नेपाल टेलिकमको इन्टरनेट : गुणस्तरीय सेवा, ग्राहकप्रति उदासीन
नेपाल टेलिकमले एफटीटीएच प्रविधिबाट सस्तोमा गुणस्तरीय इन्टरनेट सुविधा दिइरहेको छ। तर, प्रचारको कमी, नयाँ जडानमा उदासीनता जस्ता कारण ६ प्रतिशत सेवाग्राहीले मात्र टेलिकमको फाइबर इन्टरनेट प्रयोग गर्छन्।
काठमाडौँ रविभवनकी सुशीला नेपाललाई घरमा इन्टरनेट जोड्नु थियो। उनले नेपाल टेलिकमको वेबसाइटमा दिइएको नम्बरमा धेरैपटक फोन गरिन्। उठ्दै उठेन। त्यसपछि उनले अन्य सेवा प्रदायककै इन्टरनेट जोडिन्। “टेलिकमको सेवा राम्रो भन्ने सुनेकी थिएँ। तर, खोजेको वेला नपाएपछि के अर्थ र?” उनी भन्छिन्।
अनामनगरमा सञ्चारगृह खोलेका रौतहटका नारायण पौडेलले इन्टरनेट सेवा लिन नेपाल टेलिकमको फाइबर टु दि होम (एफटीटीएच) जोड्ने निधो गरे। टेलिकमको केबल इन्टरनेट एफटीटीएच निजी इन्टरनेट सेवा प्रदायकको भन्दा सस्तो तथा गुणस्तरको हुने उनले बुझेका थिए। उनको कार्यालय १९ माघबाट सञ्चालनमा आयो। तर, अनामनगर क्षेत्रमा टेलिकमकको एफटीटीएचको प्वाइन्ट नभएपछि सेवा लिन पाएनन्। उनी पनि निजी सेवा प्रदायककै इन्टरनेट जोड्न बाध्य भए।
डाटा, भ्वाइस र भिडियो सेवा एउटै केबलबाट दिन थालेको टेलिकमले विभिन्न रुचिका ग्राहकलाई फरकफरक प्याकेज बनाएको छ। यस्तो प्याकेजमा न्युनतम् १५ एमबीपीएसको इन्टरनेटमा टीभी र निःशुल्क टेलिफोन सेवा समावेश छ।
नेपाल टेलिकमले १७ पुसबाट एफटीटीएचमा आईपी टीभीसहितको इन्टरनेट सेवा सुरु गरेको जनाएको छ। डाटा, भ्वाइस र भिडियो सेवा एउटै केबलबाट दिन थालेको टेलिकमले विभिन्न रुचिका ग्राहकलाई फरकफरक प्याकेज बनाएको छ। यस्तो प्याकेजमा न्युनतम् १५ एमबीपीएसको इन्टरनेटमा टीभी र निःशुल्क टेलिफोन सेवा समावेश छ।
टेलिकमले आईपी टीभीसहितको इन्टरनेट सेवा शुरु गरेको थाहा पाएपछि ललितपुर धोबीघाटका रामकृष्ण बस्नेतले पनि जडान गर्न खोजेका थिए। तर, टेलिकमकै वेबसाइटमा उपलब्ध गराइएको पाटन कार्यालयमा सम्पर्क गर्दा फोन नै उठेन। उनी पनि अन्य सेवा प्रदायकतिरै लागे।
नेपाल टेलिकमले २०७२ बाट शुरु गरेको फाइबर एफटीटीएच निजी सेवा प्रदायकको भन्दा गुणस्तरीय र सस्तो भए पनि सेवा र दायरा भने साँघुरो छ। काठमाडौँ उपत्यकाकै सबै ठाउँमा सेवा पुर्याइएको छैन। सेवाग्राहीलाई जानकारी चाहिँदा तत्काल सम्पर्क हुन सक्दैन। त्यसकारण प्रयोगकर्ताले भनेकै वेला सेवा लिन नपाउँदा अन्य सेवा प्रदायकतिर जाने गरेका छन्।
प्राथमिकतामा एफटीटीएच र मोबाइल ब्रोडब्याण्ड
टेलिकमको अबको रणनीति तारमा आधारित इन्टरनेट एफटीटीएच र मोबाइल ब्रोडब्याण्डमा फोरजी वा आउँदै गरेको फाइभजी विस्तार मात्रै भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन्। शहरी क्षेत्रको लागि फाइबर र ग्रामीण क्षेत्रमा फोरजी उपयुक्त हुने टेलिकमको निष्कर्ष छ।
