नेपाल चिनाउने 'नेपाल विद्या'
बायोलोजी, जूलोजी, जियोलोजी, क्रिमिनोलोजी, क्लाइमेटोलोजी, साइकोलोजी, एन्थ्रोपोलोजी, आर्कियोलोजी, फोनोलोजी आदि भने जस्तै ‘नेपालोलोजी’ भन्न सकिने सोचसहित हालै एउटा पुस्तक प्रकाशित भएको छ– नेपाल विद्या: सिद्धान्त र प्रयोग। यसका लेखक हुन्– केदार वशिष्ठ।
इजिप्टोलोजी, सिनोलोजी, ओरिएन्टोलोजी, इन्डोलोजी, तिब्बेतोलोजी शब्दहरुको प्रयोग भइसकेको छ। यस अन्तर्गत सम्बन्धित विषय क्षेत्रमा केन्द्रीत रही अध्ययन गरिन्छ। यस सम्बन्धमा शुरुमै लेखक वशिष्ठले सैद्धान्तिक विवेचना गर्नुका साथै प्रयोगका रुपमा दुई वटा विषयवस्तुलाई अगाडि सारेका छन्। नेपालसम्बन्धी अनेकौँ विषयवस्तुलाई नेपाल विद्या वा ‘नेपालोलोजी’मा राख्न सकिन्छ।
सैद्धान्तिक खण्डमा नेपालसम्बन्धी अध्ययन कहिले र कहाँबाट भयो भन्ने सोधखोज गरिएको छ। जसले अध्येताहरुलाई ठूलै सघाउ पुर्याउने छ। यसरी नै प्रयोग खण्डमा ‘लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन’ र ‘सिला खोजेको भाषा’ भनेर नेपाल र नेपाली विषयवस्तुमाथि बृहत् छलफल गरिएको छ।
कपिलवस्तुमा राजनीतिक खिचातानी
‘नेपाल विद्या प्रयोग–१’ मा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन गरिएको छ। सामान्यतः लुम्बिनी भनेर गौतम बुद्ध (इ.पू. ५६३–४८३) को जन्मस्थल र गृहनगर भनेर कपिलवस्तुलाई चिनाउन सकिन्छ। यससम्बन्धी अध्ययनहरु ऐतिहासिक तथा पुरातात्विक हुन्। तर, यो ग्रन्थमा यसबारे हुँदै आएको राजनीतिलाई उधिनिएको छ।
बुद्धको गृहनगर वा प्राचीन शाक्य गणराज्य (कपिलवस्तु) को पहिचान लामो समयदेखि अध्ययनको विषय भएको छ। वर्षौंअघि नै प्रकाशमा आइसकेका तथ्यले पुरातात्विक विषयवस्तुमा कसरी प्रभाव पार्दै आइरहेको छ भन्ने बुझाउने प्रयास गरिएको छ।
भारतीय भूमिमा गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुको खोजी १८औँ र १९औँ शताब्दीमा ब्रिटिश अधिकारीहरुले व्यापक रुपमा अगाडि बढाए। यसै क्रममा बुद्धको जन्मस्थल लुम्बिनीको पनि खोजी भयो। धेरै खोजकर्ता लुम्बिनी भनेर अन्यत्रै अलमलिएको वेला सन् १८९५ मा पुरातत्वविद् ए. फुहररलाई नेपाल सरहदभित्रको निग्लिहवामा अशोक स्तम्भ र त्यसमा उत्कीर्ण अभिलेख प्राप्त भएको थियो।
चिनियाँ यात्रीहरुको वर्णन अनुसार यदि यो प्राचीन कपिलवस्तु (शाक्य गणराज्य) हो भने यसको पूर्व दिशामा लुम्बिनी हुनुपर्दछ भन्ने निर्क्यौल गरी उनी अर्को वर्ष त्यसको खोजीमा निस्केका थिए। लुम्बिनीमा उनलाई अशोक स्तम्भ मात्रै प्राप्त भएन, त्यसमा कुँदिएको अभिलेखमा लुम्बिनी शब्द नै पाए। लुम्बिनी भेटिएको समाचार विश्वभर फैलियो र अन्यत्रको खोजीले विश्राम लियो। त्यसपछि बुद्ध जन्मस्थल लुम्बिनीका सम्बन्धमा प्रश्न उठेको पाइँदैन। यो विश्व सम्पदा सूचीमा समेत सूचीकृत भइसकेको छ।
