बाङ्लादेशबाट रासायनिक मल खरीद प्रक्रिया शुरु
बाङ्लादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरु भएको छ।
सरकार र बाङ्लादेश सरकारबीच भएको सम्झौता अनुसार मल खरीद प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ। यसअघिको सम्झौता अनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बंगलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए।
ढुवानी कम्पनीले आजैदेखि मल बुझ्न थालेको उनले बताए। “हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ,” भण्डारीले भने। बाङ्लादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल नेपाललाई दिने उनले बताए। त्यो विभिन्न लटमा ढुवानी हुनेछ।
ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको उनले बताए। त्यसका लािग भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनको भनाइ छ।
पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिनेछ। पहिलो लटको मल बिहीबारसम्म नेपाल आउने कम्पनीले जनाएको छ।
कृषि सामग्री कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा यूएईको जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको थियो। नेपालले बाङ्लादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता गरेको थियो।
बङ्गलादेशबाट रासायनिक मल खरीदको तयारीस्वरुप २ पुसमा जीटुजी प्रक्रिया मार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बाङ्लादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो। सम्झौता भएको करिब दुई महीनापछि मल ढुवानी प्रक्रिया शुरु भएको हो।