नेकपा केन्द्रीय सदस्य डाचाराज वाग्ले दुर्घटनामा मृत फेला
नेकपा (दाहाल–नेपाल समूह) का केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन्। सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजे उनको शव र दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको हो।
उनको मोटरसाइकललाई कुनै गाडीले ठक्कर दिएको संकेत भने नभएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए। तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने उनको भनाइ छ।
बुधबार साँझ नेकपा (दाहाल–नेपाल) समूहले बरहथवामा मसाल जुलुसको आयोजना गरेको थियो। वाग्लेले त्यसको नेतृत्व गरेका थिए। त्यहाँबाट उनी ज१०प ३२०६ नम्बरको मोटरसाइकलमा नयाँसडकस्थित घर फर्कने क्रममा थिए।
बरहथवाबाट नयाँसडक पुग्न जंगलको बाटो पार गर्नुपर्छ। उनी बरहथवा–नयाँसडक सडक खन्डमै दुर्घटनामा परेका हुन्। प्रहरीलाई टेलिफोनमार्फत राति ९ बजे दुर्घटनाको जानकारी आएको डीएसपी भाटले बताए।
प्रहरीले एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पु¥याएको जनाएको छ। तर, बरहथवा अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए। उनले लगाएको हल्मेट टाउकोमै रहेको जनाइएको छ। घटनाको अनुसन्धान शुरु भएको डीएसपी भाटले जनाएका छन्।
हिजो नै जिल्ला कमिटीको पूर्ण बैठकले सर्लाहीका चार वटा ठाउँमा मसाल जुलुस गर्ने निर्णय गरेको थियो। बरहथवाको नेतृत्व गर्ने जिम्मा वाग्लेलाई दिइएको थियो। आफूलाई पनि वाग्लेले बरहथवा जान प्रस्ताव गरे पनि पार्टीका साथीहरुले हरिऔन बोलाएकाले त्यता गएको अर्का केन्द्रीय सदस्य अच्युतम् काफ्लेले बताए। काफ्लेका अनुसार मसाल जुलुसपछि उनी एक्लै मोटरसाइकलमा फर्कँदै थिए।
वाग्ले सामाजिक अभियानहरुमा पनि संलग्न थिए। दुई वर्षअघि मिटर ब्याजीहरुविरुद्धको अभियानमा उनी सक्रिय थिए। त्यसक्रममा मिटर ब्याजी पीडितहरुको नेतृत्व गरेर न्यायका लागि काठमाडौँ पनि पुगेका थिए। त्यसैले षडयन्त्र भएको पनि हुनसक्ने काफ्ले बताउँछन्। तर, प्रहरीले अनुसन्धान थालेको हुनाले अहिले केही भन्न नसकिने उनले बताए।
वाग्ले तत्कालीन नेकपा एकता केन्द्र हुँदै एकीकृत नेकपा माओवादीमा आएका थिए। उनी एकता केन्द्रको विद्यार्थी संगठनको अध्यक्ष पनि भएका थिए। एमाओवादीको उनी केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज थिए। एमाओवादी विभाजन हुँदा उनले मोहन वैद्यलाई साथ दिएका थिए।
तर, रामबहादुर थापा समूह पुनः पुष्पकमल दाहाल नेतृत्वको नेकपा मोओवादी केन्द्रमा फर्किएपछि उनी पनि मूल पार्टीमै फर्किएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उनी त्यसको केन्द्रीय सदस्य र सर्लाही इन्चार्ज भए।
अहिले उनी रामबहादुर थापाको साथ छाडेर नेकपाको दाहाल–नेपाल समूहमा थिए। प्रतिनिधिसभा विघटनविरुद्ध सर्लाहीमा भएको आन्दोलनलाई उनले नै नेतृत्व गरिरहेका थिए। उनका श्रीमती र दुई छोरा छन्।