भीड मार्फत ओलीका भ्रम
भ्रम र मिथ्याको घोडामा चाबुक हान्दै एउटा दु:खान्त राजनीतिक दुर्घटना सन्निकट केपी ओलीका रवैया निभ्नुअघिको प्रदीप्त दियो समान हो।
प्रधानमन्त्री एवम् नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीका प्रत्येक भाषणले मेरा मित्र दीपक अधिकारीको व्यस्तता बढाउँछ। जसै प्रम ओली संसद्को रोस्ट्रमदेखि सार्वजनिक मञ्चमा झुटा दलिल र मिथ्याङ्क प्रस्तुत गर्छन्, सञ्चारमाध्यममा सम्प्रेषित सामग्रीको तथ्य जाँच गर्ने संस्था साउथ एशिया चेकमा कार्यरत अधिकारी त्यसको जाँचपड्तालमा जुटिहाल्छन्।
ओली मुख्य वक्ता रहेको गत २३ माघमा दरबारमार्ग, काठमाडौँमा आयोजित आमसभाको मञ्च उता उतारिँदै थियो, यता अधिकारीले ओलीले सभामा प्रस्तुत गरेका चार झुटा दाबीको खण्डन सप्रमाण सार्वजनिक गरिसकेका थिए। ओली जोशिला भाषण त गर्छन्, तर उनको जोशसँग होशको कहिल्यै तादात्म्य हुँदैन। राजनीतिकर्मीहरूलाई सबै आँकडा मुखाग्र नहुन सक्छ, त्यसैले समान्यत: उनीहरू तथ्यगत त्रुटि निराकरणका लागि कुनै टिपोट वा लेख्य सामग्री (प्राविधिक अनुकूलता भए टेलिप्रम्पटर) प्रयोग गर्छन्। तर, ओलीको हकमा यो कुरा लागू हुँदैन। सबै विषयका प्राधिकार र सर्वज्ञाता उनी जे बोल्छन्, सत्य त्यही हो। उनी जे दाबी गर्छन्, तथ्याङ्क पनि त्यही हो।
२३ माघको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली खेमाको आमसभामा तीन लाख मानिस ल्याउने दाबी गरिएकाले अहिले त्यही दाबी प्रमाणित गर्न ओली पक्षधरले अनेकौँ पुस्ट्याइँ प्रस्तुत गर्दै आएको छ। बाटोको लम्बाइ र चौडाइ अनि जमघटको आयतनका आधारमा तीन लाख मानिस उपस्थित भएको भन्ने दाबी उक्त खेमाको छ। कुनै बखत ओलीका 'कमरेड-इन-आर्म्स' र अहिलेका दुश्मन पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमाको गत ९ माघको एक लाख मानिसको आमसभाको सेखी झार्न तीन लाख पुर्याउने ओली खेमाको २३ गतेको आमसभाको कडा जवाफ दाहाल-नेपाल समूहले यसै साता दिने तयारी थालेको छ। भीड जुटाउने होडबाजी देख्दा यस्तो लाग्छ, नेपालको राजनीति सिद्धान्त वा विचार नभएर भीड निर्देशित छ।
कुनै बखत ओलीका 'कमरेड-इन-आर्म्स' र अहिलेका दुश्मन पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमाको गत ९ माघको एक लाख मानिसको आमसभाको सेखी झार्न तीन लाख पुर्याउने ओली खेमाको २३ गतेको आमसभाको कडा जवाफ दाहाल-नेपाल समूहले यसै साता दिने तयारी थालेको छ। भीड जुटाउने होडबाजी देख्दा यस्तो लाग्छ, नेपालको राजनीति सिद्धान्त वा विचार नभएर भीड निर्देशित छ।
२३ माघको नेकपा ओली खेमाको आमसभाको खास अर्थ भीड नै हो। किनकि, दैनिक कुनै न कुनै मञ्च मार्फत विपक्षी मोर्चाको उछित्तो काढ्दै आएका ओलीका निम्ति फगत आफ्ना कुरा राख्न मात्र थप एक मञ्च आवश्यक थिएन। तर, जसै दाहाल-नेपाल खेमाले आमसभाका नाममा राजधानी काठमाडौँसहित देशभर भीड जम्मा गर्न थाल्यो, ओली पनि 'इँटको जवाफ पत्थरबाट' भने झैँ भीड उतार्न थाले। चाहे प्रतिगमन विरूद्ध र संसद्को पुन:स्थापनाका लागि दबाब दिने दाहाल-नेपाल खेमाको आमसभा होस् वा अग्रगमनको जिकिर र चुनावी माहौल निम्ति ओली खेमाद्वारा आयोजित आमसभा, दुवैको अन्तर्य सिद्धान्त नभएर भीडसँग सम्बन्धित छ। नारा फरक भए पनि दुवैले जुटाउने भीडको प्रकार एकै देखिन्छ।
ओली खेमाको आमसभाको मुख्य हिस्सा राजधानी बाहिरका मानिसले ओगट्ने तथ्यबारे जानकार दाहाल-नेपाल खेमा आमसभामा भाजो हाल्न एक दिनअघि मात्र आमहड्तालमा उत्रियो। संविधानवादको पैरवीमा रहेकाहरू नै नागरिकको व्यवसाय र आवागमनको मौलिक एवं नैसर्गिक अधिकार विरुद्ध उत्रिँदा आमजनको सामान्य सद्भाव समेत गुमाउने अवस्थामा पुगे। बरू दाहाल-नेपाल खेमाको बन्द-हड्तालको अविवेकी कदमलाई 'नेपाल बन्द होइन, नेपाल बन्दै छ' भन्ने नारामा ओली खेमाले 'क्यास' गरिदियो। राजनीतिमा जायज लक्ष्यका लागि जायज पद्धतिकै दरकार पर्छ भन्ने यो एउटा उदाहरण पनि हो।
