरो बुझाइ छ।
सिर्जनाका हरेक कुरामा पक्कै पनि विषयगत गहिराइ र साधनाको मापदण्ड त देखिन्छ नै। हो, त्यही बेला शान्ति ठटालहरूको फरक तहको साधना र सिर्जना आफैँ स्पष्ट बनेर हाम्रा सामु देखापर्छ। यसमा यो वर्ग र यो स्तर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन। स्वयम् ठटालले नेपाल तथा भारतमा रहेका नेपाली सङ्गीत-सर्जक तथा साधकले गरेको सिर्जनाका आधारमा सन् ६० को दशकलाई स्वर्णिम युग भन्नुभएको मैले कतै पढेको छु। यस भनाइलाई मैले उहाँका बारेमा लेख्दा पनि उद्धृत गरेको छु।
स्वभावत: नेपालमा नातिकाजी, शिवशंकर, तारादेवी र अझ पछि नारायण गोपाल, बच्चुकैलाश, प्रेमध्वज प्रधान, पुष्प नेपाली आदि सिर्जनशील स्रष्टाको युगलाई स्वर्णकाल भनिएको हुनुपर्छ। एकैसाथ भारतको दार्जीलिङमा रहेका हिराकुमार सिंह, नवीन बर्देवा, अम्बर गुरूङ, शरण–रञ्जित, कर्म-गोपाल योञ्जन, जितेन्द्र बर्देवा, अरूणा लामा आदिले सन् ६० को दशकमा जन्माएको धुन र ल्याएको रौनक यही ‘स्वर्णकालको विम्ब’ थियो कि ?
नि:सन्देह रेडियो, टेलिभिजनको वर्चस्व नभैसकेको र टोले, डबली, बैठकी र कोठे सङ्गीत-माहोलमा सिर्जनाको उन्नयन हुने समयमा सन् ६० को दशक एकाएक देखिएको सिर्जनशील तथा परिवर्तनशील युग थियो। कहीँकतै तुलना गर्नै नपर्ने त्यही कालखण्डलाई हामीले स्वर्णकाल मानेका मात्रै हौँ। तर, प्रयोग, शैली र शिल्पका हिसाबमा हरेक युग अथवा हरेक पुस्तामा यस्ता स्वर्णकाल उनिएरै आएका हुन्छन् भन्ने मेरो विश्वास छ, मान्यता छ।
यसो भन्दैमा अहिलेसम्म मानिँदै आएको गीत-सङ्गीत र सिर्जनाको स्वर्णकाल ‘केही थिएन’ भन्ने ढीठ तर्कका पछि म छैन। बरू त्यो युग हामी सबैका लागि प्रेरणादायी र अध्ययन, मनन गर्न मिल्ने अग्रजहरूको महत्वपूर्ण योगदानले भरिएको समय हो, आज त्यही गुनको तिरो तिर्ने अवसर हामीलाई जुरेको छ- अग्रज सङ्गीतज्ञ शान्ति ठटाललाई यो जगदम्बा-श्री सम्मान गर्न पाएर।
सिर्जना आफैँमा अतुलनीय विषय हो। २०४५ सालमा पहिलो पटक जगदम्बा-श्री सम्मान पाउने अग्रज गायक नारायणगोपाल अथवा पछि लोकसङ्गीतका विधामा जगदम्बा-श्री सम्मानबाट सम्मानित हुने अलि मियाँ, नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउन भूमिका निर्वाह गर्ने सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी,आसामका अग्रज साहित्यकार हरिप्रसाद गोर्खा राई, 'बसाइँ' उपन्यासका लीलबहादुर क्षेत्री, तेस्रो आयामदेखि लीलालेखनका प्रवर्तक इन्द्रबहादुर राई, अग्रज सङ्गीतकार अम्बर गुरूङदेखि नेपाली हास्य अभिनयमा नयाँ दिशानिर्देश गर्ने महजोडी लगायत झण्डै तीन दर्जन व्यक्तित्व सबै आ-आफ्ना विधा, समय र साधनामा उत्तिकै अब्बल हुनुहुन्थ्यो। यो सम्मान तुलनाको विषय हुनै सक्दैन।
शान्ति ठटालज्यूको योगदान र साधनाको मूल्याङ्कन गर्दा कालखण्डका आधारमा सङ्गीतज्ञ अम्बर गुरूङको ‘लिगेसी’ मा जोडिँदै आए पनि उहाँको आफ्नै विशिष्ट पहिचान र साङ्गीतिक विशिष्टतालाई कहीँकतै तुलना गर्नै सकिँदैन, मिल्दैन पनि। ठटालज्यू सम्मानित भैरहेका बेला सङ्गीत साधनाको उहाँको ६० वर्षभन्दा लामो योगदानको उचित कदर र मूल्याङ्कन मदन पुरस्कार गुठीले गर्न सकेको छ भन्ने अनुभूति मलाई भैरहेको छ।
स्वभावत: नेपालमा नातिकाजी, शिवशंकर, तारादेवी र अझ पछि नारायण गोपाल, बच्चुकैलाश, प्रेमध्वज प्रधान, पुष्प नेपाली आदि सिर्जनशील स्रष्टाको युगलाई स्वर्णकाल भनिएको हुनुपर्छ। एकैसाथ भारतको दार्जीलिङमा रहेका हिराकुमार सिंह, नवीन बर्देवा, अम्बर गुरूङ, शरण–रञ्जित, कर्म-गोपाल योञ्जन, जितेन्द्र बर्देवा, अरूणा लामा आदिले सन् ६० को दशकमा जन्माएको धुन र ल्याएको रौनक यही ‘स्वर्णकालको विम्ब’ थियो कि ?
