बचेको खोप अध्यागमन, भन्सार र विमानस्थल कर्मचारीलाई लगाइने
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका अध्यागमन, भन्सार र अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई लगाइने भएको छ।
सरकारले पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो। १४ माघबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो। ती खोप चार लाख ३० हजार जनालाई पुगाउने योजनासहित २४ माघसम्म लगाइँदै छ।
खोप लगाउन अझै तीन दिन बाँकी छ। “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ,” डा. गौतमले भने, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ। त्यसपछि प्राथमिकता परेका अध्यागमन, भन्सार, अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारी र वृद्धाश्रमका रहेका व्यक्तिलाई लगाउँछौँ।”
मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुमान गरेभन्दा धेरै कम स्वास्थ्यकर्मीले खोप लगाएको बताए। धेरै स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्ने उनको भनाइ छ।
मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर, धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता डा.गौतमको भनाइ छ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो।
सरकारले तीन प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइरहेको छ।
मन्त्रालयका प्रवक्ता डा गौतमले बचेको खोप लगाउनेबारे छलफल भइरहेको बताए। उनले बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने बताए।