आठौं राष्ट्रिय खेलकूद आर्मीकाे अग्रता
प्रदेश नम्बर ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ ।
प्रतियोगिता सकिन एक दिन बाँकी रहँदासम्म अङ्क तालिका अनुसार आर्मीले ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य सहित १८६ पदक जितेको छ ।
दोश्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्यसहित कुल ११५ पदक जितेको छ ।
पदक तालिकामा नेपाल पुलिस तेस्रो स्थानमा रहेको छ । उसले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदकसहित कुल ९८ पदक जितेको छ ।
प्रतियोगितामा अहिलेसम्म २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागेको छ ।
प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि पाँच जहार २११ खेलाडी प्रतिष्पर्धामा सहभागी रहेका छन् ।
प्रतियोगिता भोली सकिँदै छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगीताको समापन गर्ने कार्यक्रम रहेको छ ।
प्रत्येक दुई/दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करण बाहेक कुनैपनि राष्ट्रिय खेलकुद दुई वर्षको अवधिमा हुन सकेको छैन ।
वैशाख ५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताका खेलहरू भने चैत २७ गतेदेखि नै शुरु भएका थिए ।
प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक/एक खेलहरू आयोजना भएका छन् ।