संवैधानिक निकायकाे नियुक्तिविरुद्ध रिट निवेदन लिएर सभामुख सापकाेटा सर्वोच्चमा
संवैधानिक निकायहरुमा गरिएको नियुक्तिविरुद्ध प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
केहीबेर अघि सर्वोच्च अदालत पुगेका सभामुख सापकोटाले मुद्दा शाखामा निवेदन पेस गरेका छन्। उनको रिट दर्ता हुन बाँकी छ।
संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेकी थिइन्। यसको विरोधमा सभामुख सापकोटा सर्वोच्च अदालत पुगेका हुन्।
उनले रिटमा संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएका छन्। रिटमा संवैधानिक परिषद्ले ५ पुसमा गरेको निर्णय बद गर्न माग गरेका छन्।
सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि ५ पुसमा संवैधानिक परिषद् बैठक बसेको थियो। त्यहि बैठकले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरेको थियो।
बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए।