नेपाल–बेलायत सम्बन्धकाे २०० वर्ष : अझै बाँकी छ सम्बन्धमा संशय
कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक र गोर्खा सेना मार्फत थप निकटता बढेको बेलायत र नेपालबीचको सम्बन्ध गहिरिँदो छ । तर, कतिपय विषयले त्यो प्रगाढ साइनोमा प्रश्न उठाउँछन्।
अठारौँ शताब्दीको मध्यतिर सानो, पछौटे हिमाली राज्य नेपालको विश्वभरि साम्राज्य फैलाउने बेलायतसँग शत्रुतापूर्ण सम्बन्ध थियो । उक्त दुश्मनी उन्नाइसौँ शताब्दीको दोस्रो दशकको मध्यसम्म जारी रह्यो।
सम्पूर्ण भारतीय उपमहाद्वीपमा औपनिवेशिक शासन गरिरहेको बेलायतको प्रमुख स्वार्थ तत्कालीन समयमा व्यापारिक केन्द्रको रूपमा रहेको काठमाडौँ, तिब्बत र चीनको पश्चिमी भूभागसँग काठमाडौँको बाटो भएर निर्बाध रूपमा व्यापार गर्नु थियो, जुन सपना नेपालको भय, शंका र अनिच्छाका कारण सम्भव भएको थिएन । जसरी ब्रिटिश–भारतले एकपछि अर्को भारतीय राज्यहरूको सार्वभौमिकता र स्वाधीनता हडपिरहेको थियो, ब्रिटिश–भारतसँग सम्बन्ध बढाएमा त्यसरी नै नेपाललाई पनि निल्छ भन्ने त्रासदी नेपाली शासकहरूको मनमा थियो।
बेलायतमा सन् १७६० बाट औद्योगिक क्रान्ति शुरू भएको थियो । यसको धेरै पछाडि मात्र बाँकी युरोपमा शुरू भयो । औद्योगिक क्रान्तिका कारण कृषि र कालिगढको कौशलमा आधारित अर्थतन्त्र एकाएक यन्त्रबाट उत्पादन हुने उद्योगमा परिणत भयो । वस्तुहरू कैयौँ गुणा बढी उत्पादन हुन थाल्यो । जसका कारण बेलायतलाई नयाँ बजार आवश्यक भयो । उसले नयाँ बजारका रूपमा काठमाडौँ, तिब्बत र चीनको पश्चिमी भूभागलाई लक्ष्य बनायो।
अर्कोतिर, उद्योगहरूमा कच्चा पदार्थको माग अत्यधिक बढेकाले उल्लिखित बजारबाट कौडीको मूल्यमा कच्चा पदार्थ प्राप्त गर्नु बेलायतको दोस्रो स्वार्थ थियो । त्यसैले ब्रिटिस–भारतले नेपालसँग सम्बन्ध गाँस्न कुनै कसर बाँकी राखेन । यही उद्देश्य प्राप्तिका लागि विभिन्न व्यक्तिको नेतृत्वमा अनेकौँ प्रतिनिधिमण्डल काठमाडौँ पठायो । यस्ता प्रयास ब्रिटिश–भारतले ६ दशकसम्म जारी राख्यो, तर नेपालको हिचकिचाहटका कारण सबै प्रयास विफल भए।
जब बेलायतले युरोपमा लडिरहेको नेपोलियन बोनापार्ट विरुद्धको युद्ध र अन्य युद्धबाट मुक्ति पायो, तब विभिन्न बहानामा नेपालसँग निहुँ खोज्न थाल्यो । अन्ततः सन् १८१४ मा एङ्लो–नेपाल युद्ध भयो । करीब दुई वर्षसम्म चलेको उक्त युद्धमा बेलायतले डेभिड र गोलियाथबीचको प्रतिस्पर्धामा जस्तै नेपाल विरुद्ध सजिलै विजय हासिल गर्यो ।
सन् १७६७ मा क्याप्टेन जर्ज किनलकको नेतृत्वमा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिश–भारतको फौजसँग पृथ्वीनारायण शाहको सेनाको युद्ध भयो । पृथ्वीनारायण बेलायतीहरूप्रति बढी नै अनुदार र असहिष्णु भएका कारण गहिरो विश्लेषणपछि शाहको सहयोगको अनुरोध अस्वीकार गर्दै जयप्रकाश मल्ललाई सहयोग गर्न किनलक नेतृत्वको फौज नेपाल आएको थियो। तर, कस्ता–कस्ता शक्तिलाई पराजित गरेको बेलायतले एउटा सानो, गरीब र पहाडी राज्य गोर्खाको फौजसँग लज्जास्पद हार व्यहोर्नुपर्यो । पराजयको प्रमुख कारण त शाहका सेनाको गुरिल्ला रणनीति नै थियो । अन्य कारणमा ब्रिटिश फौजलाई प्रतिकूल हावापानी, रसदपानी अभाव, औलोको समस्या, अपरिचित भूगोल आदि थिए।
पृथ्वीनारायणले युद्धमा हताहत भएका र भागेका अंग्रेज सेनाको अत्याधुनिक हातहतियार ठूलो संख्यामा कब्जा गरेका थिए । यी हतियार प्राप्त गरेपछि नै उनी सैनिक शक्तिको दृष्टिले तत्कालीन नेपालका अरु राज्यहरू भन्दा धेरै शक्तिशाली भएका थिए । यिनै हतियारको व्यापक प्रयोग गरेर उनले लिम्बूवानसहित अन्य राज्यलाई जितेका थिए।
समयको अन्तरालसँगै बेलायत नेपाललाई एउटा शक्तिहीन पहाडी राज्यमा खुम्च्याउने र गतिलो पाठ सिकाउने उपयुक्त अवसरको पर्खाइमा थियो । जब बेलायतले युरोपमा लडिरहेको नेपोलियन बोनापार्ट विरुद्धको युद्ध र अन्य युद्धबाट मुक्ति पायो, तब विभिन्न बहानामा नेपालसँग निहुँ खोज्न थाल्यो । अन्ततः सन् १८१४ मा एङ्लो–नेपाल युद्ध भयो । करीब दुई वर्षसम्म चलेको उक्त युद्धमा बेलायतले डेभिड र गोलियाथबीचको प्रतिस्पर्धामा जस्तै नेपाल विरुद्ध सजिलै विजय हासिल गर्यो । त्यसवेलासम्म नेपालले तीव्र रूपमा राज्य विस्तार गरिरहेको थियो।
यदि उपनिवेशवादी बेलायत भारतमा शासन गर्न नआएको भए दक्षिण एशियामा सम्भवतः आज भारतको सट्टा नेपाल सबैभन्दा शक्तिशाली राज्य हुन्थ्यो । पराजयपछि नेपाल बेलायतसँग सन् १८१६ मा सुगौली सन्धि गर्न बाध्य भयो ।
सन्धिको प्रावधान अनुसार बेलायतले काठमाडौँमा आफ्नो एक प्रतिनिधि राख्ने सुविधा पायो, जुन बेलायतको वर्षौँदेखिको अभिलाषा थियो । सन् १८१६ मै एडवार्ड गार्डनर बेलायतको पहिलो प्रतिनिधिका रूपमा काठमाडौँ आएर काम गर्न थाले । यही सन्धिकै कारण नेपाल युगौँसम्म ब्रिटिश–भारतको अधीनस्थ राज्य जस्तै बन्न पुग्यो । अझ गम्भीर सन्तापको विषय के छ भने, स्वतन्त्र भारतले समेत आजसम्म नेपाललाई उसको एउटा राज्य सरहको हेपाहा व्यवहार गर्ने धृष्टता गर्दै आएको छ।
नेपालले सन् १९३४ मा मात्र लण्डनमा आफ्नो कूटनीतिक नियोगको कार्यालय स्थापना गरेको थियो । यी प्रतिनिधिहरूको हैसियत सन् १९४७ मा मात्र सम्पूर्ण अधिकारसहितको राजदूत सोसरहको बनाइएको थियो । राणा शासनको पतन हुनुअघिसम्म करीब २५ ब्रिटिश प्रतिनिधिले काठमाडौँमा बसेर कूटनीतिक कार्यसम्पादन गरेका थिए । तीमध्ये धेरैले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेका थिए ।
नेपालले सन् १९३४ मा मात्र लण्डनमा आफ्नो कूटनीतिक नियोगको कार्यालय स्थापना गरेको थियो । यी प्रतिनिधिहरूको हैसियत सन् १९४७ मा सम्पूर्ण अधिकारसहितको राजदूत सोसरहको बनाइएको थियो। राणा शासनको पतन हुनुअघिसम्म करीब २५ ब्रिटिश प्रतिनिधिले काठमाडौँमा बसेर कूटनीतिक कार्यसम्पादन गरेका थिए । तीमध्ये धेरैले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेका थिए ।
फत्तेजंग शाहको नेतृत्वमा सन् १८४५ मा बनेको सरकारलाई ‘अंग्रेज मन्त्रिमण्डल’ भनिन्थ्यो । किनकि उक्त मन्त्रिमण्डल गठनमा तत्कालीन ब्रिटिश रेजिडेन्ट जोन रसेल कलभिनको प्रत्यक्ष संलग्नता थियो । यी हस्तक्षेप सम्भव हुनुको पछाडि भीमसेन थापाको पतनपछि नेपाली भारदारहरू विभिन्न गुट–उपगुटमा विभाजित भए, हिंसा र हत्याको राजनीतिले प्रश्रय पायो र ब्रिटिश रेजिडेन्टले खेल्ने अवसर पाए।
नेपाली राजनीतिमा जंगबहादुर राणाको उदय स्वाभिमानी र देशभक्त नेपालीका लागि दुर्भाग्यपूर्ण मोड थियो । उनी र उनका उत्तराधिकारीका आत्मसमर्पणवादी नीतिका कारण नेपालको राष्ट्रियता कमजोर बन्यो । राणाबाट अंग्रेजहरूले मूलतः राष्ट्रवादी भीमसेन थापाका पालामा पूरा हुन नसकेका आकांक्षा पूरा हुने अपेक्षा गरेका थिए। व्यवहारमा अंग्रेजहरूले नेपालबाट कल्पना गरेको भन्दा पनि बढी पाए।
वीर शमशेर आफ्नै काका रणोद्दीप सिंहको हत्या गरेर सत्तामा आएका थिए । गैरकानूनी ढंगले सत्तामा आएकाले उनलाई आफू कुनै पनि वेला सत्ताच्यूत हुने चिन्ता थियो । वीर शमशेरका दुश्मनहरू उनलाई अपदस्थ गर्न भारतमा अंग्रेजहरूको चाकरी र अनेक तिकडम गरिरहेका थिए । ब्रिटिश–भारतका आकांक्षा सम्बोधन नगरे उनका वैरीहरूलाई भड्काएर सत्ताच्यूत गर्ने संकेत अंग्रेजहरूले गरेपछि त वीर शमशेर हदैसम्मको चाटुकार बने।
त्यस बेलासम्म गोर्खा भर्तीको सम्बन्धमा जंगबहादुर लगायत सबैले अनुदार नीति अख्तियार गरेका थिए । जसका कारण गोर्खा रेजिमेन्टमा गोर्खाहरूको संख्या अत्यधिक बढाउने अंग्रेजहरूको सात दशक पुरानो चाहनाले सार्थकता पाउन सकेको थिएन ।
वीर शमशेरले ब्रिटिश रेजिडेन्ट ग्रिडलस्टोनको आग्रह अनुसार गोर्खा भर्ती बारे एउटा आदेश जारी गरे । तर, उक्त आदेशको अन्तर्वस्तुसँग ब्रिटिश रेजिडेन्ट सन्तुष्ट भएनन् । ग्रिडलस्टोन आफैँले मस्यौदा गरेको अर्को आदेश जारी गरियो । उक्त आदेशमा लडाकु जातिका नेपाली युवाहरूलाई ब्रिटिश–भारतीय सेनामा भर्ती हुन ज्यादै उत्प्रेरित गरिएको थियो । नेपालको आन्तरिक मामिलामा बेलायती राजदूतको ठाडो हस्तक्षेपको यो अर्को एउटा प्रतिनिधि उदाहरण थियो।
चन्द्र शमशेर र उनका उत्तराधिकारीहरूले त झनै आत्मसमर्पणवादी नीति अँगालेका थिए । पहिलो र दोस्रो विश्वयुद्धमा चन्द्र शमशेर र जुद्ध शमशेरले ब्रिटिश सम्राटसँग नेपालको सम्पूर्ण स्रोत-साधन उनकै इच्छा अनुसार उपयोग गर्न स्वेच्छिक पुकार गरेका थिए ।
बेलायतले विश्वयुद्धहरूमा गोर्खाहरूको अभूतपूर्व बलिदानका साथै नेपालबाट अनेकौँ सहयोग प्राप्त गरेको थियो । हुँदाहुँदा चाकरीवादी राणाहरू र उपनिवेशवादी अंग्रेजहरूको घनिष्टता यतिविघ्न गहिरियो, उनीहरूबीचको पारस्परिक सहयोगबाट नेपालमा राणा शासन र भारतमा औपनिवेशिक शासन सुदृढ हुन पुग्यो र तिनीहरूको आयु समेत लम्बियो।
नेपाल–बेलायत सम्बन्धको सर्वाधिक महत्वपूर्ण आयाम दुई शताब्दीभन्दा बढी पुरानो गोर्खा भर्ती संस्था हो । गोर्खालाई ब्रिटिश–भारतीय सेनामा भर्ती गर्ने विचारका पृष्ठपोषक थिए, मेजर जनरल डेभिड अक्टरलोनी । एङ्लो–नेपाल युद्धको प्रमुख रणनीतिकार भएका बखत उनले गोर्खाहरूको सूरोपन, निर्भीकता र बफादारी प्रत्यक्ष देखेका थिए । यस अवधारणालाई थप पुट दिने अर्का व्यक्ति आफ्नो समयका प्रकाण्ड विद्वान् र कुनै समयका नेपालका लागि ब्रिटिश रेजिडेन्ट ब्रायन हटन हज्सन थिए।
नेपाल सरकारको अनुदारपूर्ण नीतिका कारण ब्रिटिश–भारत गोप्य रूपमा गोर्खा भर्ती गर्न बाध्य भएको थियो । भर्तीका लागि उसले गैरकानूनी ढंगले गल्लावालहरू गोर्खा युवाहरू खोज्न गाउँ तथा मेलाहरूमा पठाउँथ्यो । युवाहरू भेटेपछि गल्लावालहरुले पहिला मदिरा खुवाउँथे र पैसा दिन्थे । त्यसपछि मात्र भर्ती हुन फकाउँथे ।
गोर्खा भर्ती शुरू भएको कैयौँ वर्षसम्म अंग्रेजहरूले चाहेजति युवाहरू भर्ती गर्न पाएका थिएनन् । यसो हुनुमा मुख्तियार भीमसेन थापाको अंग्रेजहरूप्रतिको असहिष्णु नीति नै मूल कारण थियो । वास्तवमा थापा अंग्रेजहरूलाई भारतीय उपमहाद्वीपबाटै धपाउन चाहन्थे । ब्रिटिश–भारतले जंगबहादुरबाट धेरै आशा गरेका थिए, तर त्यो आशा पनि साकार हुन सकेको थिएन । वस्तुतः जंगबहादुरले पनि भर्ती परम्परालाई मन पराएका थिएनन् । ब्रिटिश अधिकारीहरूसँग भेट्दा मुखले ठीक्क पारे पनि आन्तरिक रूपमा उनले व्यवधान सिर्जना गर्ने गरेका थिए।
