राष्ट्रसंघका महासचिवद्वारा म्यानमारको सैन्य ‘कू’ विफल पार्न आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्।
महासचिव गुटेर्रेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनःस्थापित गर्न आह्वान गरेका हुन्। उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताए।
‘यो ‘कू’ विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक पहल गर्ने उनले बताए। उनले भने, ‘‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य छ। म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ।’’
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सु कीलाई गिरफ्तार गरेको थियो। म्यानमारको प्रहरीले सु कीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ। फेब्रुअरी १५ तारिखसम्म उनलाई हिरासतमा राखिने भएको छ।
सेनाले सत्ता हातमा लिएपछि सु की र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन्।
म्यानमारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागु गरेको छ। त्यसपछि सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ।
गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको आरोप छ। चुनावमा सु कीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक मत ल्याएको थियो। संसदको तल्लो र माथिल्लो दुवै सदनका कूल ४७६ स्थानमध्ये सु कीको दल एनएलडीले ३९६ स्थान जितेको छ।
सन् २००८ को संविधान बमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ। साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ।
सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ। सामाजिक सञ्जालहरूले स्थायित्वको पुनःस्थापनामा बाधा र्पुयाएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो।