अहिलेसम्म एक लाख ५८ हजारले लगाए कोभिड–१९ विरुद्धको खोप
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट उनीहरुलाई खोप दिइएको जानकारी दिए। उनका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४ जनाले खोप लगाएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाए। मन्त्रालयले पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्ने पनि जानकारी दिए।
सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ।
पहिलो चरणमा खोप लगाएकाले २८ दिनपछि पुनः दोस्रो डोज खोप लिनुपर्छ। १४ माघदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो। दोस्रो डोज पनि भारतबाट आएकै खोपबाट दिइनेछ।
यसैबीच कोभ्याक्स सुविधामार्फत २० लाख डोजभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने भएको छ। बेलायतले प्रदान गरेको सहयोगमा नेपालका लागि खोप आउन लागेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्विटरमार्फत जानकारी दिएकी छिन्।