नेपाल सरकारको अनुदारपूर्ण नीतिका कारण ब्रिटिश–भारत गोप्य रूपमा गोर्खा भर्ती गर्न बाध्य भएको थियो । भर्तीका लागि उसले गैरकानूनी ढंगले गल्लावालहरू गोर्खा युवाहरू खोज्न गाउँ तथा मेलाहरूमा पठाउँथ्यो । युवाहरू भेटेपछि गल्लावालहरुले पहिला मदिरा खुवाउँथे र पैसा दिन्थे । त्यसपछि मात्र भर्ती हुन फकाउँथे । भर्ती गरेपछि युवाहरूका आमाबाबुले तिनलाई भेटेर घर फर्काउँछन् भन्ने डरले गोप्य बाटोबाट भारततर्फ लैजान्थे । कति आमाबाबुहरू डाँको छोडेर रुँदै आफ्ना छोराहरू घर फर्काउन जान्थे, कतिले भेटेर फर्काउँथे।
गोप्य भर्तीबारे लेखक टोनी गोल्डले लेखेका छन्, “गल्लावालहरूले भर्ती भएका युवाहरूलाई राति मात्र लैजान सक्थे । पक्राउ परे गल्लावालहरू मारिन पनि सक्थे।” यसको कारण के थियो भने, १९७० को मध्यसम्म पनि दूरदराजका गाउँबस्तीमा भर्ती प्रथा अलोकप्रिय थियो । सेतै फुलेका, अनुहार चाउरिएका, शरीर कुप्रिएका र कंकाल जस्तै देखिने हजुरआमाहरू गहभरि आँसु पारेर आफ्ना नातिपनातिलाई देखाउँदै भन्थे, “यिनीहरूका जिजु (मेरा ससुरा) भर्ती भएर गए, बाजे गए अनि बाबु पनि गए । तर आजसम्म कोही पनि घर फर्केर आएका छैनन् । मरे/बाँचेको खबर पनि छैन।”
निरंकुश शासकहरूको हुकुम प्रमाङ्गीमा गाउँघर नै शून्य पारेर भर्ती गरिएका लाखौँ नेपाली युवाले केवल बेलायतको हितको निम्ति आफ्नो जीवन उत्सर्ग गरेका थिए।
ब्रिटिश–भारतलाई सिपाही विद्रोहले हुर्मत लिएपछि भने जंगबहादुर सहयोग गर्न स्वेच्छाले १४ हजार सैनिक लिएर भारत गए, र अजमगढ, जाउनपुर, गोरखपुर, लखनउ आदि ठाउँमा हजारौँ विद्रोहीलाई दबाए। वास्तवमा गोर्खाहरूको त्याग, निष्ठा, वीरता र जंगबहादुरको उल्लेख्य बलिदान र सहायताको कारणले नै हिन्दुस्थानमा औपनिवेशिक शासनको पुनःस्थापना भएको थियो। भनिन्छ विद्रोह दबाएपछि जंगबहादुरले नेपालको राजा हुन चाहेको इच्छा महाराज्यपालसामु व्यक्त गर्न चाहेका थिए । तर, भनिहाल्ने हिम्मत गरेनन् ।
ब्रिटिश–भारतले आफूलाई सहयोग गरे वापत इनाम स्वरूप नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता दिएर उचित सम्मान गरेको थियो।
त्यसपछि भने जंगबहादुरले गोर्खा भर्तीमा कुनै अवरोध सिर्जना नगरेका कारण त्यस बेलासम्म तीन गोर्खा बटालियन मात्र भएकोमा तत्काल पाँच बटालियन बनाइयो। वीर शमशेरको पालामा १५ बटालियन पुग्यो भने दोस्रो विश्वयुद्धताका उत्कर्षमा पुग्दा गोर्खा बटालियनको संख्या ४५ पुगेको थियो । गोर्खाहरूको अथाह योगदानकै कारण बेलायतले पहिलो र दोस्रो विश्वयुद्ध जितेको थियो।
