कीर्तिपुरमा खेल्दा प्रतिबन्धमा परेका अमेरिकी स्पिनर पटेललाई बलिङ गर्न अनुमति
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शंकास्पद ‘एक्सन’ का कारण प्रतिबन्धमा परेका अमेरिकी स्पिनर निसर्ग पटेललाई फेरि बलिङ गर्न अनुमति दिएको छ।
आईसीसी क्रिकेट वल्र्डकप लिग-२ अन्तर्गत ११ फेब्रुअरी २०२० मा कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले ओमानविरुद्ध खेलेको खेलमा उनको बलिङ एक्सन शंकास्पद पाइएको थियो। उनीविरुद्ध अफिसियलहरुले प्रतिवेदन बुझाएका थिए।
त्यसपछि आईसीसीले १९ फेब्रुअरीमा उनीमाथि बलिङ गर्न प्रतिबन्ध लगाएको थियो। तर, ब्याटिङका लागि भने उनलाई प्रतिबन्ध थिएन। अमेरिकी टीममा उनी अलराउन्डरको भूमिकामा छन्।
विज्ञहरुको समूहले भिडियो फुटेज र तस्वीरहरु हेरेपछि उनको बलिङ अवैध नभएको पाइएको आईसीसीले जनाएको छ। उनले स्पिनरले खुम्च्याउन पाउने १५ डिग्रीको सीमाभित्रै कुहिनो खुम्च्याएको आईसीसीको मिडिया रिलिजमा जनाइएको छ। आईसीसीको नियमानुसार तीव्र गतिका बलरले १० डिग्री र स्पिनरले १५ डिग्रीसम्म कुहिनो खुम्च्याउन पाउँछन्।
उनको बलिङ शंकास्पद मानिएको ओमानविरुद्धको खेलमा उनले कुनै पनि विकेट भने लिन सकेका थिएनन्। उनले ७ ओभर बलिङ गरेर ३७ रन दिँदा एउटा मेडन राखेका थिए। कीर्तिपुरमा वल्र्डकप लिग-२ अन्तरगतका नेपाल र ओमानसँग खेलेका चार वटै खेलमा अमेरिका पराजित भएको थियो।