दोस्रो चरणको कोरोनाविरुद्ध खोप अभियान शुरु, १० दिनमा थप तीन लाखलाई लगाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको छ। दोस्रो चरणमा पनि लक्षित समूहलाई ‘कोभिशिल्ड’ खोप दिइनेछ।
पहिलो चरणको अभियान २४ माघमा सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको अभियान शुरु गरेको हो। दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई खोप दिइने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए। उनका अनुसार यो चरणमा करीब तीन लाख जनालाई खोप लगाइने छ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई लगाउन थालिएको हो। पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यभन्दा कमले मात्र लगाएका छन्। सो क्रममा एक लाख ८४ हजार ८५७ जनालाई खोप लगाइएको थियो।
उप्रेतीका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई–तीन दिनपछि खोप लगाइने छ। पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रबारसम्म खोप लगाइने छ। “पत्रकार र कूटनीतिक नियोगका कर्मचारीबाहेक अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ”, उनले भने, “दुई–तीन दिनपछि उनीहरुलाई पनि खोप लगाइने छ ।”
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो। तर, सरकारले यसअघि जारी गरेको खोप लगाउनेको प्राथमिकता सूचीमा भने पत्रकार र कूटनीतिक नियोगका कर्मचारी पर्दैनन्।
सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, जेलका बन्दी र त्यहाँ कार्यरत सुरक्षाकर्मी, विमानस्थल तथा भन्सारका कर्मचारी, जेष्ठ नागरिकहरु र दीर्घरोगीलाई राखिएको छ। लक्षित सूचीको पहिलो प्राथमिकतामा परेका जेष्ठ नागरिक, दीर्घरोगी लगायतले खोप नपाउँदै पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई दिन लागिएको हो।