ओमानमा हुने ओडीआई श्रृङ्खलाको बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छानिए
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी चैतमा ओमानमा हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृङ्खलाको बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनौट गरेको छ।
अधिकांश खेलाडी भर्खरै सकिएको पीएम कपमा गरेको प्रदर्शनका आधारमा छनौट भएका छन्। क्यानले प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा वसन्त रेग्मी र सुवास खकुरेलको नाम छैन। त्यसैगरी चार नयाँ खेलाडीलाई पहिलोपटक बन्द प्रशिक्षणमा बोलाइएको छ। अनुज चुनारा, अर्जुन कुमाल, विवेक यादव र खडगबहादुर बोहोरालाई पहिलो पटक प्रशिक्षणमा बोलाइएको हो।
चारै खेलाडीलाई गएको पीएम कपको प्रदर्शनका आधारमा क्याम्पमा बोलाइएको हो। कर्णालीबाट खेलेका अनुज चुनाराले चार खेलमा आठ विकेट लिएका थिए। त्यस्तै प्रदेश २ बाट खेलेका विवेक यादवले दुई अर्धशतकसहित चार खेलमा १६७ रन बनाएका थिए।
त्यस्तै अर्जुन कुमालले चार खेलमा ११७ रन बनाएका थिए। १४ वर्षीय कुमाल दिल्ली बस्ने गर्छन्। पीएम कपका लागि आएका उनी दिल्ली फर्किसकेका छन्। खडगबहादुर बोहोराले चार खेलमा ९० रन बनाएका थिए।
बन्द प्रशिक्षणमा लामो समयपछि पृथु बास्कोटा, रामनरेश गिरी, कृष्ण कार्की, आसिफ सेख, राजेश पुलामी, विक्रम सोब र सौरभ खनालले स्थान बनाएका छन्। उनीहरुलाई पनि भर्खरै सकिएको पीएम कपमा गरेको प्रदर्शनका आधारमा क्याम्पमा बोलाइएको हो।
पृथुले प्रतियोगितामा सबैभन्दा बढी पाँच खेलमा २१५ रन बनाउँदा दुई अर्धशतक बनाएका थिए। आसिफ सेखले पाँच खेलमा २०६ रन बनाउँदा तीन अर्धशतक बनाएका थिए। कृष्ण कार्की र सौरभ खनालले अलराउन्ड प्रदर्शन गरेका थिए।
प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, शरद भेषवाकर, अविनाश बोहरा, आरिफ सेख, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी छन्। त्यस्तै पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह एरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ। यसरी बोलाइएका अन्य खेलाडीमा आसिफ सेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, हरिशंकर साह, विवेक यादव, रामनरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडगबहादुर बोहारा, अनुज चुनारा र पवन सर्राफ छन्।
बन्द प्रशिक्षण २४ माघबाट शुरु हुनेछ। पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ। तत्काल प्रशिक्षणमा नबोलाइएका खेलाडीमध्ये पारस खड्का, सोमपाल कामी, कुरण केसी र कुशल मल्ल टी१० लिगका लागि युएईमा छन्। त्यस्तै सन्दीप लामिछाने बिग ब्यास लिग खेलेर भर्खरै फर्किएका छन्। तर, शरद भेषवाकर, अविनाश बोहोरा, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई तत्काल किन नबोलाइएको हो भन्ने क्यानले खुलाएको छैन।
नेपालले अगामी ६ चैतदेखि ओमानमा नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक ओडीआई श्रृङ्खला खेल्दैछ। त्यसका लागि छनौट समितिले प्रशिक्षक डेभ ह्वाटमोरसँगको समन्वयमा खेलाडी छनौट गरेको बताइएको छ।