हरिशंकर परसाईका दुई लघुकथा: सुधार र अश्लील
१. सुधार
एउटा जनहितकारी संस्थामा केही सदस्यले आवाज उठाए, 'संस्थाको काम सन्तोषजनक छैन। यसमा धेरै सुधार आवश्यक छ। संस्था बर्बादीतर्फ गइरहेको छ। यसलाई कि सुधार गर्नुपर्छ, कि त भंग गर्नुपर्छ।'
संस्थाका अध्यक्षले सोधे, 'संस्थाको कामप्रति कस-कसलाई असन्तुष्टि छ ?'
दश सदस्यले असन्तुष्टि व्यक्त गरे।
अध्यक्षले भने, 'हामीलाई संस्थामा सबै जनाको साथ-सहयोग चाहिन्छ। सबैको चित्त बुझ्ने गरी काम गर्न चाहन्छौँ। तपाईँ दश सज्जनहरु कस्तो सुधार चाहनुहुन्छ ? कृपया बताइदिनुस्।'
त्यसपछि उनीहरुले आपसमा सरसल्लाह गरे, र सुधारका लागि सुझाव दिए।
सुझाव यस्तो थियो-
'संस्थामा चार सभापति, तीन उपसभापति र तीन सचिव हुनुपर्छ …'
दश सदस्यलाई संस्थाको कामप्रति ठूलो असन्तुष्टि थियो।
२. अश्लील
शहरमा चर्चा चल्यो- अश्लील साहित्यको धेरै प्रचार भइरहेको छ । अखबारमा समाचार र सर्वसाधारणको चिठी छापियो- सडक किनारमा खुलेआम अश्लील किताबहरु बिक्री भइरहेका छन्।
दश-बाह्र जना समाजसुधारक युवकहरुले टोली गठन गरे। उनीहरुले निर्णय गरे, 'यस्तो अश्लील साहित्य जहाँ भेटिन्छ, जफत गरेर तिनलाई सार्वजनिक रुपमा जलाउँछौँ।'
उनीहरुले एक पसलमा छापा मारेर २०/२५ वटा अश्लील किताब जफत गरे । टोलीका हरेक सदस्यको हातमा दुई वा तीन वटा किताब थियो।
टोली प्रमुखले सदस्यहरुसँग भन्यो, "आज धेरै ढिलो भइसक्यो । भोलि साँझ अखबारमा सूचना दिएर पर्सि कुनै सार्वजनिक स्थानमा यी किताब जलाउनेछौँ । प्रचार गरेपछि अरु मानिसहरुमा पनि असर पर्छ । भोलि साँझ सबै जना मेरो घरमा भेटौँ । यी सबै किताब म अहिले घर लैजान सक्दिनँ । बुवा र काकाहरुले देख्नुभयो भने बर्बाद हुन्छ । तिमीहरु दुई-तीन वटाको दरले लुकाएर आ-आफ्नो घर लैजाऊ । भोलि साँझ लिएर आउनू।"
भोलिपल्ट साँझ सबै जनाको भेट भयो । तर, आफूले लगेका पुस्तकहरु कसैले साथमा ल्याएनन् । टोली प्रमुखले भन्यो, "सबैले किताब निकाल त, यो बोरामा लुकाइहालौँ । भोलि जलाउने ठाउँमा बोरा लगौँला।"
तर, किताब त कसैले ल्याएकै थिएनन्।
एउटाले भन्यो, "भोलि होइन, पर्सि जलाऔँ । पहिला पढिसकूँ न।"
दोस्रोले भन्यो, "म पनि पढ्दै छु । किताबहरु दुई-तीन दिनपछि जलाउँदा नै ठीक होला । आखिरमा किताब जफत गरिसकेकै छौँ।"
त्यो दिन किताब जलाउने तिथिबारे निर्णय हुन सकेन । तेस्रो दिन किताब लिएर भेट्ने कुरा तय भयो।
तेस्रो दिन पनि कसैले किताब ल्याएन।
एउटाले भन्यो, "अरे यार, किताब त बुवाको हातमा पुग्यो । उहाँले पढ्दै हुनुहुन्छ।"
दोस्रोले भन्यो, "काकाले पढिसकेपछि ल्याउँछु है।"
तेस्रोले भन्यो, "भाउजूले किताब उठाएर लैजानुभयो । दुई-तीन दिनमा पढेर फिर्ता दिन्छु भन्नुभएको छ।"
चौथोले भन्यो, "म घरमा नभएको मौकामा छिमेकको काकीले लिएर जानुभएछ । उहाँले पढिसकेपछि दुई-तीन दिनमा जलाउँला।"
अश्लील किताबहरु जलाउने दिन कहिल्यै आएन । ती किताब अझ व्यवस्थित रुपमा पढ्न थालिएको छ।
• (हिन्दीबाट अनूदित)
हरिशंकर परसाई (सन् १९२४-१९९५) भारतका प्रख्यात कवि र लेखक हुन् । खासगरी उनलाई हिन्दी साहित्यमा व्यङ्ग्य विधालाई नयाँ उँचाइमा पुर्याएको श्रेय दिइन्छ । उनले व्यङ्ग्य लेखनलाई हल्काफुल्का मनोरञ्जनको परम्परागत परिधिबाट उठाएर समाजका व्यापक प्रश्नहरुसँग जोडेका छन् । उनका लेखनमा खोक्रो बनिरहेको भारतीय राजनीतिक र सामाजिक व्यवस्थामा पिसिएका मध्यमवर्गको पीडा र उच्छ्वास निकै नजिकबाट छामिएको पाइन्छ । परसाईका 'तट की खोज', 'ज्वाला और जल', 'रानी नागफनी की कहानी', 'जैसे उनके दिन फिरे', 'हँसते हैं रोते हैं', 'तिरछी रेखाएँ' लगायत पुस्तक प्रकाशित छन्।