भागरथीको हत्याका पाँच दिन, कहाँ पुग्यो अनुसन्धान?
स्कुल र प्रहरी चाैकी नजिकै मृत भेटिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पाँच दिनसम्म प्रहरीले कुनै ‘क्लु’ पाएको छैन भने परिवारजनले शव बुझ्न मानेका छैनन्।
दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी २१ माघ बिहान सदाझैँ स्कुल गएकी थिइन्। साँझ नफर्केपछि परिवारजनले खोजी थालेका थिए। २२ माघ बेलुकी घरभन्दा तीन किलोमिटर टाढा लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।
इलाका प्रहरी कार्यालय, खोचलेक र विद्यालयबाट करिब दुई किलोमिटरको दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। त्यहि राति घटनास्थल पुगेका बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धान भइरहेको बताए।
घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीका लागि दबाब दिन शव नबुझेको भागरथीका आफन्त शिवराज भट्टले बताए। पाँच दिन हुँदा पनि प्रहरीले घटनामा संलग्नको पहिचान समेत गर्न नसकेकाले निर्मला पन्तको जस्तै अपराधि उम्किनसक्ने आशंकाले आफन्तले शव नबुझेर दबाब दिइरहेका छन्।
किशोरीको बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो। उनका दाइ बुवाकाे किरिया सकेर रोजगारका लागि भारत गएका छन्। आमा विक्षिप्त अवस्थामा रहेकी छिन्।
घटनाको दोस्रो दिन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको टोली घटनास्थल पुगेको थयो। उनले अनुसन्धान भइरहेकाले हत्यामा संलग्न चाँडै पक्राउ पर्ने बताए । उनी २३ माघमा सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोलीसहित घटनास्थल पुगेका थिए। ‘‘घटनाको अनुसन्धान सहयोगका लागि फरेन्सिक टिम बोलाएका छौँ,’’ प्रजिअ जोशीले भने।
त्यहि दिन जिल्ला प्रहरी कार्यालयले भागरथीको शव भेटिएको स्थल सिल गरेको थियो। थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहित टोली बोलाएर परिचालन गरिएको थियो।
संघीय प्रहरी कार्यालय, धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली पनि घटनास्थलमै खटिएको छ। उनको टोली तालिमप्राप्त कुकुरसहित खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको दोस्रो दिनदेखि नै सनातन धर्म माविका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालयनजिकै रहेको खोचलेक बजारमा प्रदर्शन गरेका थिए।
त्यस क्षेत्रका प्रदेशसभा सदस्य लीलाधर भट्टले पनि त्यहि घटनास्थल पुगेर परिवारजनसँग भेटघाट गरेका थिए। उनले भागरथीकी आमालाई भेटर न्याय दिलाउन लाग्ने जनाउँदै सान्त्वना दिएका थिए।
२३ माघमा बैतडी पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदीले किशोरीको हत्या घटनालाई गम्भीरतासाथ लिएको बताए। घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको अनुसन्धान टोली बैतडी पठाएको डीआईजी सुवेदीले बताए।
घटनाको तेस्रो दिन २४ माघमा भागरथीको शव परीक्षण गरिएको थियो। स्थानीय प्रशासनले अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्न खोजेपनि परिवारजनले बुझ्न मानेनन्। उनीहरुले दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने बताउँदै आएका छन्।
प्रहरीले प्रारम्भिक अनुमानअनुसार, घटना भएको क्षेत्रमा त्यस दिन हिडडुल गर्नेलाई सोधपुछ गरेको थियो। घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा २१ र २२ माघमा चलेका सवारी साधान र यात्रुबारे जानकारी लिएको थियो। दुवै दिन सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध गरेको प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए। ‘‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ,’’ उनले भने।
त्यहि दिन एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान थालेको हो।
अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले बताए। टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई खटाइएको छ। किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ थियो।
तेस्रो दिन नै घटनामा संलग्न भएको आशंकामा ६ जनालाई सोघपुसको लागि नियन्त्रणमा लिएको थियो। शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने क्रम चलिरहेको सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।
उनकाअनुसार शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ। अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको उनले बताए।त्यस्तै, भागरथीसँग सम्पर्कमा आएका तथा उनीलाई देखेकाहरुसँग पनि सोधपुछ भइरहेको छ।
घटनाको चौथो दिन डीआईजी सुवेदी पनि घटनास्थल पुगेका थिए। उनले पनि स्थानीय बासिन्दा तथा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसँग कुराकानी गरेका थिए।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा बलात्कारपछि हत्या गरिएको देखिएकाे थियो। २५ माघमा नै जिल्ला अस्पतालले दिएको रिपोर्ट आधारमा पनि प्रहरीले बलात्कार भएकाे ठहर गर्दै अनुसन्धान अगाडि बढाएकाे छ।
भागरथीको शव भेटिएको आज पाँचौ दिन पनि प्रहरी टोली घटनास्थलमै खटिएको छ। अनुसन्धानमा सहज हुने वातावरण बनाउन सुदूरपश्चिम प्रहरीका डीआईजी सुवेदी पनि बैतडीमै छन्।
आफन्तजनले भागरथीको शव बुझ्न मानेका छैनन्। पाँच दिनदेखि उनको वश जिल्ला अस्पतालमै छ। स्थानीय प्रशासनले शव बुझेर अन्तिम संस्कार गर्न आग्रह गरेको छ।
घटनामा कुनै पनि सुराक मिलेको छैन। सोधपुछका लागि नियन्त्रणमा लिएका ६ जनालाई पनि छोडिएको छ। अनुसन्धान सन्तोषजनक रहेको भएपनि कुनै ‘क्लू’ नभेटिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी सिंहले बताए। ‘‘अनुसन्धानको दायरा साघुरिँदै गएकाले छिट्टै सफलता विश्वास छ,’’ उनले भने।