सुत्केरी जाेगाउन बरदान बन्याे एयर एम्बुलेन्स
सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएका दुर्गमका महिलाको ज्यान जोगाउन ‘एयर एम्बुलेन्स’ सेवा बरदान बनेको छ।
हिउँदको एक अपरान्ह। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एनए-०६१ कल साइनको हेलिकप्टर तयारी अवस्थामा थियो, काभ्रेको महाभारत गाउँपालिकातिर उड्न।
चालक दलका सदस्य उड्ने हतारमा थिए। हेलिकप्टर उडाउनुभन्दा पहिले गर्नुपर्ने जाँच र तयारी गरिरहेका थिए। यो यात्रा उति लामो पनि थिएन। जान बढीमा २० मिनेट, त्यहाँ बस्न बढीमा १० मिनेट र फर्कन त्यही २० मिनेट।
यसको केही समयअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम एकाइ प्रमुख अञ्जु ढुंगाना कार्यालय पुग्न लागेकी थिइन्। उनको अनुहारमा पनि छटपटी झल्किन्थ्यो।
सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाइमार्गबाट सुविधासम्पन्न अस्पताल पुर्याउछ। हालसालै गोरखाको लार्केबाट एक जना महिलाको उद्धार गरेको उनले बताइन्।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको उद्धार गर्न ६ पुस २०७५ मा यो कार्यक्रम सुरु भएको हो। कार्यक्रमबारे एकाइ प्रमुख ढुंगानासँग कुराकानी गरिरहँदा उनको मोबाइलको घन्टी बज्यो।
कुराकानी रोकेर उनले फोन उठाइन। सुत्केरी महिलाको नाम, उमेर सोधिन्। अनि प्रमुख जिल्ला अधिकारीबाट सिफारिश पत्र बनाउन सुझाइन्। त्यस्तै, स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेको भन्ने पत्र बनाउन पनि बिरामीका आफन्तलाई भनिन्।
कहिलेकाहि हतार–हतार सबै प्रक्रिया पूरा गरे पनि, हेलिकप्टर समयमै तयार भए पनि मौसम बिग्रियो भने उद्धार गर्न सकिँदैन। तर, त्यस दिन त्यस्तो थिएन। ‘‘मौसम एकदम राम्रो छ। हेलिकप्टर पठाउँछौँ,’’ ढुंगानाले फोन मै भनिन्। ‘‘छिटो आफ्नो डिटेल टिपाइहाल्नुस। हाम्रो यही नम्बर हो। त्यो सिफारिश पत्रको फोटो खिचेर भाइबरमा पठाइहाल्नुस्। हामी यता बन्दोबस्त गरिहाल्छौँ। छिट्टै गर्नुस्।’’
त्यसपछि उनले नेपाली सेनालाई हेलिकप्टर तयार पार्न खबर गरिन्। उनले फोन गरिसक्दासम्म अन्य कर्मचारीले चिठ्ठी तयार गरिसकेका थिए।
त्यहिपछि उनले नेपाली सेनाको हेलिकप्टर टोलीलाई फोन लगाइन्। सग्लो समाज भिडियो म्यागजिन टोलीलाई त्यसमै जाने व्यवस्था मिलाइदिन आग्रह गरिन्। एउटा चिठ्ठी लेखेर हाम्रो हातमा थमाइन्। त्यहि चिठ्ठी हाम्रा लागि ‘बोर्डिङ पास’ थियो।
चिठ्ठी बोकेर हाम्रो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर हुइकियो। हामी पुगेको केहीबेरमै नेपाली सेनाको हेलिकप्टर उड्यो, काभ्रेको महाभारतका लागि।
त्यो हेलिकप्टर काभ्रेको महाभारतकी लोकमाया दर्लामीलाई लिन उडेको थियो। लोकमायाले बिहान साढे ९ बजे गाउँकै स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन, तर साल नझरेकाले समस्या भयो। रक्तश्राब हुन थाल्यो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई काठमाडौँ ल्याउनु परेको थियो।
बालकैमा बिहे, शरीर परिपक्व नहुँदै अनि उमेर ढल्केपछि गर्भवति हुँदा आमा र बच्चाको ज्यान खतरामा पर्नसक्छ। उपयुक्त उमेरमा गर्भवती भए पनि सुत्केरी हुँदा विभिन्न कारणले स्वास्थ्य समस्या आउनसक्छन्। कहिलेकाहिँ, सुत्केरीलाई आइपर्ने सबै स्वास्थ्य समस्या गाउँठाउँका स्वास्थ्य संस्थाले हल गर्न सक्दैनन।
चिकित्सकहरुका अनुसार तीनवटा कारणले गर्दा सुत्केरी हुने क्रममा आमा, बच्चा अथवा दुवैको ज्यान जोखिममा पर्छ। पहिलो, सुत्केरी हुने वेलामा समस्या आएपछि विरामीलाई तुरुन्तै अस्पताल वा स्वास्थ्यचौकी लान खोजिएन भने। दोस्रो, बिरामीलाई अस्पताल लान खोजिए पनि विभिन्न कारणले तुरून्तै अस्पताल वा स्वास्थ्य चौकी पुर्याउन सकिएन भने र तेस्रो अस्पताल वा स्वास्थ्य चौकी पुर्याए पनि त्यहाँ उपचार गर्न सकिएन भने।
‘‘एकदमै कम उमेरमा बच्चा जन्माउँदा पनि समस्या बढ्नसक्छ,’’ काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्र भन्छिन्, ‘‘स्वास्थ्य संस्थामा सुत्केरी गराइएको रहेनछ भने पनि समस्या बढ्नजान्छ। अहिले पनि हाम्रो गाउँघरतिर घरमै सुत्केरी गराउने चलन छ। त्यसले पनि समस्या हुने गरेको छ।’’
डा. मिश्रका अनुसार, कहिलेकाँही सुत्केरी भएपछि पाठेघर खुम्चिएन भने पनि समस्या आउने गर्छ। ‘‘कहिले सुत्केरी हुँदा योनी च्यातिन सक्छ,’’ डा. मिश्र भन्छिन्, ‘‘कहिले काँही साल अड्केर समस्या आउँछ, कहिले डेलिभरी गर्दा साल छुट्छ।’’
लोकमायाको साल शुरुमा अड्किएको थियो। पछि साल झर्यो तर त्यसका केही टुक्रा भित्रै बसेका थिए।
जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको पनि ज्यान जाने गरेको छ। तीन दशक अघि धेरै सुत्केरीको ज्यान जाने गर्थ्याे। सन् १९९१ मा नेपालमा एक लाख सुत्केरी हुँदा ८५० जना आमाको ज्यान जाने गथ्र्यो। त्यसको २५ वर्षपछि सन् २०१६ मा सुत्केरीको मृत्यु हुने क्रम घट्यो। तैपनि अहिले एक लाख सुत्केरी हुँदा २३९ जना सुत्केरीले ज्यान गुमाउने गरेका छन्।
केही वर्षयता धेरै सुत्केरीको ज्यान जोगाउनमा गाउँ–गाउँमा खटिएका स्वास्थ्य स्वयं सेविकाको ठूलो योगदान छ। उनीहरूले आफ्नो क्षेत्रका गर्भवती महिलाको अवस्थाको रेकर्ड राख्छन्। कसैको अवस्था जटिल रहेछ भने त्यहीअनुसार तयार हुन सल्लाह दिन्छन्।
अर्को, पहिले स्वास्थ्य संस्था नभएका ठाउँमा अहिले खुलेका छन्। कति ठाउँमा सुत्केरीलाई स्वास्थ्य सेवा पुर्याउने संरचना बनेका छन्। तर, सबै स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आइपर्ने जटिल समस्याको उपचार गर्न दक्ष जनशक्ति, अपरेसन कक्ष, रक्तसञ्चारजस्ता सुविधाको अझै पनि अभाव छ। कति गाउँबाट अस्पताल पुग्न दुई दिनभन्दा बढी हिँड्नुपर्छ। यस्तो अवस्थामा सुत्केरीलाई चाँडै स्वास्थ्य सेवा पाइने ठाउँमा पुर्याउनुपर्छ।
पहिले मोटरबाटो नपुगेका धेरै ठाउँमा अहिले मोटरबाटो पुगेको भएपनि कतिपय ठाउँका बाटो राम्रो छैनन्। तिनमा वर्षैभर गाडी चल्न सक्दैनन्। त्यसैले, जटिल स्वास्थ्य समस्या भएका सुत्केरी र भर्खर जन्मेका शिशुका लागि हवाइ एम्बुलेन्स चाहिएको हो।
लोकमायाका लागि हवाइ एम्बुलेन्स बनेर नेपाली सेनाको हेलिकप्टर उनको गाउँमा पुग्यो। हेलिकप्टर गाउँमा ओर्लिने वितिक्कै लोकमायालाई स्टेचरमा बोकेर ल्याइयो।
गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको उनले बताइन्। ‘‘यहाँ स्वास्थ्य चौकी मात्रै हो। अस्पताल छैन। उपचार हुन नसक्ने भएपछि लैजानु परेको हो,’’ स्थानीय स्वास्थ्य कार्यकर्ताले भनिन्। अहिले भने लोकमायाको अवस्था स्थिर रहेको उनले बताइन्।
त्यतिवेलासम्म लोकमायालाई हेलिकप्टरमा चढाइसकिएको थियो। हेलिकप्टरमा सुत्केरीका आफन्तलाई पनि चढाइन्छ। सुत्केरीको अवस्था जटिल रहेछ र हवाइमार्गमा पनि स्वास्थ्य सेवा चाहिने रहेछ भने चिकित्सक पनि सुत्केरीसँगै आउनुपर्ने हुन्छ। लोकमायासँगै आमा, नन्द र भिनाजु पनि हेलिकप्टरमा चढे।
लोकमाया हेलिकप्टर चढ्नुभन्दा पहिलेदेखि नै अचेत थिइन्। स्वास्थ्यकर्मीले लोकमायालाई निदाउन नदिनु भनेका थिए। त्यसैले आमाले लोकमायाको हात सुम्सुम्याइरहेकी थिइन्। लोकमायाकी नन्दले गीत बजाएर मोबाइल फोन सेट कान नजिक राखिदिइन्।
फोन नम्बरहरु :
९८५१२५५२५४ (हट्लाईन नम्बर)
९८४१८६९१८१,
९८४१६०६८७७,
०१-४२००३२८,
०१-४२००३३७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रायलले कस्ता महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने भनेर मापदण्ड बनाएको छ। यो मापदण्डअनुसार यस्तो अवस्थामा गर्भवती अथवा सुत्केरीको हवाइ उद्धार गरिन्छः लगातार लामो समय सुत्केरी ब्यथा लाग्दा पनि बच्चा जन्माउन कठिन भएका, गर्भमा बच्चाको मुत्यु भएका, सालनाल नझरेका, गर्भवती अवस्थामा शरीर अत्याधिक सुन्निएका, सुत्केरी भएपछि अत्याधिक रगत बगेका, रगतको कमी भएका गर्भवती, पाठेघर फुटेको लक्षण देखिएका र स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका।
यसरी हवाइ उद्धार गरिएका महिलालाई विराटनगर, राजविराज, जनकपुर, वीरगञ्ज, काठमाडौं, चितवन, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज, जुम्ला, सुर्खेत र धनगढीका सरकारी अस्पतालमध्ये जुन पायक पर्छ त्यहीँ पु¥याइन्छ। लोकमायालाई भने काठमाडौंको प्रसूति गृह पायक पर्ने भएकाले त्यहीँ लग्न लागिएको हो।
हेलिकप्टरमा उडिरहँदा लोकमायाको रगत बगेर खुट्टासम्म पुगेको थियो। उनी अचेत थिइन्। उनका आफन्तहरु केही बोल्न सकिराखेका थिइनन्। एकहोरिएका थिए। हेलिकप्टरभित्र छटपटी र उकुसमुकस थियो।
हेलिकप्टर त्रिभुवन विमानस्थलमा ओर्लिदा परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको एम्बुलेन्स त्यहाँ पुगिसकेको थियो। कत्ति पनि ढिलो नगरी एम्बुलेन्स अस्पतालतिर दौडियो। केहीबेरमा एम्बुलेन्स अस्पतालमा पुग्यो।
विरामीका आफन्तले लिनुपर्ने कागजपत्र :
गाउँ/नगरपालिकाको सिफारिस
स्थानीय स्वास्थ्य संस्थाको पत्र
प्रमुख जिल्ला अधिकारीको पत्र