विडम्बना के भयो भने, दोस्रो विश्वयुद्धको अन्त्यसँगै बेलायत सरकारले अनुत्तरदायी ढंगले निवृत्तिभरण र उपदानविना भारी मात्रामा गोर्खा सेनाको विघटन गरेको थियो । आजसम्म पनि बेलायतले लडेका विभिन्न युद्धमा गोर्खाहरूले बेलायतको स्वार्थको निम्ति रगत, पसिना र आँसुको नदी बगाइरहेकै छन् । यो सिलसिला कहिलेसम्म जारी रहने हो, टुंगो छैन।
गोर्खाहरू विगत २०६ वर्षदेखि बेलायती राष्ट्रिय सेनाको अभिन्न अंगको रूपमा सेवारत छन् । यद्यपि गोर्खाहरूलाई बेलायतले आजसम्म पनि गम्भीर र अमानवीय भेदभाव गर्दै आएको छ । यस्तो भेदभाव अन्त्य गर्न गोर्खा सत्याग्रहले विगत आठ वर्षदेखि अविराम संघर्ष गर्दै आएको छ ।
अहिले बेलायतमा करीब एक लाख ५० हजार नेपाली बसोबास गर्छन् । तीमध्ये धेरैजसो गोर्खा भूपू सैनिकका परिवार हुन् । बेलायतले नेपालको विकासका लागि सन् १९६१ देखि अविराम आर्थिक सहयोग गर्दै आएको छ । बेलायत नेपालको विकासको प्रमुख साझेदार समेत हो । सन् १९९९ मा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) को कार्यालय काठमाडौँमा स्थापना भएको छ । यो संस्थाले नेपालको स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा सन् २०१६ देखि २०२० सम्ममा रु.८० अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो।
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध नेपालको लागि सबैभन्दा पुरानो हो । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र बेलायतको व्यापारको परिमाण पनि निरन्तर बढिरहेको छ । बेलायतबाट वर्षेनी ६० हजार पर्यटक नेपाल आउने गरेका छन् । जनस्तरमा पनि सम्बन्ध विस्तार भइरहेको छ।
गोर्खाहरू विगत २०६ वर्षदेखि बेलायती राष्ट्रिय सेनाको अभिन्न अंगको रूपमा सेवारत छन् । यद्यपि गोर्खाहरूलाई बेलायतले आजसम्म पनि गम्भीर र अमानवीय भेदभाव गर्दै आएको छ । यस्तो भेदभाव अन्त्य गर्न गोर्खा सत्याग्रहले विगत आठ वर्षदेखि अविराम संघर्ष गर्दै आएको छ।
इतिहासको कुनै कालखण्डमा बेलायती औपनिवेशिक शासन नेपालको सहयोगमा टिकेको थियो र त्यसको आयु समेत लम्बिएको थियो । द्विपक्षीय सम्बन्ध अझै गहिरिँदै गएको छ, विविधता ग्रहण गर्दै गएको छ । त्यति पुरानो सम्बन्ध भएर पनि आजसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण नगर्नु भने विडम्बना हो।
(कन्दङ्वाले ‘नेपाल–बेलायत सम्बन्ध र गोर्खा सैनिक’ विषयमा विद्यावारिधि गरेका छन्।)