भारतीय भूमिमा गौतम बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरुको खोजी १८औँ र १९औँ शताब्दीमा ब्रिटिश अधिकारीहरुले व्यापक रुपमा अगाडि बढाए। यसै क्रममा बुद्धको जन्मस्थल लुम्बिनीको पनि खोजी भयो। धेरै खोजकर्ता लुम्बिनी भनेर अन्यत्रै अलमलिएको वेला सन् १८९५ मा पुरातत्वविद् ए. फुहररलाई नेपाल सरहदभित्रको निग्लिहवामा अशोक स्तम्भ र त्यसमा उत्कीर्ण अभिलेख प्राप्त भएको थियो।
निग्लिहवा लगायत अन्य पुरातात्विक स्थल तथा सामग्रीको प्रमाणका आधारमा कपिलवस्तुलाई पनि निर्विवाद स्वीकार गरिनुपर्ने हो। तर, प्राप्त प्रमाणहरु मान्ने वा नमान्ने पक्षको जुहारी चल्ने गरेको छ। यसको परिणाम लुम्बिनीलाई पनि विवादमा तान्ने वा भ्रम सिर्जना गर्ने काम बौद्धिक जमातबाटै पनि भएको छ।
लुम्बिनीका सम्बन्धमा रहेको विवाद अन्य विषयमा नभएर भेटाउने व्यक्तिलाई जस दिनेबारे मात्र छ। ए. फुहररले लुम्बिनी र कपिलवस्तु भेटाएको दाबी गरिरहेको वेला वाडेल नामका अर्का व्यक्तिले यसको अनुमान आफूले पहिल्यै गरेको हुनाले आफूले जस पाउनुपर्ने दाबी गरेका छन्।
कपिलवस्तुको पहिचानमा शुरुमा समस्या देखिँदैन। यही वेला पिप्रहवामा पनि उत्खनन् भइरहेको थियो। विलियम पेपे नामका ब्रिटिशको उक्त ठाउँमा मौजा थियो। उनले आफ्नो मौजामा व्यक्तिगत तवरले उत्खनन् गरेका थिए। त्यस क्रममा उनले महत्वपूर्ण पुरातात्विक सामग्री भेटाए। पेपे तथा उनको मित्रमण्डलीमा आफ्नो मौजालाई प्राचीन कपिलवस्तुका रुपमा स्थापित गर्न सके भाउ बढ्ने ठाने। उनीहरुले पुरातत्वविद् ए. फुहररलाई आफ्नो दाबी छाड्न र पिप्रहवालाई नै प्राचीन कपिलवस्तु घोषणा गर्न दबाब दिएको पाइन्छ।
अहिलेसम्म नेपाली भूमिमा भेटिएका पुरातात्विक अवशेषहरुले कपिलवस्तु नेपालको सरहदभित्र रहेको देखाउँछ। पिप्रहवाको दाबी गर्नेले पनि आफ्नो प्रशासनिक शक्ति नै लगाइरहेको थियो। अझ अध्ययन अनुसन्धानलाई निरुत्साहन गर्न ए. फुहररलाई बन्दी बनाउनुका साथै जागिरबाट राजीनामा दिन बाध्य पारेको पाइन्छ। पिप्रहवालाई प्राचीन कपिलवस्तुको पहिचान दिलाउन भिन्सेन्ट स्मिथ नामका एक अधिकारी दिलोज्यान दिएर लागेका थिए।
‘नेपाल विद्या’ ग्रन्थअनुसार बुद्ध जन्मस्थल लुम्बिनीलाई ब्रिटिस साम्राज्यभित्र देखाउन नसके पनि प्राचीन कपिलवस्तुलाई आफ्नो भू–क्षेत्रमा देखाउन भिन्सेन्ट स्मिथ सक्रिय थिए। तर, सकेनन्। बेलायतले पूरा गर्न नसकेको यो काममा पछि भारतीयहरु पनि लागे। अहिले पनि वेलावेला प्राचीन कपिलवस्तु भारतमा पर्ने दाबी भइरहेको पाइन्छ।
पिप्रहवालाई नै तत्कालीन कपिलवस्तु भनेर आजभोलि पनि बेलायतका केही व्यक्ति वकालत गरिरहनुको रहस्य लेखक वशिष्ठले खोलेका छन्। उनका अनुसार त्यति वेला पिप्रहवाबाट प्राप्त पुरातात्विक वस्तुहरु पेपेका सन्तानसँग सुरक्षित छ। बजारमा ती वस्तुको मूल्य बढाउन उनीहरुले भ्रम छरिरहेको यो पुस्तकका लेखकको ठहर छ।
नेपालको उत्पत्ति
‘नेपाल विद्या प्रयोग–२’ अन्तर्गत नेपालसम्बन्धीे अध्ययन परम्पराको मन्थन गरिएको छ। ‘नेपाल’ शब्दको व्युत्पत्ति मात्रै नभएर यसको भूक्षेत्र तथा इतिहासका सम्बन्धमा पनि उल्लेख गरिएको छ। नेपाल शब्दको अर्थ वा व्युत्पत्ति र यस नामबाट चर्चेको भूक्षेत्रका सम्बन्धमा स्वदेशी तथा विदेशी अध्येताबीच लामो समयदेखि छलफलको विषय बन्दै आएको छ। तर, यससम्बन्धी प्रश्नहरुको जवाफमा एकमत हुन सकेको पाइँदैन। लेखक वशिष्ठ पनि नयाँ विषयलाई प्रकाशमा ल्याउनुभन्दा पूर्व अध्ययनको एउटा धार पक्रेर त्यसैलाई पुष्टि गर्नमा केन्द्रित छन्।
नेपाल विद्या ग्रन्थको मान्यता छ, नेपाल शब्दको व्युत्पत्ति नीप जातिबाट भएको हो। नीप जाति यस भूक्षेत्रमा आएको र नीपहरुको ‘आलय’ अर्थात् बसोबास क्षेत्रको अर्थमा नेपाल भएको मान्यता ज्ञानमणि नेपालको छ। नेपालको इतिहास अध्ययनमा यो धार सर्वमान्य भने होइन।
आफूलाई आर्य नामबाट पहिचान दिने वैदिकहरुको अभिजन भारतीय भूमिमा नभएर पश्चिमतिर भएको र इतिहासको आरोहअवरोहमा विस्तारै भारतीय भूमिमा प्रवेश गरेको भन्ने मान्यता पनि पाइन्छ। ऋग्वेदमा वर्णित भूगोल, वनस्पति तथा अन्य कुराले वर्तमान भारतसँग सामिप्य नराख्ने बरु पश्चिमको अफगानिस्तान वा त्योभन्दा पनि पश्चिमी संसारसँग मिल्ने देखिन्छ।
पछिल्लो समय दिवाकर आचार्यले ‘नीपजन र नेपाल’ शीर्षकको एउटा पुस्तिका प्रकाशनमा ल्याएपछि पुनः चर्चा पाएको थियो र आलोच्य पनि बन्यो। यही धारलाई अझ वशिष्ठले विस्तृतीकरण गरेका छन्। नीपहरु को हुन् भन्ने प्रश्नमा लेखक पुराणमा वर्णित कथाहरुको आधारमा ऋग्वेदसम्म पुगेका छन्। हिन्दू धार्मिक ग्रन्थमा सबैभन्दा पुरानो ऋग्वेदलाई मानिन्छ। तर, कति पुरानो भन्ने सम्बन्धमा मतैक्य पाइँदैन।
आफूलाई आर्य नामबाट पहिचान दिने वैदिकहरुको अभिजन भारतीय भूमिमा नभएर पश्चिमतिर भएको र इतिहासको आरोहअवरोहमा विस्तारै भारतीय भूमिमा प्रवेश गरेको भन्ने मान्यता पनि पाइन्छ। ऋग्वेदमा वर्णित भूगोल, वनस्पति तथा अन्य कुराले वर्तमान भारतसँग सामीप्य नराख्ने बरु पश्चिमको अफगानिस्तान वा त्योभन्दा पनि पश्चिमी संसारसँग मिल्ने देखिन्छ। आर्यहरु उतैबाट ऋग्वेदसहित भारतीय भूमिमा प्रवेश गरेको मान्यता पनि छ। वेदमा आधारित भएकै कारण यसलाई ‘वैदिक समाज’, ‘वैदिक सभ्यता’ वा वैदिक धर्म’ को नामबाट व्यवहारित छ। वेद ऋग्वेदका मन्त्रद्रष्टामध्येका एक ‘नीपातिथि’ को वंश परम्पराका आधारमा नीपजन हुँदै नेपालको नामाकरण भएको अध्ययनहरुले देखाएको वशिष्ठले उल्लेख गरेका छन्। (पृ.२३६)
ऋग्वेदका एक मन्त्रदृष्टा अङ्गिरा हुन्। नीपातिथिका वंश परम्पराका ‘नीप’जस्तै अङ्गिराका वंशज ‘अङ्गिरस’हरु रहेको मानिन्छ। कालान्तरमा आएर यी दुईबीच द्वन्द्व चर्केको र थातथलोबाट नीप जाति लेखटिएर गई बसोबास गरेको भिरालो वा नदी किनारको नाम नै नीप राखिएको हुने आधार बलिया छन् भन्ने दिवाकर आचार्यको अवधारणा (नीपजन र नेपाल, पृ.५६) लाई यहाँ उद्घृत गरिएको छ। (पृ.२६४)
नीप जातिको आवादी रहेको भूमि भएर नेपाल भनिएको भन्ने मान्यताको आधार भने बलियो छैन। ऐतिहासिक दृष्टिबाट हेर्ने हो भने यो भनाइ आफैँमा प्रत्युत्पादक छ। नीपाथिति वा नीप संस्कृत भाषासँग सम्बन्धित हो। ज्ञानमणि नेपाल, दिवाकर आचार्य तथा केदार वशिष्ठ आदिले पक्रिरहेको धारलाई मान्ने हो भने यस भूक्षेत्रमा प्रारम्भिककालदेखि संस्कृत भाषाको प्रयोग हुनुपर्ने हो।
तर, नेपालमा प्रचलित संस्कृत लेखोटहरुमा सयौं असंस्कृत शब्द परेका छन्। ती असंस्कृत शब्दले विभिन्न नदी, पहाड, गाउँठाउँ तथा प्रशासनिक अड्डाहरु बुझाउँछ। संस्कृत भाषामा पाइएका अभिलेखहरु लिच्छविकालदेखि मात्रै हुन्। नेपालमा लिच्छविहरुको शासन शुरु हुनुअघि नै व्यवस्थित राज्य व्यवस्थाको स्थापना भइसकेको अनेकौँ दृष्टान्त छन्। गौतम बुद्धको जीवनकालमा नै काठमाडौं उपत्यका व्यापार व्यवसायको केन्द्रको रुपमा विकास भइसकेको संकेत पाइन्छ। भारतीय इतिहासको गुप्तकाल सदृष्य नेपालमा लिच्छविकाल थियो।
भारतीय इतिहासमा मौर्य साम्राज्यको अन्त्य गरी सुंग वंशको शुरु गर्ने पुष्यमित्रबाट वैदिक सभ्यताको पुनरोदय भएको भनिए पनि यो निकै थोरै समयावधि हो। बरु पुनरोदय भनी गुप्तकाललाई मान्न सकिन्छ। सुंग र गुप्तकालबीच कुषाण वंशको शासन चलेको पाइन्छ। वैदिक मूल्य मान्यतालाई व्युँताउने तथा अनेक साहित्यको रचना गुप्तकालमा भयो। यसको प्रभावबाट नेपाल अछुतो रहेन। तर, यो प्रभाव पर्नुभन्दा अघि काठमाडौं उपत्यकामा गैरसंस्कृत भाषाको प्रयोग व्यापक रुपमा भइसकेको थियो।
