हिउँदमा बिजुली अभाव, वर्षायाममा ७०० मेगावाट खेर जाने जोखिम
भारततिर निर्यात गर्ने विषय टुंगो नलागे आगामी वर्षायाममा देशभित्र उत्पादित बिजुलीको एक तिहाइ खेर जाने जोखिम छ।
यतिबेला वर्षभरिका तुलनामा खोलामा पानीको बहाव न्यून छ । यो वर्ष राम्ररी हिउँदे वर्षा नभएकाले पनि खोलामा पानीको बहाव अघिल्ला वर्षहरूभन्दा घटेको छ । अधिकांश विद्युत् परियोजना नदीको प्रवाहमा आधारित (रन अफ द रिभर) भएकाले कात्तिकपछि चैतसम्म नै खोलामा पानीको प्रवाह घट्न पुग्छ । जसकारण विद्युत् उत्पादन गृहहरूको उत्पादन क्षमता पनि खुम्चिन्छ र विद्युत् व्यवस्थापनमा चाप पर्छ।
हिउँदमा विद्युत्को माग अनुसारको आपूर्ति व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली आयात गर्छ । अहिले नै पनि साँझ–बिहानको उच्चतम विद्युत् मागलाई थेग्न भारतबाट ७०० मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन् । प्राधिकरण अन्तर्गतका र निजी क्षेत्रका आयोजनाबाट बढीमा करीब ८०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ।
माग नबढ्ने तर विद्युत् उत्पादन अहिले भइरहेको तुलनामा झण्डै आधा थपिने भएपछि वर्षायाममा ७०० सय मेगावाट हाराहारीमा विद्युत् खेर जाने सम्भावना छ । आन्तरिक खपत पनि नबढ्ने र निर्यातको तत्काल सम्भावना नरहेकाले जेठदेखि कात्तिकसम्मै बिजुली खेर जाने जोखिम रहन्छ।
तर, जसै गर्मी चढेर हिउँ पग्लिन थालेपछि खोलामा पानीको बहाव बढ्छ, विद्युत् उत्पादन पनि बढ्न थाल्छ । वर्षायाममा त विद्युत् खेर नै जान्छ । अहिले देशका जलविद्युत् गृहहरूको उत्पादन क्षमता १ हजार ४०० मेगावाट हाराहारीमा छ । वर्षायाममा देशको विद्युत् माग धान्न यी पर्याप्त छन् । रातको समयमा विद्युत् माग आधा खुम्चिने भएकाले बिजुली खेर जानेगर्छ । जस्तै, गत वर्षायाममा रातको समयमा दैनिक ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो।
आगामी वर्षायाममा बिजुली खेर जाने क्रम थप बढ्नेछ । किनभने, आगामी वर्षायाम अगाडि नै करीब ७०० मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा आउने अनुमान गरिएको छ, जसमा देशको अहिलेसम्मकै ठूलो माथिल्लो तामाकोशी पनि एक हो । माग नबढ्ने तर विद्युत् उत्पादन अहिले भइरहेको तुलनामा झण्डै आधा थपिने भएपछि वर्षायाममा ७०० सय मेगावाट हाराहारीमा विद्युत् खेर जाने सम्भावना छ । आन्तरिक खपत पनि नबढ्ने र निर्यातको तत्काल सम्भावना नरहेकाले जेठदेखि कात्तिकसम्मै बिजुली खेर जाने जोखिम रहन्छ।
बिजुली हिउँदमा अभाव हुने र वर्षामा खेर जाने नियति आउने केही वर्ष थप चर्किँदै जाने जोखिम छ । विद्युत् प्राधिकरण आफैँले आगामी वर्षायाममा विद्युत् खेर जाने आकलन गरेको प्राधिकरणका निमित्त कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्य बताउँछन्।
करीब ७०० मेगावाट थपिने
एक दशकअघि निर्माण शुरू भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण यो आर्थिक वर्षभित्र सकिने अनुमान गएिको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख शाक्य वैशाखसम्ममा आयोजनाको पहिलो युनिटबाट उत्पादन शुरू गरिने बताउँछन् । यद्यपि, ठेकेदारको ढिलासुस्तीका कारण अझै यो आयोजनाको सञ्चालन तोकिएको समयमा हुने हो कि होइन भन्ने अनिश्चितता छ ।
