गोंगबुमा ट्याक्सीमा आगजनी, कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका नेता गिरफ्तार
नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आमहड्तालको दिन बिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ। गोंगबुमा रोकिराखेको प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बिहान करीब ५ बजेतिर रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको बताए।
लगत्तै पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाएको थियो। उक्त ट्याक्सी कुम्भनारायण श्रेष्ठको हो। त्यसबाहेक काठमाडौँका विभिन्न ठाउँमा बिहानै सवारी साधन तोडफोड भएको सूचना आएको प्रहरीले जनाएको छ।
यता हड्ताल गराउँदै हिँड्ने नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। नेकपा दाहाल नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। अहिलेसम्म काठमाडौँबाट ५६ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदीय सुनुवाइविना नै संवैधानिक निकायका पदाधिकारीको समथ गराएको विरोधमा दाहाल-नेपाल समूहले हड्ताल आह्वान गरेको हो।