फेरि फर्कौँ २३ माघको आमसभाको चुरो कुरोतिरै। नारायणहिटी दरबार संग्रहालयको मुख्य द्वार अगाडि नै आमसभा स्थल रोज्नुको कुनै स्पष्ट संकेत हुनुपर्छ भनेर जसरी लख काटिएको थियो, त्यो त्यस सभाको अन्त्यसम्म देखिएन। ओलीले संघीयता र धर्मनिरपेक्षता खारेज गर्दै छन् भन्ने एकथरीले अनुमान गरेका थिए। तर, त्यस्तो अनुमान विपरीत ओलीले 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ' भने। ओलीको यस उद्घोषबाट दाहाल-नेपाल खेमालाई ओली संघीयता र धर्मनिरपेक्षता विरोधी चित्रण गर्न कम्तीमा अहिलेलाई गाह्रो पारेको छ।
यद्यपि ओलीका पछिल्ला गतिविधिमा दक्षिणपन्थी प्रवृत्ति स्पष्ट देखिन्छ। उनले राजावादीसँग भित्री साँठगाँठ गरेका पनि हुन सक्छन्। यसको अर्थ, अहिले नै उनले संघीयताको खारेजी र हिन्दू राष्ट्रको घोषणा निम्ति हतारो गर्ने छैनन्। प्रतिनिधि सभा विघटनको रिटमाथि संवैधानिक इजलासमा बहस जारी रहेको अवस्थामा ओलीले अदालतको निर्णय आउनु अघि किमार्थ यस्तो घोषणा गरिहाल्दैनन्।
ओलीका पछिल्ला गतिविधिमा दक्षिणपन्थी प्रवृत्ति स्पष्ट देखिन्छ। उनले राजावादीसँग भित्री साँठगाँठ गरेका पनि हुन सक्छन्। यसको अर्थ, अहिले नै उनले संघीयताको खारेजी र हिन्दू राष्ट्रको घोषणा निम्ति हतारो गर्ने छैनन्। प्रतिनिधि सभा विघटनको रिटमाथि संवैधानिक इजलासमा बहस जारी रहेको अवस्थामा ओलीले अदालतको निर्णय आउनु अघि किमार्थ यस्तो घोषणा गरिहाल्दैनन्।
विघटन खारेज भएको अवस्थामा ओलीले लिने बाटो नयाँ पार्टी निर्माणको हो। यसैगरी, विघटन सदर भए केही समय निर्वाचनको रट लगाइरहनेछन्। जसै निर्वाचनको मिति परिस्थितिजन्य र प्राविधिक कारण घर्किन्छ र मुलुकमा संवैधानिक शून्यताको स्थिति पैदा हुन्छ, ओलीले संकटकालको कार्ड फ्याँक्न सक्नेछन्। जब संकटकालबाट पनि परिस्थिति सुध्रिँदैन र निर्वाचन सुदूरको विषय बन्दै उनको बहिर्गमनको कारक बनिदिन्छ, त्यस वेला उनले संघीयता खारेजी, हिन्दू राष्ट्र वा सांस्कृतिक राजा, जे पनि तुरूप फाल्न सक्नेछन्।
केन्द्रदेखि वडा तहसम्म नराम्ररी धाँजा फाटिसकेको नेकपा अब ओलीको भोट ब्याङ्क रहेन। त्यसैले उनलाई सत्ता टिकाउने सहारा भनेकै परम्परागत अर्थात् दक्षिणपन्थी समर्थन हो। हिन्दू अधिराज्यको वकालत गर्ने पूर्वपञ्चहरूका मौजुदा दल र बजारमा नयाँ आवरणमा देखापरेका राजावादी समूहहरू बृहत् समर्थन जुटाउन सफल नभइरहेको अवस्थामा ओलीले आफ्नो बहिर्गमन अकाट्य रहेको परिस्थितिमा यो जोखिम उठाउन सक्नेछन्।
तसर्थ, अबको केही समय ओली-रणनीति भीड जुटाउने र गत तीन वर्षको कार्यकालको उपलब्धिको भ्रम छर्ने हुनेछ। भीड मार्फत उनले आफूसँग व्यापक (जन) समर्थन रहेको देखाउन खोज्नेछन्, र यस्ता आमसभा मार्फत आफ्ना कार्यकालका 'उपलब्धि' को अतिशयोक्तिपूर्ण विवरण र मिथ्याङ्क पेश गर्नेछन्।
भ्रम र मिथ्याको घोडामा चाबुक हान्दै एउटा दु:खान्त राजनीतिक दुर्घटना सन्निकट ओलीका यी सबै रवैया यथार्थमा चाहिँ निभ्नुअघिको प्रदीप्त दियो समान हो। किनकि, जस्तो राजनीतिक दुश्चेष्टाको यात्रामा ओली निस्केका छन्, अब त्यहाँबाट फर्किने कुनै ठाउँ उनका लागि बाँकी छैन। २३ माघमा नारायणहिटी मुख्य द्वारबाट त्रिचन्द्र कलेजतर्फ फर्किएर कुनै दिग्विजयी महाराजाको भाती हात हल्लाउँदै भाषण गरिरहँदा कम्तीमा उनले आफ्नो पछाडिको दरबार एक पटक फर्किएर हेरेका भए काल-समय प्रतिकूलको आफ्नो कदमको परिणति सहजै महसूस गर्न सक्ने थिए।