अबको तीन वर्षमा एडीएसएललाई विस्थापित गरेर फाइबर नेटवर्क बनाउने प्रबन्ध निर्देशक अधिकारी बताउँछन्। उनी भन्छन्, “आजै सबै ग्राहकसमक्ष एकैपटक फाइबर पुर्याउन सकिँदैन। फाइबरको नेटवर्क बनाउँदै विभिन्न क्षेत्रमा सेवा विस्तार गर्ने योजना छ। सोही अनुसार लगानी पनि भइरहेको छ।”
टेलिकमको इभीडीओ (स्काई सीमकार्डबाट चल्ने इन्टरनेट इभोलुसन डाटा अप्टिमाइज), एडीएसएल, वाइम्याक्स (ताररहित), थ्रीजी र लिज लाइनले विगतमा प्रतिफल दिएको र अब नयाँ प्रविधिमा जानुपर्ने टेलिकमका अधिकारीहरु बताउँछन्। टेलिकम पुरानो प्रविधिमा बसिरहे अरु सेवाप्रदायक अगाडि बढ्ने र सरकारी कम्पनीले घाटा व्यहोर्ने समय आउने उनीहरुको भनाइ छ।
टेलिकमले शुरुआतमा एडीएसएल सेवा ल्याएको थियो। अरु विकल्प नभएको समयमा आएको यो इन्टरनेट सेवा धेरैले लिएका थिए। त्यति वेला १२८ र २५६ केबीपीएस गतिमा दिइने एडीएसएल ‘हटकेक’ नै थियो। करीब दुई लाख ग्राहक पुगेपछि यसको क्षमता विस्तार हुन सकेन। अरु इन्टरनेट सेवा प्रदायक फाइबरमा गइसक्दा पनि टेलिकम एडीएसलमै बसिरहँदा दायरा खुम्चन थालेको थियो।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारी आफू आउँदा जम्मा १२ सय मात्रै रहेको एफटीटीएचको जडान बढाएर एक लाख १७ हजार पुर्याएको बताउँछन्। इन्टरनेट एउटा घरमा जोडिने भए पनि त्यसका प्रयोगकर्ता तीनदेखि चार गुणा बढी हुन्छन्। दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गएको कात्तिकसम्ममा नेपाल टेलिकमका एफटीटीएच इन्टरनेट प्रयोगकर्ता तीन लाख २२ हजार छन्।
एफटीटीएच प्रयोगकर्ता २०७६ कात्तिकसम्ममा जम्मा ५४ हजार मात्र थिए। एक वर्षमै दुई लाख ६७ हजार प्रयोगकर्ता थपिएका हुन्। ४२ जिल्लामा सेवा विस्तार भएको छ। पछिल्लो समय मासिक १२ देखि १३ हजार थप जडान गरिरहेको टेलिकमले जनाएको छ।
एफटीटीएच प्रयोगकर्ता कात्तिक २०७६ सम्ममा जम्मा ५४ हजार मात्र थिए। एक वर्षमै दुई लाख ६७ हजार प्रयोगकर्ता थपिएका हुन्। ४२ जिल्लामा सेवा विस्तार भएको छ। पछिल्लो समय मासिक १२ देखि १३ हजार जडान गरिरहेको टेलिकमले जनाएको छ।
टेलिकमको एफटीटीएच प्रयोगकर्ताको प्रतिक्रिया पनि सकारात्मक छ। डेढ वर्षदेखि यो सेवा प्रयोग गरिरहेका पेप्सीकोलाका नरेन्द्र कार्कीले हालसम्म एक पटक मात्रै कम स्पीड आएको गुनासो गरेका थिए। त्यसपछि दोहोर्याएर गुनासो गर्नुनपरेको उनी बताउँछन्। टेलिकमका प्रवक्ता राजेश जोशी एकपटक सेवा लिने ग्राहक फेरि हत्तपत्त नबाहिरिने गरी सेवा दिइरहेको बताउँछन्।
टेलिकमले गर्ने आफ्नो सेवाको प्रचार निकै सुस्त छ। प्रयोगकर्ता आफैँले खोजी गर्नुपर्छ। त्यसैले यसको सेवा विस्तार पनि सुस्त नै छ। टेलिकमसँग केबल/एफटीटीएच, एडीएसएल, प्राइभेट नेटवर्क बनाउने संस्थाले डाटा आदनप्रदानका लागि प्रयोग गर्ने लिज लाइन इन्टरनेट, वाईम्याक्स, मोबाइल इन्टरनेट, थ्रीजी, फोरजी र इभीडीओसहितको सेवा छ। ब्रोडब्याण्डमा टेलिकम सबैभन्दा बढी सेवा दिने कम्पनी हो।
ग्राहक आकर्षित गर्न नेपाल टेलिकमलाई अवसर नै अवसर छ। अन्य कम्पनीको तुलनामा टेलिकमले प्रविधिमा गरेको लगानी पनि उच्च छ। तर, त्यसअनुरुप ग्राहक छैनन्। अहिलेसम्म सबै सेवा प्रदायकबाट जम्मा ५२ लाख १७ हजार प्रयोगककर्ताले तारसहितको ब्रोडब्यान्ड इन्टरनेट चलाउँछन्। त्यसमध्ये टेलिकमको हिस्सा ६ प्रतिशत मात्रै छ। प्रवक्ता जोशी भने टेलिकमको सञ्जाल फराकिलो हुँदै गएको बताउँछन्। टेलिकमले पछिल्लो समय मोबाइल ब्रोडब्याण्डमा फोरजी र तारबाट दिने सेवामा एफटीटीएचलाई मात्रै प्राथमिकता दिइरहे पनि जुन गतिमा सेवाग्राहीमा पुग्नुपर्ने हो त्यो भने नभएको उनी स्वीकार गर्छन्।
अन्य सेवा प्रदायकजस्तै टेलिकमका लागि पनि ग्राहक विस्तार गर्न काठमाडौँ उपत्यका सबैभन्दा ठूलो अवसरको क्षेत्र हो। तर, टेलिकमलाई देशैभरि सेवा विस्तार गर्नुपर्ने जिम्मेवारी छ। टेलिकमले नाफा मात्रै नहेरेर देशैभर सेवा पुर्याउन काम गरिरहेको प्रवत्ता जोशी बताउँछन्।
विस्थापन हुँदै तीन वटा सेवा
टेलिकमले १७ वैशाख २०६५ बाट शुरु गरेको एसिम्याट्रिक डिटिजल सब्क्राइबर लाइन (एडीएसएल) विस्थापन गर्दै छ। तामाको तारबाट दिइने यो सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएचले विस्थापन गर्दै छ। एडीएसएलले धेरै माग धान्न नसकेको कारण र इन्टरनेटको गति पनि सुस्त भएकोले नयाँ प्रविधिले विस्थापन गर्नुपर्ने अवस्था आएको टेलिकमले जनाएको छ।
टेलिकमसँग ब्रोडब्याण्डमा धेरै वटा विकल्प छन्। तर, ती पुरानो हुँदै जाँदा नयाँ प्रविधितर्फ गइरहेको प्रबन्ध निर्देशक अधिकारी बताउँछन्। उनी भन्छन्, “एडीएसएल तामाको तारबाट प्रवाह हुने इन्टरनेट हो। यसमा धेरै गति प्रवाह हुन नसक्ने भएकाले नयाँ प्रविधिमा जानु परेको हो। अहिले उपत्यकासहित देशैभरको सहरी क्षेत्रमा एडीएसएलकै विकल्पमा फाइबर इन्टरनेट विस्तार भइरहेको छ।”
एडीएसएलका ग्राहक कात्तिक २०७५ मा १० लाख १२ हजार थिए। कात्तिक २०७६ सम्ममा घटेर नौ लाख ९४ हजार भए। त्यस्तै गएको कात्तिकमा नौ लाखमा आइपुगेका छन्। अब यो प्रविधिमा नयाँ ग्राहक थप नहुने र भएका ग्राहक पनि फाइबर सेवा वा अन्य कम्पनीतर्फ गएको टेलिकमकै अधिकारी बताउँछन्।
टेलिकमले वाईम्याक्स र इभीडीओ समेत विस्थापन गर्दै छ। वाईम्याक्स फोरजीमा आधारित प्रविधि हो। यसको विकल्पमा फोरजी मोबाइल डाटा र फाइबर इन्टरनेट आएकोले पुरानो प्रविधिमा थप लगानी नगर्ने, तर भएका ग्राहकले पाइरहेको सेवा र गुणस्तरमा भने कुनै कटौती नहुने टेलिकम प्रवक्ता जोशी बताउँछन्। वाईम्याक्सका प्रयोगकर्ता हाल ९० हजार छन्। उपत्यकाबाहिर र फाइबर नेटवर्क नपुगेका स्थानमा यो सेवा अझै लाभदायी मानिन्छ।
महँगो प्रविधि भएको र विश्वमै थप अनुसन्धान र लगानी हुन छोडेको भन्दै सीडीएमए प्रविधिलाई पनि टेलिकमले जीएसएम सीमकार्ड मार्फत विस्थापन गर्ने रणनीति बनाएको छ। यसका ग्राहक कात्तिक २०७५ मा दुई लाख पुगेका थिए भने हाल घटेर एक लाख ३६ हजारमा आइपुगेका छन्। एक वर्षदेखि यसको ग्राहक स्थिर छन्।
फोरजी प्रयोगकर्ता बढे, गुणस्तर बढेन
टेलिकमले फोरजीलाई प्राथमिकता राखेर लगानी गरिरहेको छ। यसका प्रयोगकर्ता पनि बढेका छन्। तर, गुणस्तरीय सेवा छैन। ग्राहकले महँगो शुल्क तिरेर चलाएको फोरजी काठमाडौँमा नै वेलावेला शून्य ‘स्पिड’मा झर्ने गरको छ।
फोरजी सेवा मोबाइल डाटा प्रयोगकर्ताका लागि महंगो छ। गति पनि फाइबर इन्टरनेटको तुलनामा कम हुन्छ। फाइबरमा इन्टरनेटको गति बढी चाहिने ग्राहकले बढाउन र थोरै भए पनि पुग्नेले कम स्पिड लिन मिल्छ। तर, मोबाइल ब्रोडब्याण्ड अन्तर्गतको फोरजीमा ग्राहकले चाहेजस्तो बढी र कम हुँदैन।
दूरसञ्चार प्राधिकरणलाई सञ्चार मन्त्रालयको एउटा शाखाभन्दा कमजोर बनाइएकोले नियामक निकाय सेवाप्रदायकको कमजोरीमा मौन बस्नु परेको प्राधिकरणका वरिष्ठ निर्देशक तथा सूचना प्रविधिविज्ञ आनन्दराज खनाल बताउँछन्। उनी भन्छन्, “मन्त्रालयले मुख्य निर्णय आफैँ गरेर प्राधिकरणलाई कार्यान्वयन गर्न मात्रै पठाउँछ। प्राधिकरणले आफैं विवेक प्रयोग गरेर निर्णय गर्न नपाउने गरी कमजोर बनाइएको छ।”
नियामक निकाय प्राधिकरणले प्रभावकारी अनुमगन गर्न सकेको छैन। टेलिकमले कुनै प्रविधि चलाउन सक्ने वा नसक्ने, कुनै प्रविधिबाट पैसा कमाउन सक्ने वा नसक्ने जस्ता विषय अनुगमन नै हुँदैन। जसकारण टेलिकमकले आवश्यकताभन्दा धेरै ब्रोडब्याण्ड लिएर बस्नु नै कमजोरी भएको खनालको भनाइ छ। उनका अनुसार टेलिकमले आवश्यक नै नभएको फ्रिक्वेन्सी लिएर बस्दा राज्यको लगानी खेर गइरहेको छ।
टेलिकमका प्रवक्ता जोशी भने मोबाइल डाटा ताररहित प्रविधि भएको हुँदा यसले दिने सुविधा कुनै पनि देशमा शत् प्रतिशत नहुने बताउँछन्। कुनै न कुनै कारणले नेटवर्कमा बाधा पुगिरहेको हुने हुँदा मोबाइल ब्रोडव्याण्ड भनेजति पुग्न नसक्ने र ग्राहकले प्रयोग गर्दा पनि गति घटबढ भइरहने उनको भनाइ छ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल नियमित अन्तरालमा र गुनासो पर्दा अनुगमन हुने बताउँछन्। अनुगमनमा कमजोरी फेला परे कारवाही पनि हुने उनको भनाइ छ।
किन डाटा महँगो हुन्छ ?
