सगरमाथामा भारतीय नागरिककाे फर्जी आरोहण: आरोहण दलदेखि सम्पर्क अधिकृतसम्मलाई कारबाही
भारतीय नागरिकद्वय नरेन्द्र यादव सिंह र सीमा रानीले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथा आरोहण गरेको फर्जी विवरण बुझाएर लिएको पर्वतारोहण प्रमाणपत्र सरकारले रद्द गरिदिएको छ।
ती दुई भारतीय नागरिकले झूटा विवरण पेश गरेर आरोहणको प्रमाणपत्र लिएको फेला परेपछि उनीहरूको प्रमाणपत्र रद्द गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आरोहणमा सहयोग गर्ने कम्पनीदेखि सरकारी अधिकारीसम्मलाई कारबाही गरिएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार, ती दुई आरोहीलाई ६ वर्षसम्म पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। यस्तो प्रतिबन्ध २० मे २०१६ देखि ६ वर्षसम्म हुने गरी निर्णय भएको छ। आरोहण झूटा ठहरिएको र आवश्यक अनुसन्धान गर्दागर्दै ती दुई आरोहीले सगरमाथा आरोहण गरेकै चार वर्ष नाघिसकेको छ। सरकारले आवश्यक छानबिन गरेर निर्णय सार्वजनिक गर्न ढिलो गरेका कारण अबको दुई वर्ष मात्रै उनीहरुलाई पर्वतारोहण गतिविधिमा राेक लाग्नेछ।
पर्यटन मन्त्रालयका अनुसार, भारतीय नागरिकले झूटा विवरण पेश गरेर आरोहण प्रमाणपत्र लिएको गुनासो परेपछि ६ महीनाअघि मन्त्रालयका सह-सचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा एक टोली गठन गरी छानबिन गरिएको थियो। जसबाट फर्जी आरोहणको तथ्य भेटिएको हो। उक्त फर्जी आरोहणमा आरोहण दलदेखि सम्पर्क अधिकृतको रूपमा खटिएका सरकारी कर्मचारीसम्मको मिलेमतो रहेको भन्दै सबैलाई आवश्यक कारबाही गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
भारतीय नागरिकले गरेको उक्त झूटा आरोहणमा आरोहण दलदेखि सम्पर्क अधिकृतको रूपमा खटिएका सरकारी कर्मचारीसम्मको मिलेमतो रहेको भन्दै सबैलाई आवश्यक कारबाही गर्ने निर्णय भएको पर्यटन मन्त्रालयले जनाएको छ।
आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई पनि ६ वर्ष आरोहण गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ। यस्तै, फर्जी आरोहण दलको व्यवस्था मिलाउने सेभेन समिट ट्रेक्सलाई ५० हजार जरिवाना गर्ने, सम्पर्क अधिकृत पवनकुमार घिमिरेलाई पर्वतारोहण नियमावली र निजामती ऐन बमोजिम चेतावनी दिइएको छ।
ती दुई भारतीय नागरिकले २० मे २०१६ मा सगरमाथा अरोहण गरेको भन्ने झूटा कागज बनाउने क्लाइम्बिङ सहयोगी ङा दावा शेर्पालाई रु.१० हजार जरिवाना गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
छानबिन समितिका संयोजक कोइरालाका अनुसार, ती दुई आरोही नेपाल आएर सगरमाथा आरोहणको अनुमति लिई आरोहणमा पनि गएका थिए। तर, आरोहणका क्रममा सगरमाथाको निश्चित उँचाइमा पुगे पनि शिखरमा पुगेको फोटो, भिडिओ र अन्य प्रमाण फेला नपरेपछि कारबाही गरिएको हो।
आरोहणमा सँगै गएका एक जना भरियाले गरेको गुनासो, ती दुई आरोहीले आरोहण नै नगरेको भन्ने गुनासो तथा सञ्चारमाध्यममा समाचार आएपछि पर्यटन मन्त्रालयले छानबिन गरेको कोइराला बताउँछन्। उनी नेपालमा हिमाल आरोहण गर्न आउनेले अवाञ्छित गतिविधि गर्न नपाइने र कसैले झूटा विवरण पेश गरेर आरोहणको दाबी गरे कारबाही हुने सन्देश पनि दिइएको बताउँछन्।
भारतको सर्वोच्च साहसिक खेल सम्मान तेन्जिङ नोर्गे पुरस्कारका लागि गत वर्ष सिंह सिफारिश भएका थिए। तर, उनको आरोहणबारे विवादको समाचार आएपछि भारतको खेलकूद मन्त्रालयले उनलाई उक्त सम्मान नदिने निर्णय गरेको थियो।