टेलिकमलाई ‘फाइभजी’को परीक्षण गर्न निर्देशन, ‘फोरजी’मा थपिए तीनवटा सेवा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई चालू आर्थिक वर्षभित्रै तीब्र गतिको मोबाइल इन्टरनेट ‘फाइभजी’को परीक्षण गर्न निर्देशन दिएका छन्।
बिहीबार नेपाल टेलिकमकाे १७औँ वार्षिकाेत्सव कार्यक्रममा बाेल्दै मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रूपमा स्थापित टेलिकमले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जानुपर्ने बताए। उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा ‘फाइभजी’को परीक्षण गर्नसमेत निर्देशन दिएका छन्।
उनले दीर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीति व्यवस्थापन साझेदारको व्यवस्था गर्नुपर्ने बताए। टेलिकमले प्रविधिको विकासक्रम अनुसार ‘फाइभजी’ सेवाको विस्तारका गर्न हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्नुपर्ने उनकाे भनाइ थियाे।
टेलिकमले फोरजी सीममा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडव्यान्ड सर्भिस, मेसिन टु मेसिन डाटा र एसएमएस प्याकसहित तीन वटा नयाँ सेवा थप गरेकाे छ।
सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ टेलिकमले महत्वपूर्ण भूमिका खेलेकाे बताए। उनले अनलाईन कक्षा, अनलाईन बैठक, अनलाईन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग पुर्याएको बताए। अब फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने उनकाे भनाइ थियाे।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकभर फोरजी सीममा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस, मेसिन टु मेसिन डाटा र एसएमएस प्याकसहितको तीन वटा नयाँ सेवा थप गरिएको बताए।
फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरूले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्।
सीपीईमा फोरजी डब्लुएचबीबीको सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ। हाल यो सेवा प्रतिमहिना रु.९०० मा ६० जिबी, रु. एक हजार ५०० मा १२० जिबी, वार्षिक रु.नाै हजार ६०० मा ७२० जिबी र रु.एक हजार ६०० मा एक हजार ४४० जिबी उपलब्ध भइरहेको छ।
व्यवसायिक उपकरणहरुबीच डेटा आदानप्रदान गरी सवारीसाधनलगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने प्रयासहरु विश्वव्यापी रूपमै वृद्धि भइरहेको छ।
टेलिकमले शुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरेकाे छ।