विद्यार्थीलाई किन काम नलगाउने?
जीवनको उर्बर समय अर्थात् बाल्यावस्थादेखि किशोरावस्थासम्म स्कुले शिक्षाआर्जनमा खर्चेका हाम्रा विद्यार्थीलाई अहिलेको शिक्षा प्रणाली र पाठ्यक्रमले सक्षम बनाउनतिर लग्दै लगेन। व्यवहारिक शिक्षणसिकाइ नहुँदा कक्षाकोठाभित्रको क्रियाकलाप ‘बोल्ने र सुन्ने’मै सीमित भयो।
कक्षा यु केजीमा अध्ययनरत एलिशा शर्मा, निनाम्मा राई, अंकिता चौधरी, दीपिका मेहता र प्रणित प्रधान आफ्नो कक्षाकार्य सकेपछि साथीहरुलाई सघाउन थाल्छन्। सेतोपाटी सफा गर्न होस् वा साथीको हस्तलेखन कापीमा सारिदिन, यिनीहरु तँछाडमछाड गर्छन्। अन्तिम कक्षापछि कोही कक्षाकोठा सफा गर्छन् भने कोही भोलिका लागि सिसाकलमलगायत अन्य आवश्यक सामग्री टेबुलमा मिलाएर राख्छन्।
कक्षाकोठामा गरिने यस्ता क्रियाकलापले उनीहरुबीच सद्भाव बढाउन त मद्दत गर्छ नै, सामूहिकताको भाव पनि जाग्छ। शिक्षकबाट पाइने स्याबासीले राम्रो काम गर्न हौसला मिल्छ। लैङ्गिक विभेद हटाउन पनि यस्ता क्रियाकलाप महत्वपूर्ण हुन्छन्। विद्यालयमा यस्ता क्रियाकलाप गर्ने छात्रछात्रा घरपरिवारमा पनि काम सघाउने गरेको अभिभावकहरु बताउँछन्।
मेरो १० वर्षीय नाति पूर्व प्राथमिक तहदेखि नै घरायसी काममा सघाउँदै आएको छ। ऊ अहिले कक्षा ४ मा पढ्छ। ऊ आफूलाई मनपरेको परिकार जस्तै, अम्लेट र आलुको भुजिया आफैँ बनाएर खान्छ। हरेक साता घरको फोहोर छुट्याउने गर्छ। विद्यार्थीलाई पूर्व प्राथमिक तहदेखि नै घरायसी काम सिकाउँदा स्वावलम्बनको पाठ पनि सिक्छन्।
विकसित मुलुकहरुमा शिक्षणसिकाइको यो शैली चल्तीमा छ। तर, हाम्रो देशमा ‘पछि आफैँ सिक्छ’ भन्ने मान्यता छ। अभिभावक र शिक्षकको यस्तो पुरातन मान्यताले हाम्रा छोराछोरी उमेर अनुसार सिक्नु पर्ने धेरै काम सिक्ने अवसर गुमाइरहेका छन्।
पितृसत्तात्मक समाजमा अधिकांश गृहिणी आमाले छोराछोरीलाई घरायसी काम गर्न दिदैंनन्। घरायसी काममा सिन्कोसम्म नभा“च्ने कतिपय श्रीमान् “छोराछोरीले नै घरधन्दाको काम गर्ने हो भने तिमी चाहिँ के गर्दै बस्छौं नि दिनभरि?” भनेर गृहिणी श्रीमतीलाई निरुत्साहित गर्छन्। छोराछोरीकै अगाडि आमाबाबुबीच यस्तो गफ हुँदा उनीहरुमा पनि “हो त, घरको काम आमाले नै गर्ने हो’ भन्ने मनोभाव पैदा हुन्छ। उनीहरु पनि बाबुजस्तै सिन्को नभाँच्ने हुन्छन्।
कतिपय घरमा चाहिँ छोरीलाई मात्र घरायसी काम सिकाइन्छ। छोरीलाई स्वावलम्बन बनाउन नभइ ‘अरुको घरमा जाने’ भनेर फरक व्यवहार गरिएको हो। यसो हुँदा छोराछोरीबीच 'विभेदको सिकाइ' घरबाटै हुन्छ।
कतिपय घरमा चाहिँ छोरीलाई मात्र घरायसी काम सिकाइन्छ। छोरीलाई स्वावलम्बन बनाउन नभइ ‘अरुको घरमा जाने’ भनेर फरक व्यवहार गरिएको हो। यसो हुँदा छोराछोरीबीच 'विभेदको सिकाइ' घरबाटै हुन्छ।
शिक्षक पनि हाम्रै समाजका उत्पादन हुन्। घरायसी काममा छोराछोरीलाई लगाउनु हुन्न भन्ने मान्यता बोकेका अधिकांश शिक्षकले आफ्ना विद्यार्थीहरुलाई पनि सोही अनुरुप व्यवहार गर्छन्। औपचारिक शिक्षाको सैद्धान्तिक ज्ञान मात्र बाँड्दै आएका यस्ता शिक्षकका कारण हाम्रा विद्यार्थी ‘शिक्षित बेरोजगार’का रुपमा परिणत हुँदैछन्। शिक्षालयहरु शिक्षित बेरोजगार जन्माउने पहिलो थलो बन्दैछन्।
हामीसँग आधारभूत तहमा पढाइने कतिपय पाठ्यक्रममा विद्यार्थीलाई सक्षम र दक्ष बनाउने व्यवहारिक ज्ञान पनि छन्। जस्तै, निजी तथा सामुदायिक शिक्षालाई उत्पादनमूलक बनाउन सरकारले कक्षा ६ देखि ८ सम्मका लागि पेसा, व्यवसाय र प्रविधि शिक्षा भन्ने पाठ्यक्रम लागू गरेको छ वर्ष भइसकेको छ। भविष्यमा पेसा, व्यवसाय छानेर स्वरोजगार बन्न उक्त पुस्तकमा दिइएको व्यवहारिक ज्ञानले सहयोग गर्नु पर्ने हो। तर, व्यवहारमा त्यस्तो देखिंदैन।
निजी होस वा सामुदायिक, उक्त पाठ्यपुस्तकमा दिइएको सैद्धान्तिक ज्ञान पढ्ने र पढाउनेबीचमै सीमित हुन पुगेको छ। आफ्ना विद्यार्थीलाई सक्षम जनशक्तिको रुपमा हुर्काउन पर्याप्त विषयवस्तु उपलब्ध भए पनि विद्यालय र शिक्षकको अदूरदर्शिता र अकर्मण्यताले त्यसो हुन सकेको छैन।
तर, संभावना सकिइसकेको पनि छैन। शिक्षक आफैँ जुझारु हुने हो र आफ्नो पेसाको सम्मान गर्ने हो भने आफैँले पनि पठनपाठन शैली परिवर्तन गर्न सकिन्छ। अन्य विषयको तुलनामा विज्ञान, सामाजिक अध्ययनलगायत विषयलाई सिर्जनात्मक र व्यवहारिक ढंगले पढाउन सकिन्छ। पेसा, व्यवसाय र प्रविधि शिक्षाको व्यवहारिक कक्षा गर्न र गराउन सकिन्छ। त्यसका लागि विद्यालय व्यवस्थापन समितिले पनि तत्परता देखाउनुपर्छ। त्यसो भए देशका धेरै क्षेत्रमा चाहिने दक्ष जनशक्ति स्वदेश मै तयार हुन्छ।