अरु प्रविधिको तुलनामा मोबाइल डाटा महँगो नै हुन्छ। फाइबर तान्नेहरु, केबल वा एडीएसएलले मोबाइल ब्रोडब्याण्डले जस्तो फ्रक्वेन्सी शुल्क तिर्नुपर्दैन। त्यसैले पनि मोबाइलले जति धेरै ब्याण्डविथ प्रयोग गर्छ उति धेरै फ्रिक्वेक्सी चाहिन्छ। फ्रिक्वेन्सी बढी चाहिएपछि त्यसको शुल्क बढाबढबाट निर्धारण हुने भएकोले बढी शुल्क तिर्नुपर्ने सूचना प्रविधि विद् आनन्दराज खनाल बताउँछन्।
मोबाइल डाटा व्यक्तिगत रूपमा इन्टरनेट चलाउने प्रविधि हो। यो धेरैजनालाई बाँड्न मिल्दैन र इच्छा नलाग्दा बन्द गर्न सकिन्छ। मोबाइल डाटा चलाउँदा भने व्याण्डविथको सीमितता हुन्छ भने अधिकतम गति व्याण्डविथबाटै निर्धारण हुन्छ। जस्तै फोरजीमा बीटीएसको नजिक १० मेगाहर्जमा चलाउँदा १० एमबीपीएससम्म पनि चल्छ।
मोबाइल डाटा सामान्य अवस्थामा सबैलाई एउटै गति र सबै ठाउँमा एकनासले चल्दैन। मोबाइल ब्रोडब्याण्डको स्रोत र व्यण्डविथ सीमित हुने हुँदा फाइबरको तुलनामा महँगो पर्ने सूचना प्रविधिविज्ञ खनाल बताउँछन्। मोबाइलमा ‘हटस्पट’ खोलेर एकभन्दा धेरै डिभाइसमा इन्टरनेट चलाउन मिल्छ। तर, यसमा जति गति आउँछ त्यो बाँडिने हुँदा सुस्त हुन्छ।
मोबाइल सेवा प्रदायकले लाइसेन्सकै लागि हरेक पाँच वर्षमा रु.२० अर्ब तिर्नुपर्छ। मोबाइल सेवा प्रदायकले फ्रिक्वेन्सीकोे पैसा र रोयल्टी दुवै तिनुपर्ने भएकोले फाइबर इन्टरनेटको तुलनामा डाटा संसारभरी नै महङ्गो हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन्।
मोबाइल सेवा प्रदायकले लाइसेन्सकै लागि हरेक पाँच वर्षमा रु.२० अर्ब तिर्नुपर्छ। मोबाइल सेवा प्रदायकले फ्रिक्वेन्सीकोे पैसा र रोयल्टी दुवै तिनुपर्ने भएकोले फाइबर इन्टरनेटको तुलनामा डाटा संसारभरि नै महँगो हुने टेलिकमका प्रबन्ध निर्देशक अधिकारी बताउँछन्।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधीर पराजुली भने नेपालमा मोबाइल मार्फत इन्टरनेट दिने कम्पनी दुई वटा मात्रै भएकोले प्रतिस्पर्धा नहुँदा महङ्गो बनाइएको बताउँछन्। उनी भन्छन्, “सेवा प्रदायकबीच प्रतिस्पर्धा भएन। पहिलो लाइसेन्स लिने कम्पनीले पाँच वर्षमा तिर्ने शुल्क अर्कोले तिर्न नसक्ने गरी सिण्डिकेट गरियो। जसकारण न तेस्रो कम्पनी आउन सकेको छ, न त ग्राहकले सस्तो सेवा पाएका छन्।”
इन्टरनेट सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म १२७ वटा कम्पनीलाई इजाजत दिएको छ। सेवा प्रदायकबीच प्रतिस्पर्धा धेरै भएको र एउटाले भन्दा अर्कोले सस्तो सेवा दिने गरेकोले पनि फाइबर इन्टरनेट सस्तो पर्न गएको पराजुली बताउँछन्। उनी भन्छन्, “प्रति एमबीपीएस रु.७०० मा भित्र्याउने र ग्राहकलाई भने ३५ एमबीपीएसको प्याकेज रु.१ हजार २०० मै दिने गरिएको छ। फिक्स ब्रोडब्याण्ड विश्वको तुलनामा नेपालमा सस्तो दिइरहेका छौं।”
इन्टरनेट सेवा प्रदायक कम्पनी धेरै भएका कारण कसरी सस्तो गराउने र ग्राहक आफूतिर आकर्षित गर्ने भन्ने प्रतिस्पर्धा हुन पुगेको छ। जसकारण मोबाइल ब्रोडब्याण्डको तुलनामा फाइबर इन्टरनेट निकै सस्तो रहेको बुझाइ पराजुलीको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता अर्याल भने फ्रिक्वेन्सी नीतिले तोके अनुसार शुल्क तिर्नैपर्ने बताउँछन्। कुनै पनि सेवा प्रदायकको सेवा तोकिएभन्दा महँगो हुन नपाउने उनको भनाइ छ।