बर्मामा दोस्रो दिन पनि प्रदर्शन
बर्माको मुख्य शहर याङगुनमा आज पनि प्रदर्शन शुरु भएको छ। सैन्य ‘कू’को एक सातापछि याङगुनमा दोस्रो दिन पनि प्रदर्शन भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले याङगुनमा एक हजारभन्दा बढी मानिस प्रदर्शनमा उत्रिएको जनाएका छन्। समाचार संस्था एएफपीसँग एक प्रदर्शनकारी म्यो विन (३७)ले भने, ‘‘प्रजातन्त्र पुनःस्थापना नभएसम्म हामी प्रदर्शन जारी राख्नेछौँ।’’
याङगुनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। याङगुन विश्वविद्यालयअगाडि प्रहरी गाडी तैनाथ गरिएको छ।
गत साता बर्माको सेनाले सरकार अपदस्थ गरेको थियो। त्यसको विरोध हुन थालेपछि सेनाले २४ माघदेखि इन्टरनेट पनि बन्द गरेको छ।
याङगुनजस्तै अन्य दुई शहर मउलामिने र मन्डलेमा पनि स–सानो प्रदर्शन शुरु भएको छ।
सेनाले सत्ता हातमा लिएपछि बर्माकी नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टलाई घरमै नजरबन्दमा राखिएको छ।
सेनाले इन्टरनेट बन्द गरेकोमा एमनेस्टी इन्टरनेसनले विरोध जनाएको छ। यसले बर्मेली जनताको मानवअधिकार उल्लंघन हुने जोखिम बढेको जनाएको छ। इन्टरनेट बन्द गरिएको विषयमा बर्र्माको सेनाले केही प्रतिक्रिया जनाएको छैन।
बर्माको सेनाले १ फेब्रुअरीदेखि नै इन्टरनेटमा अवरोध गर्न थालेको थियो। बर्मेली नागरिकले फेसबुकलाई सूचना र समाचारको स्रोचका रुपमा प्रयोग गर्दै आइरहेका थिए। तर, सेनाले सत्ता हातमा लिएको तेस्रो दिन नै फेसबुकलाई बन्द गरेको थियो।
त्यसपछि फेसबुक प्रयोगकर्ताहरुले ट्विटर र इन्स्टाग्राम प्रयोग गर्न थालेका थिए। सेनाले शुक्रबारदेखि ट्विटर पनि बन्द गरिसकेको छ।
बंगालदेश, भारत, चीन, थाइल्यान्ड र लाओससँग सीमा जोडिएको बर्माको जनसंख्या पाँच करोड ४० लाख छ। विगतमा पनि सेनाले सत्ता हातमा लिएको थियो। सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरि सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।
सन् २०१५ मा भएको निर्वाचनमा सु कीको पार्टी सत्तामा आएको थियो। गत नोभेम्बरमा भएको निर्वाचनमा पनि सु कीको पार्टीले अत्यधिक बहुमत ल्याएपछि सेनाले धानधली भएको आरोप लगाएको थियो।
नयाँ संसद्को अधिवेशन शुरु हुन लाग्दा सेनाले ‘कू’ गरेको हो। सेनाले सत्ता हातमा लिएको एक सातापछि विरोध शुरु भएको छ।