काठमाडौंमा चार हजार ७०७ नयाँ उद्योग
काठमाडौंमा साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको छ ।
चालू आर्थिक वर्षमा मात्र काठमाडौंमा चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
ती मध्ये पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योग धेरै छन् ।
संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फेले बताइन् ।
"पछिल्लो पटक सबै यातायात व्यवसायी कम्पनीमा जानुपर्ने प्रावधानपछि ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन्”, उनले भनिन् ।
कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा एक हजार ४५, मङ्सिरमा ६३७, पुसमा एक हजार १७०, माघमा ४९३, फागुनमा ५६९ र चैतमा ७९३ उद्योग दर्ता गरेको छ ।
यस वर्ष दर्ता भएका उद्योगको एकमुष्ठ लगानी रु चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार छ ।
सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ ।
विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ ।