माओवादी हिंसामा देशले गुमाएका होनहारहरू
माओवादीको १० वर्षे हिंसा–प्रतिहिंसामा परेर ज्यान गुमाउने नेपालीको सङ्ख्या १५ हजार हाराहारीमा पुगेको अनुमान छ । अभिलेख पद्धतिको अभावमा यो सङ्ख्या यकिन गर्न त्यति सजिलो छैन।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार १ फागुन २०५२ देखि २८ माघ २०६२ सम्म राज्य र विद्रोही पक्षबाट मारिनेको सङ्ख्या १३ हजार ३५ छ। यो सङ्ख्याभित्र अधिकांश ‘केही गरौँ’ भन्ने उमेरका युवा नागरिक मारिएका छन् । अर्थात् केही गर्न सक्ने क्षमता भएकाले आफू जस्तैलाई मारेर ‘युद्ध’ गरिरहेका छन् ।
जनयुद्ध भनिएको यो हिंसात्मक कारबाहीको पीडा र वेदना थाहा पाउन पत्रपत्रिकामा छापिएका तस्वीर नियालेर हेरे पुग्छ । पढाउँदै गरेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी र मर्निङवाकमा हिँडेका सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए।
लडाइँतिर आँखा नलगाएकाहरू पनि बचेनन् । सिन्धुपाल्चोकमा ‘रिसोर्ट’ खोलेर बसेका मोहनसिंह खत्री, पुराण भनेर स्कूल/कलेज अस्पतालका लागि आर्थिक जोहो गरेर स्यावासी कमाएका पं. नारायणप्रसाद पोखरेल मात्रै होइन रामेछापको ग्रामीण वस्तीमा झेलामा औषधि बोकेर उपचार सिकाउँदै हिँड्ने रेलिमाया तामाङलाई पनि गोली दागियो ।
९ कक्षामा पढ्ने सिन्धुपाल्चोककी मैना सुनुवारको दोष के थियो र ज्यानै लिनुपर्थ्यो ? तीन दशकदेखि निरन्तर अध्यापनरत खोटाङको चिसापानी माविका प्रधानाध्यापक हर्कबहादुर राईले ‘जान्ने भएर विद्यालय चलाए’ र मारिए । कृष्ण सेन इच्छुकले बन्दुक बोकेका थिएनन् र विस्थापित गणेश चिलुवालसँग आवाज बाहेक केही थिएन । तर, दुवै पक्षका बन्दुकेहरू विचारसँग डराए, इच्छुक र चिलुवाललाई बाँच्न दिइएन।
आफ्नै क्षमताले माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्यसम्म भएका गोर्खाका सुरेश वाग्ले, रुकुम कांग्रेस सभापति हरिभक्त ओली, माओवादी छाडेर एमाले प्रवेश गरेका यदु गौतम आ–आफ्नो ठाउँमा राम्रो प्रभाव भएका राजनीतिक कार्यकर्ता थिए । चौधरी समुदायबाट सांसदसम्म भएका कैलालीका चक्र डगौराको हत्याले एउटा समुदायको आवाज कमजोर बनाइदिएको छ । यस तहका राजनीतिक कार्यकर्ता उत्पादन गर्न देशले आर्थिक बाहेक केही दशक समय पनि खर्चिनुपर्छ।
८ मङ्सीर २०५८ माओवादीको दाङ हमलामा मारिएका मेजर नरेश उप्रेती र जाजरकोटको पाँचकटियामा मारिएका प्रहरी निरीक्षक नवराज पौडेलको सपना चुँडियो । रुम्जाटार भिडन्तमा मारिएका क्याप्टेन दिनेश थापा, काठमाडौँमा मारिएका महासेनानी किरण बस्नेत र माओवादी एम्बुसमा मारिएका सहायक रथी सागर पाण्डेलाई त्यो ओहोदामा पुर्याउन देशले धेरै नागरिकसँग कर असुलेको छ।
एमाले छाडेर माओवादीमा लागेका हँसिला नुवाकोटे युवा भरत ढुङ्गाना राजनीतिक मानिस थिए, लखेटी लखेटी गोली हानियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दामोदर पन्त, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बुद्धिसागर त्रिपाठी, पश्चिमाञ्चल क्षेत्रीय सहपरीक्षा नियन्त्रक इन्द्रबहादुर आचार्य– मारिनै हुन्नथ्यो ।
यतिसम्म कि जिल्ला अनुगमन समितिमा बसेको अपराधमा चलचित्र निर्माता भगवानदास श्रेष्ठलाई पनि सिध्याइयो । वीरगञ्जको मनोनीत नगरप्रमुख भएकै कारण पत्रकार गोपाल गिरी मारिए । आफ्नै श्रीमतीका अगाडि सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्काको घाँटी सेरियो । बिचरा झपाकी रमा अधिकारीले आफ्नो गल्ती थाहै पाएकी थिइनन्, सेनाले उनको प्राण लियो।
करीब १५ हजारको ज्यान लिने १० वर्षको हत्या हिंसाको विवरण जति लामो बनाए पनि हुन्छ । यी केही नमूना मात्रै हुन् । सिङ्गो देश रगताम्मे बनेको यो दशकमा मुलुकले हजारौँ होनहार गुमाएको छ । हुन पनि यस्तो भिडन्तमा मर्ने र मारिने भनेका सामान्य नागरिक नभएर केही जान्नेबुझ्नेहरू नै हुन् । सामान्यतया जो सधैँ आफ्नो बारी खनेर बस्छ, त्यसले अरूलाई मार्न सक्दैन र आफू मर्न काल नै पर्खिनुपर्छ।
(हिमाल खबरपत्रिकाकाे १–१५ फागुन २०६२ काे अंकबाट साभार।)