जनसभाबाट ओलीले दिन खोजेका तीन सन्देश
नारायणहिटी दरबार संग्रहालयअगाडि जनसभाको आयोजना गरेर प्रधानमन्त्री एवं नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले यी तीन सन्देश दिन खोजेका छन्।
नेकपा (ओली) समूहले शुक्रबार काठमाडौँमा बृहत् प्रदर्शन गरेको छ। नारायणहिटी संग्रहालयअगाडि मञ्च निर्माण गरेर आमसभा आयोजना गर्ने घोषणा गरेदेखि नै ओली समूहको सभालाई विभिन्न पक्षबाट चासोका साथ हेरिएको थियो।
कतिसम्म भने सभा गर्न नारायणहिटी अगाडिको ठाउँ छनोट गर्नुलाई राजतन्त्र र हिन्दू धर्मसँग जोडेर विश्लेषण गरिएका थिए। र, ओलीले आजको सभा मार्फत हिन्दूराष्ट्र र राजतन्त्रका विषयमा केही घोषणा गर्न सक्ने पूर्वानुमान समेत गरिएको थियो।
ओलीले सम्बोधनका क्रममा हिन्दूराष्ट्र र राजसंस्थाबारे केही नबोली भ्रम छर्नेका कुरा नपत्याउन आग्रह गरे।
नेकपाको विभाजनपछि आधिकारिकताको विषयमा विवाद भएपछि त्यसलाई चिर्न र शक्ति देखाएर आफू नै आधिकारिक भएको सन्देश दिन शुक्रबारको आमसभा आयोजना गरिएको पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिबाट स्पष्ट हुन्छ। सम्बोधनका क्रममा ओलीले मूल पार्टी आफूहरुकै भएको दाबी दोहोर्याए। “मूल पार्टी यही हो। आजको यो उपस्थिति देखेपछि देशकै मूल पार्टी कुन हो भन्ने थाहा पाउनुपरेन। यति धेरै उपस्थिति भएपछि कुन पार्टी मूल हो भन्ने कुरा अब पनि सोधिराख्नुर्छ र ?”
नेकपा केन्द्रीय कमिटीका ४४१ सदस्यमध्ये बहुमत पक्ष आफूसँग भएको दाहाल–नेपाल समूहले दाबी गरेको छ। त्यसका आधारमा उनीहरुले आधिकारिक पार्टीको दाबी गर्दा ओली समूह दबाबमा छ।
यसअघिका आमसभाहरुमा दाहाल–नेपाल समूह विरुद्ध कडा अभिव्यक्ति दिने गरेका ओलीले शुक्रबार भने आधिकारिकताको पुष्टि गर्नमै समय खर्चिए। बरु आमसभा गर्नु आफूहरुको बाध्यता भएको भन्दै त्यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरे। “हामी सडकमा नआउँदा दुई–चार हजार मान्छे लिएर हामीलाई लत्कार्ने काम भयो। ल हेर्न आइज भन्ने काम भयो। त्यसकारण हामीले गर्नैपर्ने परिस्थिति बन्यो,” सम्बोधनका क्रममा ओलीले भने, “हामीले आमसभा गर्दा ट्राफिकमा समस्या भयो। सर्वसाधारणले व्यवसाय सञ्चालन गर्न पाउनुभएन। त्यसका लागि म क्षमायाचना गर्न चाहन्छु।”
सभा मार्फत ओलीले आफ्नो कार्यकालमा भएका कामहरुको प्रचार पनि गरे। उनले चीनसँग गरेको पारवहन सम्झौता, पूर्व–पश्चिम रेलमार्गको निर्माण, जयनगर–जनकपुर रेल सञ्चालन, सुरुङ, सडक लगायतका काममा भएको प्रगतिका विवरण सुनाए। उनले सम्बोधनका क्रममा पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौता गरेवापत आफूलाई हटाइएको जिकिर गर्दैै अहिले नेपालको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेवापत फेरि षड्यन्त्र गरिएको बताए।
आफ्ना विरोधीप्रति आक्रामक हुने ओलीले शुक्रबार सन्तुलित रुपमा आफूले गरेका र गर्ने कामको फेरहिस्त प्रस्तुत गर्नमै समय खर्चिए। “तीन वर्षसम्म संवैधानिक आयोगमा नियुक्ति गर्न दिइएन। केही मान्छेले छोडेर गएपछि आयोग बने। जनताको काम गर्नै नहुने, आयोग बनेकोमा कति पीर हो !,” दाहाल र नेपालप्रति व्यंग्य गर्दै ओलीले भने, “आयोग बनेको भोलिपल्टदेखि विरोध शुरु भयो। कति धेरै पीर हो!”
ओलीले लोकतन्त्रलाई कसैले खोस्न नसक्ने बताउँदै लोकतन्त्रको भविष्य उज्ज्वल भएको उल्लेख गरे। “लोकतन्त्रलाई कसैले केही गर्छु भन्ने नचिताए हुन्छ,” ओलीले भने।
सभालाई नेकपा स्थायी कमिटी सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गरेका थिए।