देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन्।
शनिबार दमौलीमा आयोजित साक्षरता कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए। कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रवीकरणले कांग्रेसलाई यो अवसर प्राप्त भएको उनको भनाइ थियो।
झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाको उनले बताए। “कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ,” पौडेलले भने।
उनले आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा कांग्रेस रहेको बताए। अहिले नै संयुक्त आन्दोलनबारे नसोचिएको उनको भनाइ थियो।
त्यस्तै, पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने वेला आएको बताए। पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, “एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ।”
कांग्रेसको आगामी महाधिवेशनमा सभापति उम्मेदवारबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारे बोल्ने वेला नआएको प्रतिक्रिया दिए।