दाहाल र नेपालका कारण समस्या आयो : पोखरेल
नेकपा (ओली) समूहका सचिवालय सदस्य इश्वर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालका कारण अहिलेको अवस्था आएको बताएका छन्।
नेकपाको बागमती प्रदेश कमिटिले शुक्रबार काठमाडौंको नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको मृत्युमा जीवन खोज्ने दाहालको प्रवृति र कुण्ठामा बाँचेका नेपालको प्रवृत्तिले समस्या आएको बताए।
‘‘गत निर्वाचनमा बहुमत प्राप्त गरेपछि राजनीतिक स्थिरता प्राप्त हुन्छ। हामीले बनाएको संविधानको रक्षा हुन्छ। अराजकताको अन्त्य हुन्छ भन्ने अपेक्षा थियो,’’ पोखरेलले भने, ‘‘तर, पार्टीभित्रै राजनीतिक स्थिरता नचाहने, सम्वृद्धिलाई ओझेलमा पार्ने शक्ति उत्पन्न भए। उनीहरुको योजनालाई हामी सफल हुन दिंदैनौँ।”
पाँच वर्षका लागि निर्वाचित भएको प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको स्पस्ट पार्दै पोखरेलले ताजा जनादेशमा जाँदा जनताले दिने म्यान्डेट स्वीकार गर्न आफूहरु तयार भएको बताए।
नेकपाको आधिकारिकतालाई कसैले खोस्न नसक्ने उल्लेख गर्दै पोखरेलले भने, “सूर्य चिह्न हामीले पाउँछौँ। सूर्य चिह्न लिएर ताजा जनादेशमा जान्छौँ, दुविधा नहुनुहोला।”