लिच्छविकालका शब्दको संकलन तथा अध्ययन गर्ने काम प्रा.डा कमलप्रकाश मल्लबाट भएको छ। तीमध्ये कतिपय शब्दको प्रयोग काठमाडौं उपत्यकाको नेवार समाजमा वर्तमानमा समेत बोलिचालीको भाषाको रुपमा जीवित छ। यसबाट स्पष्ट हुन्छ, यहाँ संस्कृत भाषाको प्रयोग हुनुअघि बेग्लै भाषा, संस्कृति र सभ्यता प्रचलनमा थियो।
लिच्छविकालका शब्दको संकलन तथा अध्ययन गर्ने काम प्रा.डा कमलप्रकाश मल्लबाट भएको छ। तीमध्ये कतिपय शब्दको प्रयोग काठमाडौँ उपत्यकाको नेवार समाजमा वर्तमानमा समेत बोलीचालीको भाषाको रुपमा जीवित छ। यसबाट स्पष्ट हुन्छ, यहाँ संस्कृत भाषाको प्रयोग हुनुअघि बेग्लै भाषा, संस्कृति र सभ्यता प्रचलनमा थियो।
बाबुराम आचार्यका अनुसार पनि ‘नेपाल’ गैर संस्कृत शब्द हो। ‘नेपार’ शब्दले यहाँको भूमि वा बासिन्दालाई जनाउँछ। यो शब्द दक्षिणमा मागधी भाषामा पुगेको तथा संस्कृत भाषाको सम्पर्कमा आउँदा ‘नेपाल’ भएको मान्यता बाबुराम आचार्यको छ। उनका अनुसार त्यति वेलादेखि नेपाल शब्द फेरबदलविना प्रचलनमा आइरहेको छ। काठमाडौं उपत्यबाहिर टिस्टुङ, पालुङ तथा चित्लाङ भेकमा पाइएका लिच्छविकालीन अभिलेखहरुमा ‘नैपालेभ्यः’ शब्दको प्रयोग कुशलमंगलको कामना गर्न ‘नेपालवासी’ले प्रयोग गर्थे। जुन क्षेत्रमा यो शब्द प्रयोग भएको छ, त्यहाँ अझै पनि नेवार समुदायको बाक्लो बसोबास छ। यस अर्थमा ‘नेपालहरु’ वा ‘नेपालवासी’ भनेर नेवार समुदायलाई सम्बोधन गरिएको बुझिन्छ।
नेपाल भनेर काठमाडौं उपत्यका र वरिपरिको भूमिलाई मात्र बुझिँदै आएकोमा गोरखाका राजा पृथ्वीनारायण शाहको राज्यविस्तार तथा नयाँ भूगोलसहितको राज्यको नाम नेपाल नै राखिएपछि नेपालको भौगोलिक अर्थ विस्तृत हुने मौका पायो। यही अर्थलाई वर्तमान सुहाउँदो बनाउने मनसायले ‘प्राचीनकालदेखि नेपाल आजभोलि जत्तिकै विस्तृत भूगोलमा फैलिएको’ भन्ने मान्यता राजा महेन्द्रबाट स्थापित गर्नु राजनीतिक अभीष्ट हो। काठमाडौं उपत्यका मात्रै नेपाल होइन भन्ने मान्यता बोक्दा राज्यको मूलधारमा परिने तथा उद्धार दृष्टिकोण भएको देखाउन पनि पाइने हुँदा यो आदर्श चाँडै स्थापित भयो।
वर्तमानकै स्वरुपमा लिच्छविकालमा नेपालको आकार विस्तृत थियो भन्नेले मान्यतालाई आधार दिने एउटा प्रमाण राजा मानदेवको चाँगुनारायण मन्दिरअगाडिको स्तम्भलेख हो। तर, त्यही अभिलेखमाथि मनन गर्ने हो भने उक्त व्याख्याको खण्डन गर्छ। राजा मानदेवले आफ्नो मामा (संभवतः सेनापति) लाई ‘आजैको दिनमा गण्डकी तरेर विद्रोही मल्लहरुमाथि आक्रमण गर्न’ भनिएको छ। गण्डकी शब्दको तात्पर्य गण्डकी नामको नदीलाई मान्न सकिन्छ।
तर, लिच्छवि दरबारबाट कूच गरेर सोही दिन घोडचढी गण्डकी नदीसम्म पुग्न सकिँदैन। तसर्थ, गण्डकी शब्दले नदीको नाम नभएर सबै नदीलाई जनाउने हुन्छ। राजा मानदेवले गण्डकी भनेर हालको त्रिशूली नदीलाई भनेको हुनुपर्छ। त्रिशूली नदीको पश्चिम पनि लिच्छवि सत्ता कायम थियो भन्ने ऐतिहासिक तथा सांस्कृतिक अवशेष गोरखालगायतका भूक्षेत्रमा अझै पनि देख्न सकिन्छ। तर, निश्चित सीमाको निक्र्यौल गर्न भने सकिएको छैन।
नेपाल भनेर काठमाडौं उपत्यका मात्रै होइन, आजभोलि बराबरको भूक्षेत्र थियो भन्ने मान्यता राख्नेहरुको अर्को दलिल भारतको अलाहावादमा रहेको समुद्र गुप्तको अभिलेख हो। त्यसमा नेपाल शब्दको उल्लेख पाइन्छ। तर, नेपाल लगायत विस्तृत भूक्षेत्रको स्वामी भनेर प्रशस्ति गाउनका लागि मात्रै प्रयोग भएको छ। तत्कालीन कुनै पनि ऐतिहासिक प्रमाणले नेपाल समुद्र गुप्तको अधिनमा थियो भन्ने देखाउँदैन। प्रशस्तिमा जति पनि देशको नाम उल्लेख छ ती सबै समुद्र गुप्तको अधीनमा थिएनन् पनि।
नेपाली भाषाको ऐतिहासिकताबारे नयाँ व्याख्या गर्ने जमर्को पनि यो पुस्तकमा छ। खश कुरा, पर्वते बोली, गोरखा भाषा लगायतका नामहरु ग्रहण गर्दै आजभोलि ‘नेपाली’ नाम पाएको यो भाषाको ऐतिहासिक प्राचीन लिखतहरु खशान क्षेत्रमा नै पाइएका छन्।
प्रशस्ति लेखाउँदा आत्मरतिका लागि आफूलाई थाहा भएका सबै देशको नाम उल्लेख गराउने अनौठो प्रवृत्ति पाइन्छ। कर्णालीको खश राजा पुण्य मल्लको प्रशस्तिमा यस्तै आत्मरति छ। यस्ता घटना विवरण दिई तत्कालीन नेपालको सीमा त्यहीँ पुगेको भनेर वशिष्ठले जति पनि विवरण पेश गरेका छन् ती उचित प्रमाण भने होइनन्। किनभने ती क्षेत्रमा काठमाडौंको सत्ता देखिँदैन, बरु बेग्लै राज्यसत्ताको अनुमान हुन्छ। प्राचीन नेपालको सत्ताले प्रसार गरेका सामग्रीहरु पश्चिममा गोरखासम्म र पूर्वमा दोलखाभन्दा उता पाइँदैन।
नेपाली भाषाको ऐतिहासिकताबारे नयाँ व्याख्या गर्ने जमर्को पनि यो पुस्तकमा छ। खश कुरा, पर्वते बोली, गोरखा भाषा लगायतका नामहरु ग्रहण गर्दै आजभोलि ‘नेपाली’ नाम पाएको यो भाषाको ऐतिहासिक प्राचीन लिखतहरु खशान क्षेत्रमा नै पाइएका छन्। पूर्व अध्येताहरुले नेपाली भाषाको उत्पत्ति सिञ्जा उपत्यकामा ११औँ र १२औँ शताब्दीमा भएको मान्यता राखेको पाइन्छ। तर, यो हचुवाको मान्यता हो।
यो वेला भाषाको उत्पत्ति नभएर राजा नागराजबाट एउटा साम्राज्यको मात्र स्थापना गरिएको हो। पछि यसलाई खश साम्राज्यको नामबाट चिनियो। तिब्बतबाट नागराज खशान क्षेत्रमा आउनुअघि नै यहाँ खश समुदायको बाक्लो र प्रभावकारी उपस्थिति थियो। विभिन्न खश समुदायको राज्यलाई मासेर नागराजले बलियो र सुदृढ राज्य बनाएको विवरण दुल्लूस्थित कीर्तिखम्ब तथा श्रीपाली वंशावलीमा उल्लेख छ।
खशहरु पश्चिमबाट पूर्वतिर लाग्ने क्रममा पाचौँ शताब्दीतिर कश्मीर हुँदै वर्तमान नेपालमा प्रवेश गरी आधिपत्य जमाएको ठाउँ पछि खशान क्षेत्रका रुपमा चिनियो। यतातिर आउँदा भाषा पनि सँगै लिएर आएको अनुमान गर्न सकिन्छ। यो भाषाको सम्बन्ध वर्तमान कुमाउँ–गढवाल क्षेत्रमा पनि देखिने भएकाले ऐतिहासिक नाता केलाउनुपर्ने हुन्छ। तर, वर्तमान अनुकूल नै इतिहासको व्याख्या गर्ने क्रममा यसको उत्पत्ति सिञ्जा उपत्यकामा भएको भन्ने मान्यता राख्नु राष्ट्रवादी अवधारणाले काम गरेको देखिन्छ।
नेपाली भाषासम्बन्धी स्थापित पूर्व मान्यतालाई लेखक वशिष्ठले अस्वीकार गरेको देखिन्छ। हरतहरबाट आफ्नो कुरालाई पुरानो देखाउने आग्रह पालेर बस्दा यसको इतिहास इ.पू.को तेस्रो शताब्दीसम्म पनि पुर्याउन खोजिएको छ।
‘हालसम्म अभिलेखमा पाइएको पहिलो नेपाल उल्लेख र नेपाली भाषाको प्रयोग ईसापूर्वको तेस्रो शताब्दीको समुद्रगुप्तको भारतको प्रयाग (अलाहावाद) को प्रसस्ति रहेको पाइन्छ’ (पृ. २३७) भन्नु यसको ज्वलन्त उदाहरण हो। उक्त अभिलेखमा नेपाल शब्द उल्लेख जरुर छ, तर नेपाली भाषाको प्रयोग पाइँदैन। साथै सो अभिलेख इ.पू. तेस्रो शताब्दीको नभएर सातौँ शताब्दीको हो।
नेपाली भाषाको प्रचलन काठमाडौं उपत्यकामा प्राचीन कालदेखि प्रचलनमा आइसकेको भन्ने जिकिर पनि भ्रमपूर्ण छ। संस्कृत भाषाका शब्दहरुको प्रयोग गर्ने क्रममा केही रुप परिवर्तन हुँदैमा त्यसलाई नेपाली भाषाको अवशेष देख्नु हतारको अध्ययन हुन्छ। बरु स्पष्ट रुपमा गोपालराज वंशावलीको लेखनमा नेपाली भाषाका शब्दहरु परेका छन्।
इतिहास लेखनमा आग्रह
इतिहास लेखनको मूल ध्येय जस्तो हो त्यस्तै प्रस्तुत हुनुपर्छ। यसमा आग्रहले काम गर्नु भनेको इतिहास अध्ययनको मर्ममा आघात पुर्याउनु हो। अपजसको हलाहल पिउन मन नगर्नेहरु यस क्षेत्रमा टिक्न नसक्ने हुँदा यो सुख्खा र बन्जर भूमि जस्तो पनि लाग्छ। संभवतः यही कारणले अध्येताहरुको खडेरी परेको अनुमान गर्न सकिन्छ।
इतिहासको अध्ययनमा आग्रह वा पूर्वाग्रह लिएर आउने तथा शासक वा समूह विशेषको रुचि अनुसार व्याख्या विश्लेषण गर्ने प्रवृत्तिले अन्ततः इतिहास विद्याकै बदनाम हुन पुगेको पाइन्छ। नेपाल विद्या ग्रन्थमा पनि लेखकको आग्रह ठाउँठाउँमा झल्किन्छ। ती आग्रहलाई दाबी र पुष्टि गरिछाड्ने लेखकको दृढताले अन्ततः विश्वसनीयतामा आँच पुर्याएको अनुभव हुन्छ।