काठमाडौँमा पानी पिउन ‘वाटर एटीएम’, एक लिटरको रु.५
काठमाडौँ उपत्यकामा यात्रामा रहँदा तपाईलाई प्यास लाग्यो भने कहाँ पानी पिउनुहुन्छ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ। अब भने स्वाचालित प्रणालीबाट पानी पिउन पाइनेछ।
सरकारले काठमाडौँ महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने व्यवस्था गरेको छ। सरकारले त्यसलाई वाटर एटीएमको नाम दिएको छ।
एटीएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ। किनकि नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो। सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटीएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ। यसले आमरुपमा नागरिकलाई राहत दिनेछ।
वाटर एटीएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ। खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २९ माघदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो।
बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे। सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ।
वाटर एटीएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ। वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु.२ तिर्नुपर्नेछ। यस्तै एक लिटरका लागि रु.५ तिर्नुपर्छ।
वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ। तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ। उक्त एटीएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ। त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ।
वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटीएम जडान गरिनेछ। एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ।
आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ। यस्तै काठमाडौँ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ।