नेकपा अध्यक्ष दाहाल पनि सडकमा (तस्वीरहरु)
नेकपा (दाहाल–नेपाल) समूहको आमहड्तालले देशभरको जनजीवन प्रभावित भएको छ। आमहड्तालका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता कार्यकर्ता सडकमा उत्रिएका छन्।
संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आमहड्ताल गरेको हो। नेकपा अध्यक्ष दाहालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेता तथा कार्यकर्ता सडकमा निस्केका छन्।
सडक अवरुद्ध पार्ने क्रममा प्रहरीले नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ पनि गरेको छ। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार उपत्यकामा मात्रै ८० भन्दा बढी जनालाई पक्राउ गरिएको छ।
काठमाडौंमा पक्राउ पर्नेमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत छन्।
बिहानै काठमाडौंको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अहिलेसम्म अप्रिय घटना नभएको बताए।
यस्तै, देशभर पनि आमहड्तालको प्रभाव परेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ।
काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ। बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। बसका रहेका यात्रु भने सकुसल रहेको उनले बताए।