माथिल्लो तामाकोशी बाहेक यो आर्थिक वर्षमा ४२ मेगावाटको मिस्त्री खोला, ३० मेगावाटको न्यादी, २५ मेगावाटको अप्पर दोर्दी ए, २७ मेगावाटको दोर्दी खोला, २० मेगावाटको तल्लो मोदी, २२ मेगावाटको अप्पर चाकु ए, २५ मेगावाटको सिंगटी खोलासहितका करीब ७०० मेगावाटका आयोजनाको निर्माण सकिने प्राधिकरणले अपेक्षा गरेको छ।
त्यसो हुँदा, आगामी वर्षायाममा नेपालको विद्युत् उत्पादनको जडित क्षमता करीब २ हजार १०० मेगावाट हाराहारी हुनेछ । वर्षायाममा जडित क्षमता अनुसार नै विद्युत् उत्पादनको सामर्थ्य हुने भएकाले यी आयोजनाहरूबाट पूर्णरूपमा विद्युत् उत्पादन हुनेछन् । तर, विद्युत्को उच्चतम माग १ हजार ५०० मेगावाट हाराहारीमा मात्रै रहने अनुमान छ । प्राधिकरणका प्रवक्ता तिम्सिनाका अनुसार, यो हिउँदमा जाडो बढेको दिनमा समेत विद्युत्को उच्चतम माग १ हजार ४८० मेगावाट मात्रै छ । रातको समयमा त माग ८०० मेगावाटको हाराहारीमा ओर्लिन्छ । यसको अर्थ, आगामी वर्षायाममा प्रणालीमा चौबीसै घण्टा २ हजार १०० मेगावाट हाराहारीमा विद्युत् उपलब्ध हुन्छ, तर त्यसको कम्तीमा एक तिहाइ खेर जाने जोखिम छ।
आगामी वर्षायाममा नेपालको विद्युत् उत्पादनको जडित क्षमता करीब २ हजार १०० मेगावाट हाराहारी हुनेछ । वर्षायाममा जडित क्षमता अनुसार नै विद्युत् उत्पादनको सामर्थ्य हुने भएकाले यी आयोजनाहरूबाट पूर्णरूपमा विद्युत् उत्पादन हुनेछन् । तर, विद्युत्को उच्चतम माग १ हजार ५०० मेगावाट हाराहारीमा मात्रै रहने अनुमान छ ।
विद्युत् खपत गर्ने विकल्प नखोजिए निर्माण सकिने तर्खरमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खेर जाने जोखिम हुन्छ । अहिले करीब २ हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्, जसमध्ये करीब १ हजार मेगावाट क्षमताका आयोजना निर्माणको अन्तिम चरणमा छन् । त्यस्तै, थप ३ हजार मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापनको चरणमा भएकाले केही वर्षभित्रै यी आयोजना निर्माण सकिएर राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछन् । तर, देशभित्रै यो परिमाणमा विद्युत् खपत हुँदैन।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख शाक्य, विद्युत् क्षमता विस्तारको शुरूआती चरणमा विद्युत् खेर गयो भनेर आत्तिन नहुने बताउँछन् । उनी ऊर्जा प्रणालीको विश्वसनीयता तथा ऊर्जा दक्षताका लागि शुरूआतमा केही विद्युत् खेर जानु अस्वाभाविक नहुने तर्क गर्छन् । “विद्युत् खेर जान्छ भनेर आयोजना निर्माण नै नगर्ने कुरा आउँदैन, एक–दुई वर्षको हिउँदमा विद्युत् खेर गए पनि बिस्तारै त्यसले विद्युत् प्रणालीलाई सुदृढ बनाउँदै लैजान सहयोग गर्छ ।” उनका अनुसार, प्रणालीमा पर्याप्त विद्युत् हुन थालेपछि माग पनि बढ्दै जान्छ।
बिजुली खेर जाँदाको मार प्राधिकरणले भोग्नुपर्छ । प्राधिकरणले गत वर्षायाममै बिजुलीको मागभन्दा उत्पादन धेरै हुन थालेपछि आफ्ना आयोजनाबाट उत्पादन कटौती गरेर निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् किनेको थियो । आगामी वर्षायाममा मागभन्दा उत्पादन धेरै भएपछि प्राधिकरणसँग आफ्ना आयोजना बन्द गरेर बिजुली किन्ने बाध्यता आइपर्नेछ । किनभने, प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् उत्पादकहरूसँग आयोजना शुरु हुनुभन्दा अगाडि नै बिजुली किनिदिने सुनिश्चितता गरिसकेको छ । यसले प्राधिकरणको वित्तीय स्थिति धर्मराउने जोखिम हुन्छ । यस्तो हुन नदिने एउटै विकल्प बिजुली भारततर्फ निर्यात हो, जसमा भारतले गम्भीर भएर चासो देखाएको छैन।
निर्यातको छैन टुंगो
गत मंसीरमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय आठौँ बैठक बसेको थियो, जसले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गर्ने अपेक्षा गरिएको थियो । तर, वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने इनर्जी ब्यांकिङबारे नेपाली अधिकारीहरूको प्रस्तावमा भारतले आलटाले जवाफ दियो । बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमति अन्तरदेशीय विद्युत् मार्गदर्शन (क्रसबोर्डर इलेक्ट्रिसिटी गाइडलाइन) तथा कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल–सीबीआर) संशोधन गरेर इनर्जी ब्यांकिङको व्यवस्था गर्ने विषयबाट समेत पछाडि हट्यो । यसले प्रष्ट देखायो, नेपालको बिजुली लैजान भारतको इच्छा छैन।
विद्युत् व्यापार गर्न सक्दा नेपालले वर्षायाममा महँगोमा बिजुली बेचेर हिउँदमा सस्तोमा किन्न सक्छ । किनभने, भारतमा वर्षायाममा बिजुलीको माग धेरै र हिउँदमा माग थोरै हुँदा मूल्य पनि फरक पर्छ । तर, विद्युत् व्यापारका विषयमा पनि ठोस काम अगाडि बढेको छैन।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख शाक्य इनर्जी ब्यांकिङ भारतको भन्दा नेपालको मुख्य सरोकारको मुद्दा भएको बताउँछन् । उनी यसअघिदेखि नै भारतले इनर्जी ब्यांकिङमा चासो नदेखाएको ठम्याउँछन् । “हामीलाई पनि दीर्घकालमा फाइदा त खुला बजारमा विद्युत् किनबेच गर्ने विद्युत् व्यापारकै प्रणालीमा छ,” उनी भन्छन्।
हुन पनि, विद्युत् व्यापार गर्न सक्दा नेपालले वर्षायाममा महँगोमा बिजुली बेचेर हिउँदमा सस्तोमा किन्न सक्छ । किनभने, भारतमा वर्षायाममा बिजुलीको माग धेरै र हिउँदमा माग थोरै हुँदा मूल्य पनि फरक पर्छ । तर, विद्युत् व्यापारका विषयमा पनि ठोस काम अगाडि बढेको छैन।
गत मंसीरमा भएको दुई देशको ऊर्जा सचिवस्तरीय बैठकमा भारतले दुई देशबीच खुला बजारमा विद्युत् किनबेच (आयात–निर्यात) गर्ने विषयमा पनि ठोस निर्णय गर्न मानेन । नेपालले द्विपक्षीय विद्युत् व्यापारको बाटो खोल्न पनि अनुरोध गर्दै आएको छ । त्यसका लागि भारतको अन्तरदेशीय विद्युत् आयात–निर्यातसम्बन्धी कार्यविधि संशोधन आवश्यक हुन्छ।
नेपाल र भारतले सन् २०१२ मा विद्युत् व्यापारका लागि पहिलो अन्तरदेशीय ४०० केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन निर्माणको सहमति गरेका थिए । त्यस्तै, सन् २०१४ मा विद्युत् व्यापार सम्झौता गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष नै द्विपक्षीय विद्युत् व्यापारका लागि भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) लाई नोडल एजेन्सीका रूपमा तोकिसकेको थियो । यो एजेन्टले नेपालको विद्युत् भारतीय बजारमा बिक्रीको जिम्मेवारी लिन्छ । तर, भारतको ऊर्जा मन्त्रालयले कार्यविधि संशोधन मार्फत यस्तो विद्युत् व्यापारलाई स्वीकृति नदिउन्जेल विद्युत् व्यापार कार्यान्वयनमा आउँदैन । तर, भारतले अहिलेसम्म विद्युत् व्यापार गर्ने ढोका खोलेको छैन।
विद्युत् प्राधिकरणका प्रवक्ता तिम्सिना आगामी वर्षायाममा बढी हुने बिजुली कसरी व्यवस्थापन गर्ने वा भारततर्फ निर्यात गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, “भारततर्फ विद्युत् निर्यातका लागि प्राधिकरण र ऊर्जा मन्त्रालयले गृहकार्य गरी खाका निर्माण गरिरहेका छन्, वर्षायाम अगाडि नै केही ठोस निर्णय हुन्छ।”