दार्जीलिङको परम्पराजन्य पारिवारिक पृष्ठभूमिबाट शुरू भएको साङ्गीतिक सङ्घर्ष र साधनाको ऐतिहासिक गोरेटोमा शान्ति ठटालको नाम-काम यसरी जोडिएर आएको छ, शास्त्रीयदेखि रवीन्द्र सङ्गीत, सुगम सङ्गीतदेखि पछिल्लो क्यान्टाटासम्मका प्रयोगपरक सिर्जनामा उहाँ चिनिनुभएको छ। सङ्गीतज्ञ अम्बर गुरूङसँग जोडिएको साङ्गीतिक सिर्जनामा शुरूमा स्वर मार्फत चिनिनुभएकी ठटाल पछि ‘परालको आगो’, ‘बाँच्न चाहनेहरू’ जस्ता नेपाली चलचित्र मार्फत प्रथम नेपाली महिला चलचित्र सङ्गीतकारको पगरीलाई शिरमा पहिराउने गौरव प्राप्त गर्नुभएको छ।
यी चलचित्र मार्फत उहाँले जेजसरी चल्दै आएको परम्परितभन्दा अलग धुन बाहिर ल्याउनुभयो, त्यसलाई कुनै समय वा कालखण्डको वर्गघेरामा राखेर उल्लेख गरिरहनुभन्दा सिर्जनशीलताको फरकपनका लागि ती काम इतिहासमै उल्लेख्य थिए। आजपर्यन्त ‘उडी जाऊँ भने म पंक्षी होइन’को उपनाममा ठटालको यश फैलिरहेकै छ।
यदाकदा सिर्जनाका कुरामा भूगोल र राजनीतिक घेराबन्दीका अनेक सन्दर्भ जोडेर कित्ताकाट गर्ने काम हुँदै आए पनि नेपाली भाषा–साहित्यमा सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) र सङ्गीत सिर्जनाका जगत्मा शान्ति ठटालको नाम यता वा उताको विभक्ति नजोडीकनै चिन्ने गरिएको छ। मेरो यो बुझाइ सबैका लागि स्वीकार्य हुन्छ भनेर ठोकुवा गरेरै म भन्न चाहन्नँ, तर कम्तीमा मेरा हकमा यी नामहरू साझा नेपालीको अर्थमा मान्य छन्, उत्तिकै प्रिय पनि छन्।
रवीन्द्र भारतीय सङ्गीतको अध्ययन र त्यही प्रभावको अभ्यास रहेर पनि गीत-सङ्गीतको सिर्जनात्मक जगत्मा ठेट नेपालीपन तथा कतिपय प्रयोगमा रैथाने लोकलयको झलक दिन सक्नु शान्ति ठटालको अर्को विशेषता हो। ‘नेपाल मेरो सम्झने पितृथलो, दार्जीलिङ म जन्मेको म बाँच्ने थलो' भनेर अपनत्व र आत्मीयतामा आफ्नो थातथलो सम्झिरहने शान्ति ठटालका २०० भन्दा बढी गीत-सङ्गीतले सही अर्थमा नेपाल-भारतबीचको युगौँदेखि जोडिएर रहेको गहनतम साङ्गीतिक-सांस्कृतिक र सभ्यतागत साइनोलाई पनि एउटै सूत्रमा बुनेको छ।
हुन त बहसमा उत्रन र वादविवादमा रमाउन चाहने एउटा वर्गले सधैँ ब्युँताउने गरेको विषय हो- जीवनका लागि सङ्गीत कि सङ्गीतका लागि जीवन ? सङ्गीत कर्म र निरन्तरको साधनाका क्रममा शान्ति ठटालले आफ्नो सम्पूर्ण जीवन साधना र सिर्जनामै बिताउनुभएको छ।आठ दशक पार गरेको यो उमेरमा पनि उहाँको सिर्जनशीलता र सक्रियता स्तुत्य छ। सङ्गीतको रागरागिनी र आरोह अवरोहमा हराएरै जीवनसाथी पहिल्याउन समेत भुल्नुभएकी उहाँका हकमा ‘जीवनका लागि सङ्गीत’ बढी श्रेयस्कर पगरी उपयुक्त हुन्छ कि जस्तो लाग्छ।
आफ्नो जीवनकालमै सङ्गीत–साधना र सिर्जनामा किंवदन्ती झैँ बन्नुभएकी शान्ति ठटाल यो कोरोना कहरबीच यस विद्वत् वर्गलाई साक्षी राखेर मैले आफ्नो सीमित अध्ययन र अनुभवका आधारमा उहाँको समय, कालको वरिपरि नै रहेर आफ्ना भनाइ उद्धृत गरेको छु। केही तल-माथि भए क्षमा गर्नुहुनेछ।
(मदन पुरस्कार गुठीले गत ४ असोजमा २०७६ सालको मदन पुरस्कार 'महारानी' उपन्यासका लागि चन्द्रप्रकाश बानियाँ र जगदम्बा-श्री सम्मान संगीतकार /गायिका शान्ति ठटाललाई अर्पण गर्ने घोषणा गरेको थियो। कोभिड–१९ को असहज अवस्थाका कारण भर्चुअल रुपमै पुरस्कार घोषणा कार्यक्रम गरिएपछि पुरस्कार वितरण भने हुन सकेको थिएन । गुठीले १ फागुन, शनिबार भारतको सिलीगुडीमा एक कार्यक्रमको आयोजना गरी जगदम्बा–श्री पुरस्कार विजेता ठटाललाई सम्मानित गर्यो। कार्यक्रममा गायक/संगीतकार गणेश रसिकले व्यक्त गर्नुभएको विद्वत् प्रवचनको सम्पादित अंश।)