लोकमायाको होस अझै फिरेको थिएन। बच्चा जन्माएको झण्डै सात घन्टामा काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा ल्याइपु¥याइयो। यो अस्पताल त्यतिबेलाका युवराज महेन्द्रकी युवराज्ञी तथा पछिका राजा वीरेन्द्रकी आमा इन्द्रराज्यलक्ष्मीदेवी शाहको सम्झनामा बनाइएको हो। उनको पनि बच्चा जन्मिएपछि बगेको रगत नरोकिएर मृत्यु भएको थियो। उनी त्यतिवेला २४ वर्षकी थिइन्।
कहिलेकाहिँ भने यसरी उद्धार गरेर ल्याउँदा पनि सुत्केरीको ज्यान बच्दैन। जस्तै, संखुवासभाकी एउटी सुत्केरी। विराटनगरमा निजी अस्पतालमा सुत्केरी भएपछि उनको धेरै रक्तश्राव भयो। यसको उपचार गर्न अस्पतालले मागे जति पैसा दिन नसकेपछि उनलाई आफ्नो घर संखुवासभा लगियो।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था छ भन्ने बताएपछि उनलाई काठमाडौं ल्याइयो। तर, यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको थियो। उनको ज्यान जोगाउन सकिएन।
सिन्धुपाल्चोकी एकजना सुत्केरीलाई बेथा लागेपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि गयो। सिन्धुपाल्चोकबाट काठमाडौं ल्याइयो। तर, सुत्केरी बेथा लागेको लामो समय भइसकेको थियो। त्यसैले उद्धार गरेर अस्पताल पुर्याए पनि शिशुलाई बचाउन सकिएन।
२०७५ पुसमा यो कार्यक्रम शुरु भएदेखि २०७७ पुस अन्तिमसम्म १७० जना सुत्केरीको हवाइ उद्धार गरिएको छ। धेरै आमा र शिशुले भने पुनःजीवन पाएका छन्। यो काम कति महत्वपूर्ण छ भन्ने सोलुखुम्बुको सोताङकी पुष्षकला राईलाई राम्रोसँग थाहा छ। ‘‘चार–पाँच दिन पेटमा सारो हुँदा डर लाग्यो। पानी बगेको थियो, दिसैदिसा बगेको थियो मेरो,’’ पुष्पकला सम्झिन्छिन्।
त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो। प्रसूति गृहका दक्ष चिकित्सकको सहयोगमा उनले बच्चा जन्माइन्। पुष्पकलाका श्रीमान परशुराम राई भन्छन्, ‘‘त्यतिवेला लकडाउन थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यस्तो सेवा रहेछ। उहाँहरूले त्यसको व्यवस्था मिलाइदिनुभयो।’’
पुष्पकला छोरा बोकेर घर फर्किसकेकी छिन्।
लोकमायालाई अस्पताल पुर्याएको दुई दिनपछि हाम्रो टोली अस्पताल पुग्दा उनका श्रीमान रुपेन्द्र आले खुशी देखिन्थे। हेलिकप्टरबाट उद्धार गरिएकोमा अचम्मित भएका थिए। ‘‘अहिलेसम्म यसरी निःशुल्क उद्धार गरेको थाहा छैन। पहिलो पटक हो, अचम्म भयो,’’ रुपेन्द्रले भने।
लोकमाया पनि होसमा आइसकेकी थिइन्। अस्पतालको शय्यामा पल्टिरहेकी उनको मुहार हसिलो देखिन्थ्यो। तैपनि अझै डर लागिरहेको सुनाइन्। ‘‘मलाई त अहिले पनि मर्छु जस्तो लागेको छ,’’ लोकमायाले भनिन्।
अस्पताल निर्देशक डा. मिश्रले लोकमायाको सामान्य उपचार गरिएको र दुई पोका रगत मात्रै चढाउनु परेको उनले बताइन्। लोकमायाको अवस्था खतरामुक्त रहेको बताउँदै डा. मिश्रले भनिन्, ‘‘रगत चढाइसकेपछि बिरामी स्थिर हुनुहुन्छ। उहाँको अवस्था सामान्य छ।’’
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०)बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रशारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज'को छैटाैँ अंक ‘संकटमा साथ’मा आधारित सामग्री।)