नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय शृंखला स्थगित
विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने तय भएको त्रिदेशीय शृंखला स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि ओमानमा हुने तय भएको त्रिदेशीय शृंखला स्थगित भएको जनाएको छ। क्यानका महासचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको प्रभावका कारण प्रतियोगिता स्थगित भएको आईसीसीले जानकारी दिएको बताएका छन्।
क्यानले विज्ञप्तिमा भनेको छ, ‘बढ्दो कोभिड–१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदि कारणहरुले तय भएका सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ।’
नेपाल, ओमान र अमेरिकाबीचको खेल आगामी मार्च हुने तय भएको थियो। विश्वकप लिग–२ अन्तर्गत यो प्रतियोगिता हुन लागेको थियो।
त्यस्तै, विश्वकप लिग–२ अन्तर्गतकै अन्य प्रतियोगितामा पनि स्थगित गरिएका छन्। क्यानका अनुसार पपुवा न्युगिनी, ओमान र स्कटल्यान्ड तथा पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको प्रतियोगिता पनि स्थगित भएको छ।